फित्काैली डटकमकलियुगका रामहरू
नेपालीका अन्तर हृदयमा कहिल्यै नमेटिने छापको रुपमा रहेको रामको गहिरो छाप छ । राम अन्यायी थिए, घोर अपराधी थिए । स्वार्थ लिप्सामा सधै लीन हुन्थे । दुनियाको वास्ता नगरी सधै आफ्नो हितको लागि मरिमेटेर काम गर्थे । सबैलाई पिर्नुसम्म पिरेका थिए भनेर निराधार आरोपहरूको वर्षा गरिदियो भने तपाईंको अहिलेसम्मको आस्था र विश्वासको धरोहर पुरुषोत्तम श्रीराम प्रति गरेको अन्याय भन्दै यस पङ्क्तिकारमाथि सत्ता पक्ष र प्रतिपक्षमा भएको आरोप र प्रत्यारोपको तीर हानाहानको जस्तो गरी वर्षाउन पनि पछि पर्ने छैन । तपाईको विरुद्धमा म पनि कहाँ हुन सकुँला र ! पुरुषोत्तम श्रीराम प्रति मेरो पनि अगाध आस्था र विश्वास छ । सधै कायम रहोस् भन्ने चाहन्छु । अन्यायको पक्षमा ज्यानको बाजी लगाएर सधैं साथ दिन तत्पर रहन्थे ।
आजकालका रामहरूका रामलीला भने आकाश र पातालभन्दा पनि फरक किसिमको पाइन्छ । त्रेतायुगमा रामले अन्याय गर्नेहरूलाई वध गरेर सत्य प्रवृत्तिका जनहरूलाई साथ दिएको सम्झनामा अब नेपालमा पनि रामनामीहरूलाई सर्वाेच्च पदहरूमा पदासिन गराएमा आम नेपालीका दुःख पीर व्यथाहरू सबै खन्ती खलास पार्लान् । यस पुस्तासम्म जेजति दुःखहरू अभावहरू विश्वसामु भिक माग्ने स्थितिको अन्त्य गरी दानवीर, सुशभ्य, विकासमा अग्रगति छलाङ्ग मार्नेछ । पुस्तौं पुस्तासम्मले एक्काइसौं सताब्दीका रामलाई पनि खुल्ला दिलले प्रशंसाका वर्षा वर्षाउन पछि पर्ने छैनन् भन्ने आशाका किरणहरू सबैलाई नराम्ररी धोती लगाइदिए ।
कलियुगका रामहरू अर्थात् रामवरण र बाबुरामले नेपाली जनताका आशा र भरोसामाथि हुनसम्मको घात गरे । पुस्तौँ पुस्ताका आम नेपालीले फुर्सदको समयमा अन्यतिर दिमाग नलगाई यिनै कलियुगका रामहरूलाई धारे हात लगाउँदै सत्तोसराप गरे पनि यिनीहरूले गरेका भूलको क्षमा पाउने छैनन् । झण्डै पौने तीन करोड नेपालीको जीवन र भविष्यमाथि गरेको वज्रपातले यी रामहरूका मर्ने बेलामा पनि खै कताबाट सास निस्कने हो हेर्न बाँकी नै छ । दुई वर्षको आयु भएको संविधानसभालाई चार वर्षसम्म बचाएर आखिरमा कार्य नै पूरा नगरी निमोठी दिए ।
सहमतिको मन्त्र फलाक्दै रातोदिन सहमतिको लागि म्याद थप्दै कतिन्जेलसम्म देशलाई गुमराहमा राख्ने हो । त्रेतायुगका रामले त आफ्ना बाबाको आज्ञा पालन गर्दै सबै सुखसयल त्याग गरी चौध वर्षसम्म निर्जन वनमा कष्टकर जीवन बिताए । तर कलियुगका रामका सत्ताको कुर्सीका बसिरहने कुर्सी मोह कति बढेको होला ? कुनै हालतमा कुर्सी नछाड्ने अवस्था देखिन्छ । बाहिरबाट अर्का राम अर्थात् रामचन्द्र र रामबहादुर अब तिमीहरूको पालो पुग्यो भन्दैछन् । पालैपालो कुर्सीमा बस्नुपर्छ भन्दा पनि वास्ता नै नगरी लाजसरम पचाएर बसिदिए नकचरा बाबुराम । आफ्नो कुन हविगत छ, हेर्नु हैन अर्कालाई खवरदार गरे उनले । रामवरणलाई आफ्नो मान मर्यादा भन्दा बाहिर आएमा राम्रो हुँदैन भन्दै समय समयमा चेतावनी दिन्छन् । हुत्तीहारा रामवरण पनि विशेष अवस्थामा आफ्नो पदीय दायित्व पूुरा गर्न हिम्मत गर्दैनन् । जसरी मादल बजाउँछन् त्यसैगरी कम्मर मर्काउँछन । दर्शकको चाहानालाई वास्ता गर्दैनन् । दर्शकको भावना बुझ्ने प्रयाससम्म पनि गर्दैनन् । आम नेपालीले चाहेको धुन के हो त । के सहमतिको डोरी तन्काइरहने हो त ? शक्तिको आडमा गरेका अन्याय अत्याचारको दर्शक बन्ने हो त ? अन्यायीका अन्यायहरूलाई आँखा चिम्लेर समर्थन गर्नु हो त ?
पृथ्वीमा घोर अन्याय अत्याचार बढेर पूरै हलचल भएमा भगवानले कुनै न कुनै रुपमा अवतार लिएर जन्मन्छन् र तिनीहरूका संभार गर्छन् । भन्ने सुनेको थिए । तर नेपालश्य भूमिमा त रामको रुप धारण गरी रावणले पो अवतार लिएछन् कि क्या हो । निर्वाचनमा सत्र पटकसम्म पराजित हँुदा पनि आफ्नो इज्यतमा दाग नलागेको महसुस गर्दैछन् । के के गर्छु भन्दै मिठो आश्वासनका पोकाहरू देखाएर सरकारमा गएको बाबुराम पनि माखो नमारे पनि मैले जति असल काम कसले गरेको छ र भन्दै बेकारमा आफ्नो नाक ठड्याउँदैछन् । नेपाललाई लोडसेडिङ मुक्त गराउनेछु भने पनि चौविस घन्टामा पच्चिस घन्टा चाहिँ लोडसेडिङ हुने अवस्था आउँदैछ । यसरी लोडसेडिङको समय बढेमा कसरी चल्ला र नेपाली उद्योगधन्दा कलकारखानाहरू ? कहाँबाट पाउन् नेपाली जनताले सस्तोमा दैनिक उपभोग्य सामग्री एवं अन्य सामग्रीहरू ?
आठ दशक पार गरेर पिण्ड खाने अवस्थाका नेपाली राजनेताहरूलाई युवा नेता भनेर सम्बोधन गरे झैं ओठ निचोर्दा दूध आउलान् जस्ता देखि लौरो टेकेर हिँड्नु पर्ने अवस्थाका युवाहरूको विदेश जाने मोह दिनानुदिन बढ्दो छ । यसको जस पनि कलियुगका रामहरूका सत्तामोहको कारणले बनेको हो । दिनहँु चार पाँच जना नेपालीहरूका शव बाकसमा प्याक भएर आउने गरेका छन् । के आम युवाहरू रहरले विदेश गएका हुन् त ? कदापि होइन । विदेशको भन्दा आकर्षक रोजगारीको सृजना नेपालमा भयो भने को जान्थे र विदेशीको दास बन्न ?
हे त्रेतायुगका राम तिमी अझै जीवितै छौ भने कलियुगका हरामहरूलाई तिमी जस्तै राम बनाउने सद्वुद्धि प्रदान गरी नेपाल जस्तो पूण्यभूमिमा बसोवास गर्ने भक्तजनहरूको उद्धार हुने थियो । सीतामातालाई मात्र हेर्ने हैन अब नेपाललाई पनि ध्यानदृष्टिले हेर्नु पर्यो । यो घोर अन्यायमा परेका भक्तजनको पुकारालाई चाँडै सुनिदिएर कुण्डबाट उद्धार गर्नुहोस् ।
मन्थली–२, रामेछाप
Subscribe
Login
0 Comments
Oldest





































