मीनप्रसाद लामिछानेकागजको खेस्रा
एकदिन मलाई छोराले सोध्यो, बा भैंसीले हरियो घाँस खान्छ तर दुध किन सेतो आउँछ ? अचम्मको बाल जिज्ञासा सुनेर म दङ्ग परेँ । ‘तँ सानै छस् बुझ्दैनस् बाबु’ मैले उत्तर टारेँ । अर्को दिन फेरि छोराले सोध्यो– बा, आकाशमा सानो चरी उड्छ, म किन उड्न सक्दिन ? मेरो पनि पखेंटा हाल्दिनु न म पनि उड्छु । ‘तँ ठूलो छस् बाबु उड्न सक्दैनस् ।’ मैले फेरि उत्तर टारेँ । ‘म सानो छु कि ठूलो छु हाम्रो बालाई त केही पनि थाहा रैनछ ।’ ऊ गिल्ला गर्दै हाँस्यो ।
अर्को दिन छोरो गृहकार्य गर्दै थियो तर सबै बिगारेर गर्यो । मैले भनें– ‘बाबु यो त बिग्रियो नि, यसरी गर्ने त हैन नि ।’ म जान्ने पल्टिएँ । ‘तपाईंलाई के थाहा छ र ?’ उसले प्रश्न गर्यो । ‘किन र ?’ मैले पनि प्रश्न तेर्स्याएँ । ‘तपाईं पढ्न स्कुल नै जानुहुन्न, तपाईंको किताब, कापी, कलम केही पनि छैन । नपढेको मान्छेलाई पनि होमवर्क गर्न आउँछ त ?’ म दङ्ग परें केही उत्तर दिइन । ओहो ! सानो छोराले पनि पत्याउन छोड्यो मलाई ! ! यसले मैले हलो जोतेको, भारी बोकेको, भैंसी पालेको देखेको छ । यसलाई के थाहा मेरो बाबाको एम.ए. पास गरेको सक्कली सर्टिफिकेट छ भनेर !!!
Subscribe
Login
0 Comments
Oldest





































