सुलसुलेबाङ्देलको चित्र रु. साँढे पाँच लाखमा बिक्री
काठमाडौँ, १२ पुस । आधुनिक नेपाली चित्रकलाका पिता लैनसिंह बाङ्देल(१९२४–२००२)को ९०औँ जन्मजयन्ती (२१ डिसेम्बर)का उपलक्ष्यमा आधुनिक कलाकार समाज (सोमा) को आयोजनामा नेपाल कला परिषद्, बबरमहलमा चलिरहेको ‘कलापुञ्ज– चौथो’ बृहत् कला प्रदर्शनीमा राखिएको बाङ्देलको ‘सपनाहरू’ शीर्षक चित्रकला रु साढे पाँच लाखमा बिक्री भएको छ ।
यसैगरी ६८ वर्षीया कान्ति न्यौपानेको ‘दिङ्ला’शीर्षक चित्र रु. ३५ हजारमा बिक्री भएको छ जसको खरिद दिङ्ला भोजपुरकी उषा अधिकारी गर्नुभएको छ । न्यौपाने राष्ट्रकविकी ‘गौरी’तर्फबाट कान्छी सुपुत्री हुनुहुन्छ । उहाँका चित्रहरू खासगरी ग्रामीण जीवन र पैगोडा वास्तुकलामा आधारित हुन्छन् । रमाराज मास्केको ‘हिमाल’शीर्षकको भूदृश्य चित्र धोबीघाट ललितपुरका केशवमान मास्केले रु. ३५ हजारमा नै बिकेको छ ।
यही पुस ६–१६ गतेसम्म चल्ने प्रदर्शनीमा बाङ्देलका विभिन्न समयका १५ शिष्य कलाकारका साथै बाङ्देल स्वयम्का तीन गरी ९० वटा चित्र राखिएका छन् । वरिष्ठ कलाकार शङ्करराजसिंह सुवाल, गोविन्दलालसिंह डङ्गोल, शान्तकुमार राई, रमाराज मास्के, शङ्करनाथ रिमाल, चिनीकाजी ताम्राकार, हेम पौडेल, हिरालाल डङ्गोल, श्यामलाल श्रेष्ठ, कान्ति न्यौपाने, हरिबहादुर खड्का, नरेशसुन्दर सैंजु, टार्जन साङ्पाङ र रत्नकाजी शाक्यका कलाकृति हेर्ने प्रदर्शनीमा हेर्न सकिने छन् ।
प्रदर्शनीमा राखिएका कलाका मर्मज्ञ सुवालका चित्र सांस्कृतिक पृष्ठभूमि, सामाजिक धरातल र विशुद्ध प्राकृतिक भूधरातलले परिपूर्ण भएका छन् । बाङ्देलका ८२ वर्षीय शिष्य चिनीकाजी ताम्राकारले ग्रामीण जीवनको सरलता र गरिमालाई व्यक्त गर्नुभएको छ । कला परिषद्का महासचिव शङ्करनाथ रिमालका चित्र शिव र शक्ति, प्रकृति र पुरुष तथा नरनारी सम्बन्धमा आधारित हुन्छन् । इन्जिनियर एवंं आर्किटेक रिमाल बाङ्देलद्वारा स्थापना गराइएको न्यु आर्ट सर्कलका पनि अध्यक्ष हुनुहुन्छ ।
हीरालाल डङ्गोल र हेम पौडेलका चित्रमा नेपाली राष्ट्रिय चरा डाँफे, जलअप्सरा, सारौँ, बोन्जुर, सुनचरी आदि देखाइएको छ । सोमका उपाध्यक्ष गोविन्दलालसिंह डङ्गोलका चित्रमा आध्यात्मिक विषयलाई आकृतिको सुन्दरता र मिठास दिएर व्यक्त गरिएका छन् भने श्यामलाल श्रेष्ठले नेपाली संस्कृति, परम्परा, वास्तुकला र मूर्तिकलालाई चित्रमा ढाल्नुभएको छ । रमाराज मास्के प्रकृति र त्यसले ल्याएको विनाशलाई व्यक्त गर्नुहुन्छ । हरिबहादुर खड्का भूदृश्यलाई चित्रमा ढाल्नुहुन्छ । काउन्सिलकै सदस्य नरेश सैँजु ग्रामीण जनजीवनको सामाजिक–सांस्कृतिक जीवनलाई व्यक्त गर्नुहुन्छ । काउन्सिलका अर्का सदस्य जीवन राजोपाध्यायका चित्रमा रङहरूको भावात्मक संयोजन पाइन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य शान्तकुमार राईका चित्रमा नेपाली महिलाहरूको भित्री अनुभूति र अनुभव पाइन्छ । महिलाका चित्रमा उहाँको नरम, हल्का र धमिलो रङको संयोजन देखिन्छ । टार्जन साङ्पाङ शान्ति र समृद्धिका लागि भिक्षुको प्रार्थना र मन्त्रलाई व्यक्त गर्नुहुन्छ । रङको स्वस्फुर्त प्रयोग र कुचीबाट रेखा बनाई अमूर्त भाव व्यक्त गर्ने रत्नकाजी शाक्यका चित्रमा कालो र खरानी रङको टक्करबाट हिंसा, विनाश, मोहभङ्ग र वियोगका भाव पाइन्छ ।
सोमाका सचिव शान्तकुमार राईले आफ्नो बलबुताले बाङ्देलको पदचिह्न सम्हाल्दै आधुनिक कलामा आफूहरू समर्पित हुने र राज्यबाट सम्मान नपाएका कलाकारहरूको सम्मानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कलापुञ्जलाई हरेक वर्ष निरन्तरता दिइने तथा यो प्रदर्शनीलाई आगामी फागुनसम्ममा पोखरामा पु¥याइने जानकारी दिनुभयो ।
बाङ्देलका शिष्य कलाकारहरू आआफ्नो विषयवस्तु, रङ संयोजन र आकृतिमा विशेषता र दक्षता हासिल गर्दै आफ्नै शैलीमा अगाडि बढिरहेको अनुभव प्रदर्शनीमा गर्न सकिन्छ ।
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष डा उपेन्द्र महतोले यही पुस ६ गते चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कला, संस्कृति, सम्पदा र सभ्यता निकै धनी रहेको र यसलाई विश्वभर प्रचारप्रसार गर्नेुपर्नेमा जोड दिनुभएको थियो ।
उद्घाटनका अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘लैनसिंह वाङ्देल स्मृति आधुनिक कला सम्मान– २०७१’ बाट पनि सम्मान गरिएको थियो । सो सम्मानका साथ स्व फूलकुमारी महतो कोषका तर्फबाट रु २५,००० पनि प्रदान गरिएको थियो । रासस
Subscribe
Login
0 Comments
Oldest











































