सुलसुलेएकल सुनिए वासुदेव
काठमाडौ, पुस १३/ हालै पाँचौं कविता कृतिको रूपमा ‘युरोस्पर्श’ प्रकाशित गरेका वासुदेव अधिकारी शुक्रबार एकल सिर्जना वाचन क्रममा थिए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गर्दै आएको अविरल जनसाहित्य यात्राको दसौं शृङ्खलामा उनी थिए ।
बागबजारस्थित महासङ्घको हलमा उनले नयाँ पुराना एक दर्जन कविता सुनाए । प्रायः सामाजिक–राजनीतिक चेतनासहितका सिर्जनाहरू सुनाएका उनको व्यक्तित्वबारे सुरुमै डा. बिन्दु शर्माले चर्चा गरेकी थिइन् ।
धादिङ सुनौला बजारमा स्कुल पढ्दै गर्दादेखि नै साहित्य सिर्जनामा लागेका वासुदेवले प्रगतिशील साहित्यमा भिन्न परिचय बनाएको शर्माको दाबी थियो । २०४६ मै पहिलो कविता सङ्ग्ररहको रूपमा ‘समयका स्वरहरू’ प्रकाशित गरेका यिनी २०४८ मा कर्मचारी आन्दोलन क्रममा जागिरबाट बर्खास्तगीमा समेत परेका थिए ।
मुलुकको राजनीतिक सामाजिक आन्दोलन र घटनाहरूलाई नजिकबाट पर्यवेक्षण गर्दै साहित्यमा उतार्ने यिनका
‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘गायब सभामुख’ जस्ता कविता कृतिहरू प्रकाशित छन् ।
२०५० अघि पद्यमा मात्रै कलम चलाएका उनले वाचन सुरुआत ‘सारथीलाई’ कविताबाट गरे । यसपछि उनले ‘इँटा भट्टीमा राम लगन’ कवितामा श्रमिकहरूको व्यथा पोखे ।
युवाहरूलाई सम्बोधन गरिएको ‘सत्य’, अमेरिकी सेयर मार्केटमा आएको गिरावटलाई नेपाली समाज र राजनीतिसँग जोडेर लेखिएको ‘वालस्ट्रिट सुन्दरी’, राजनीतिक खिचातानीसँगै जोडिएको ‘तिम्रो प्रतिभाको आगोले’, फ्रान्स पुग्दा स्वतन्त्रताको देवीको मूति कुँदेका कलाकार बर्थोल्डीबारे लेखिएको ‘बथोल्डिीसँग गनगन’ लगायतका कविता सुनाए । उनका कवितालाई लक्ष्मण गाम्नागे, यशोदा अधिकारी, बैरागी जेठा, शशी लुमुम्बुले पनि सुनाए भने ‘चरीको सङ्केत’ नामक गीत इन्दु अंशुले गाएर सुनाएकी थिइन् ।
“वासुका कविताहरू जति पढ्दै गयो, त्यत्तिकै पढ्न मनलाग्ने खालका छन् ।” वासुदेवका कविताहरूमाथि समालोचक डा. नेत्र एटमले टिप्पणी गरे, “आमप्रगतिशील लेखनमा जस्तै उनकोमा पनि स्वप्न सिर्जना पाइन्छ । यसबाहेक श्रम र सीपप्रति आस्था र सम्वृद्धिको सन्दर्भ पनि उनका कविताहरूमा पाइन्छन् ।”
कान्तिपुर २०७१ पुस १३
Subscribe
Login
0 Comments
Oldest











































