रमेश खकुरेलकविगोष्ठीमा सभापति
बुढीका दाँत फुक्लेझैं कुर्सी नै सब रित्तिए
पालो आएर के गर्नु श्रोता नै जब सिद्धिए ।
मन्त्रीको आश गर्दैमा एक घण्टा त्यसै गयो
मन्त्री नआउने देखी टेलिभीजन फर्कियो ।
पाहुना मुख्य मानेका घडी हेर्दै झुली रहे
झट्ट भाषणको पोको फुकाए अनि दौडिए ।
कवि ता पविता आए कविता कम नै थिए
भूमिका नै भयो ज्यादा अनि पो मेच रित्तिए ।
चढ्यो भाषणले घोडा निरीह कविता बनी
कविगोष्ठी गरोस् के पो गोठ रित्तो भयो भनी ।
सुनाउन सबै खोज्ने सुन्ने धैर्य नआउने
आफ्नो पालो सकी सारा कवि भाग्नै रुचाउने।
श्रोताभन्दा बढी सोता सरोता अझ धेर छन्
सुपारी झैँ कुरा काटी शान्ति नै भङ्ग गर्दछन् ।
सभापति हुने पीडा नदेऊ परमेश्वर
कविगोष्ठी चलाएर के गरी नाम हुन्छ र ।
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































