सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मनका कुरा

Nepal Telecom ad

नयाँ नेपाल बनाउने ठूलाठूला कुरा चलिरहेका छन्, हाम्रो देशमा । कुराले रोटी पाक्तैन । रोटी पकाउन पिठो चाहिन्छ । पिठो मुछ्ने धेरै भुसतिघ्रेहरू तयार छन् तर देशमा पिठोको अभाव छ ।
म दुई छाक राम्ररी पिठो खान नपाउने साधारणभन्दा साधारण मान्छेका मनमा लागेका कुरा गर्न चाहन्छु । एकदमै सर्वसाधारण । मानौँ, जसलाई कुनै पनि पार्टीका कुनै पनि कार्यक्रमका बारेमा केही पनि थाहा छैन । व्यक्तिगत कुनै स्वार्थ छैन । प्राज्ञ, अध्यक्ष, महाप्रबन्धक, सरुवा, बढुवा, पुरस्कार, नाम, ख्याति केही केही केही पनि चाहिएको छैन । सके राजनीतिको सावाँ अक्षर पनि थाहा छैन । मनमा लागेको कुरा हो, लागेका कुराको आधार त होला तर ती कुराको पुष्टिका लागि कुनै तर्क पनि छैन । कोरा कुराहरू हुन् । सामान्य सपनाहरू हुन्, कल्पनाहरू हुन् । ठूलाठूला सपना देख्नेदेखाउने ठूलाठूला मान्छेहरूलाई यी कुरा वाइयात पनि लाग्न सक्छन् ।
नयाँ नेपालमा मेरो भूमिका के हो मलाई नै थाहा छैन । मैले निभाउनै पर्ने कर्तव्यका बारेमा आफैंले धेरै जानिएन, मार्गदर्शन कतैबाट भएको छैन । मजस्ता मार्गदर्शन नपाएर कुहिरोमा हराइरहेका मानिस यो देशमा कति होलान् ?
मेरो व्यवसाय नोकरी हो । म सात घण्टा कार्यालयमा बिताउँछु । सात घण्टामध्ये जम्मा दुई घण्टा काम गर्छु । बाँकी समय चिया पिउँदै, पत्रिका पढ्दै, एमाले र काङ्ग्रेस हार्नुका कारण खोतल्दै, प्रचण्डको व्यक्तित्वका बारे गफ हाँक्तै वा जर्ज बुसको दादागिरीका कुरा गर्र्दै वा यसै उसै बिताउँछु । मलाई नयाँ नेपालमा कि त कार्यालयमा कम्तीमा ६ घण्टा काम गर्न पाए हुन्थ्यो कि त अवकाश दिइए हुन्थ्यो जस्तो लाग्छ– मनमनमा । म त दुई घण्टा काम गर्छु, एकै घण्टा काम नगर्ने राष्ट्रसेवकहरूले पनि राष्ट्रको सेवा गरिरहेका छन् । तिनीहरूलाई पनि उचित व्यवस्थापन गर्न पाए हुन्थ्यो जस्तो लाग्छ– मनमनमा ।
रोजगारीको सबैभन्दा बढी अवसर भएको मानिएको राजधानीमा म बस्ने घरको अघिल्तिर दिनदिनभरि क्यारेम खेलेर बिताउने थुप्रै केटाहरू म देख्छु । त्यस्ता केटाहरू यो मुलुकभरि कति होलान् ? कल्पना गर्दा पनि आत्तेस लागेर आउँछ । गफ चुटेर, घाम तापेर, क्यारेम, तास, लुडो वा चेस खेलेर यो देशको दुर्गतिमा अरू दुर्गति थप्तै आयु घटाइरहेका लाखौँ युवाहरूलाई मार्गदर्शन गर्न पाए हुन्थ्यो जस्तो लाग्छ, काम दिन पाए हुन्थ्यो जस्तो लाग्छ । काम कहाँबाट दिने हो, त्यो मलाई थाहा छैन । त्यसमा चिन्ता गर्ने पेशा मेरो हुँदा पनि होइन तर देशमा होस् वा विदेशमा, खेतमा होस् वा कारखानामा, कहीँ न कहीँ तिनीहरूलाई व्यस्त बनाउन पाए कति जाति हुन्थ्यो होला जस्तो लाग्छ मनमनमा ।
ब्यारेकमा मासुभात खाएर बस्नुको सट्टा काँधमा झम्पल र साबेल, झोलामा बन्दोबस्तीका सामान बोकेर राष्ट्रिय झन्डा फर्फराउँदै पहाड चढिरहेका सेना र प्रहरीहरूको ताँतीका दृश्यहरू टेलिभिजनका समाचारहरूमा देख्न पाए हुन्थ्यो जस्तो लाग्छ । उनीहरूले पहरा भत्काएर सडक बनाइरहेका तस्वीरहरूले ढाकिएका दैनिक पत्रिकाहरू पढ्न पाए यो मन कति रमाउँथ्यो होला जस्तो लाग्छ ।
संविधानको धारामा जेजे लेखिए पनि लेखियोस्, घरको धारामा धररर्र पानी झरेको हेर्न पाए कस्तो हुन्थ्यो होला जस्तो तिर्सना लाग्छ । मेलम्चीलाई एउटा हाँसउठ्तो जोक सम्झनुपर्छ भने पनि सम्झिदिउँला तर धारामा पानी झर्ला र थापौँला भनेर वर्षौँदेखि रातरातभरि पानीका पछि लागिरहेका अनेक पुस्ताका भाउजूहरूको कन्तबिजोक नहेर्न पाए हुन्थ्यो जस्तो लाग्छ । ठूलाठूला विद्युत् आयोजनाका गफमात्रै सुन्नुभन्दा छोराछोरीले घरमा बिजुलीको उज्यालोमा पढेको देख्न पाए धन्य होइन्थ्यो होला जस्तो लाग्छ । चीनबाट पाइपमा पेट्रोल ल्याउने शीर्षकको जोक पढेर हाँस्नुभन्दा राजधानीका पेट्रोलपम्पहरूमा लाग्ने कैयौँ किलोमिटर लामा गाडीहरूका लाइन घटाएर दुनियाँ हँसाउन नपरे हुन्थ्यो जस्तो लाग्छ । पूर्वपश्चिम पहाडी राजमार्ग, हेटौँडा सुरुङमार्ग, उत्तरदख्खिन केबुलकार, विद्युतीय रेलमार्गको जालो इत्यादि शीर्षकका तिलस्मी उपन्यासहरूभन्दा निःशुल्क शिक्षा, सहज स्वास्थ्यउपचार, लघु सिँचाइ, कृषिउत्पादनको बजारव्यवस्था आदि शीर्षकका यथार्थवादी लघुकथा, मुक्तक र सरल कविताहरू पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ– मनमनमा ।
राजधानीकै कुरा गर्दा एउटा वाग्मती सफा गर्ने काम गर्नू त कता हो कता, त्यसमा विष्णुमती र टुकुचासमेत जोडेर ती सबैका किनारामा ग्रिनबेल्ट, छ लेनको चिल्लो चौडा सडक र सुन्दर उद्यान्न बनाउने मात्रै होइन ती नदीहरूमा पौडी खेल्ने र नौकाविहारसमेत गराउने सपना थपेर महानगरवासीहरूलाई खुसीको ओभरडोज खुवाएर मुच्र्छा पार्नुभन्दा जम्माजम्मी यहाँको फोहोरमात्रै सफा गरेर हैजाको रोकथाम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । वाग्मतीलाई मात्रै सुलुल्ल बग्ने बनाउन पाए पनि धन्य हुइन्थ्यो होला जस्तो लाग्छ– मनमनमा ।
गाउँमा कनिका छरेजस्तो दुईचार लाख रुपैयाँ नगद छर्नुभन्दा एकएक थान ट्याक्टर पठाउन पाए पो राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । कृषिशिक्षा, विशेषज्ञ र सिँचाइ पु¥याउनु पो उत्तम हो कि जस्तो लाग्छ । किसानहरूलाई पशुपन्छी, अन्न, तरकारी र फलफूल आदिको बजारव्यवस्थामा सहयोगमात्रै गर्न पाए पनि धेरै हुन्थ्यो होला जस्तो लाग्छ — मनमनमा ।
पर्यटनस्थल बढाउन नसके पनि पर्यटकलाई चिर्पट नहान्न, पैसा नखोस्न, चन्दा नमाग्न पाए मात्रै पनि वेश हुन्थ्यो कि जस्तो लाग्छ । उद्योगधन्दा बढाउन नसके पनि बन्द, हड्ताल, लुटपाट र लोडसेडिङबाट मात्रै बचाउन सके पनि हुन्थ्यो जस्तो लाग्छ । ठूलाठूला कल्पना के गर्नु, एकपटक बनेको सरकार पाँच वर्षमात्रै राम्ररी चलेको हेर्न पाए खुसीले तीन हात उफ्रिनुहुन्थ्यो जस्तो लाग्छ । भ्रष्ट शासक, प्रशासक वा कर्मचारीहरूमध्ये मात्र पचास प्रतिशतले खाइपाइ आएको मध्ये पनि मात्र पचास प्रतिशत कमिसन घटाउन सके पनि ठूलै काम हुन्थ्यो जस्तो लाग्छ । भ्रष्टाचारलाई निर्मूल गर्ने गुड्डी के हाँक्नु, २५ प्रतिशत कम गर्न पाए पनि केके न हुन्थ्यो होला जस्तो लाग्छ — मनमनमा मनमनमा ।
नेपाललाई सिङ्गापुर होइन, नेपालै बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ । नेपाललाई स्विट्जरलैन्ड होइन नेपालै देख्न पाए हुन्थ्यो जस्तो लाग्छ । औषत आयु बढाउने कुरा पत्याउन मन लाग्छ तर उमेर घटाउने कुरा नपत्याउन मन लाग्छ । परिवार नियोजनले पनि नछोएको ठाउँमा लिङ्गपरिवर्तन गर्ने कुरा अविश्वास गर्न मन लाग्छ । कविता लेख्ने काम कविहरूले नै गरून्, नेताहरूले कविता लेखेर कविहरूलाई फलप् नबनाऊन् जस्तो लाग्छ ।
मलाई त यस्तै लाग्छ, तपाईँलाई कस्तो लाग्छ ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे