सुलसुलेघुम्ती कविगोष्ठीमा अर्याललाई सम्मान
राजधानीको जोरपाटीमा नियमित रूपमा सञ्चालन हुँदै आएको घुम्ती कविगोष्ठीको को १३ औँ कविता वाचन कार्यक्रम पुस १३ गते शनिबार सम्पन्न भयो । कार्यक्रममा अभिनव साहित्य समाज, घुम्ती कविगोष्ठी नेपाल, सुरभि साहित्य प्रतिष्ठान, रमेश विकल साहित्य प्रतिष्ठान, साहित्य सदन नेपाल, भैरव पुरस्कार गुठी र गाउँबेँसी नेपालले बिरामी अवस्थामा रहनुभएका अभिनव साहित्य समाजका उपाध्यक्ष एवम् साहित्यका अभियन्ता तथा समाजसेवी बलराम अर्याललाई संयुक्त रूपमा सम्मान अर्पण गरेको छ ।
ताम्रपत्र अर्पण गर्दै दोसल्ला ओडाई सम्मान अर्पण गरिएको उक्त कार्यक्रमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले सभापतित्व गर्नुभएको थियो । प्रमुख अतिथि साहित्यकार विजय चालिसे र अन्य अतिथिमा कणाद महर्षि, बाजुराम पौडेल, पिताम्बर भण्डारी आदि रहनुभएको थियो ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरी सम्पन्न गरिएको थियो । पहिलो चरणमा घुम्ती कविगोष्ठीको कविता वाचन र दोस्रो चरणमा सम्मान कार्यक्रम रहेको थियो । कविता वाचन गर्नेहरूमा रामचन्द्र दाहाल, डिल्लीप्रसाद मूलतिहुन, रामप्रसाद पण्डित क्षेत्री, ऋचा, मेनका पोखरेल, प्रदीप रत्न शाक्य, परशुराम पराजुली ‘पराशर’, वेदमणि घिमिरे, बाजुराम पौडेल, पिताम्बर भण्डारी र शान्ति रिसाल हुनुहुन्थ्यो ।
कार्यक्रममा कविता वाचन गर्ने कविलगायत अन्य व्यक्तित्व– विजय चालिसे, वसन्त रिजाल, उद्धव रायामाझी, नवराज राउत, बालमुकुन्द कार्की, राजेश राई आदिले संस्थागत तथा व्यक्तिगत रूपमा बलराम अर्यालको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । परशुराम पराजुली पराशरले सञ्चालन गर्नु भएको कार्यक्रममा वाचित कविताहरूको समीक्षा भने वेदमणि घिमिरेले गर्नुभएको थियो । कार्यक्रम बलराम अर्यालकै निवासमा सम्पन्न भएको थियो ।
–पर्शुराम पराजुली ‘पराशर’
Subscribe
Login
0 Comments
Oldest











































