फित्काैली डटकमकागतीबोटे बन्ने रहर
मानिसका तरङ्गित मनहरू कहिले कुन मुडमा पुगेको हुन्छ । थाहा नै हुँदैन । चाहेर पनि यसलाई नियन्त्रणमा राख्न सक्दैन पनि । ठाउँ, परिस्थिति र अवस्थाले उसको रहर पनि परिवर्तन हुँदो रहेछ । धेरै पढेर देशका लागि असल, योग्य र सक्षम नागरिक बन्ने रहरहरू मनमा पालेर अहोरात्र पढाइमा मिहिनेत गरिरहेको थिए । डिग्री पास गर्नेहरू सडकछाप भएर हिड्नेहरूको लर्को देखेपछि असल नागरिक बन्ने बालापनका रहर गोल्टिनको बट्टा किचिए झै कच्याककुचुक भएको छ । विदेशमा दास बन्न गएको देख्दा मेरो रहर केवल रहरमा सिमित भएको छ ।
नेपाली जनताले लामो समयसम्म संघर्ष गरेर र हजारौं हजारको ज्निव बलिदानी पछि भित्रिएको लोकतन्त्र पछि लोकतान्त्रिक संविधान बनाउन कम्मर कसेका नेता महोदयको संविधान बनाउने सपना केवल सपनामा नै सिमित होला जस्तो भएको छ । जातीय नारा लगाएर जातजातिको आधारमा स्वायत्त प्रदेशहरू बनाउने भनेर युगौं युगदेखि मिलेर बसेका आम नेपालीहरू बीच फाटो ल्याउने जमर्को गरिरहेछन् । करेसा जोडिएर बसेको छिमेकीको जातको आधारमा स्वायत्त प्रदेशको नाम नामाकरण भयो भने के मैले मेरो जात अनुसारको स्वायत्त प्रदेशको माग राख्ने कि नराख्ने ? कि लोकतन्त्रको अर्थ यो हो कि जसले जे अन्याय गरेर पनि शिरोधार्य गरेर बसिरहने ? वर्तमान समयमा नेपालमा एक सय उन्नाइस भाषाभाषी तथा जातजाति रहेको तथ्याङ्क फेला पारेको छ । कि सबै जात जातीलाई पुग्ने किसिमले स्वायत्त प्रदेशहरू विभाजन गर्नु प¥यो ? होइन भने किन जातजातीको आधारमा प्रदेशहरू विभाजन गरेर जातीय हिंसा भड्काउने किसिमले राज्य विभाजन गर्नु प¥यो त ? के त्यसको विकल्प छैन ? केही जातजातीको आधारमा प्रदेशहरू विभाजन गरेर बाँकीलाई बेवास्था गर्ने हो भने के लोकतन्त्रको सच्चा परिभाषा त्यहि हो ? सिमित जातजातीलाई मात्र उच्च मूल्याङ्कन गर्ने र अन्यलाई भुलभुलैयामा राख्ने हो भने लोकतन्त्रको के अर्थ भयो र ?
भूगोलको आधारमा पनि मानिसहरूको नाम राख्ने गरेको पाइन्छ । त्यसैगरी जुन वार जन्म्यो त्यसैको आधारमा पनि नाम राख्ने गरेको पाइन्छ । जस्तै आइतवार जन्मियो भने त्यस बालकको नाम आइते वा आइती हुन्छ । सोमबार जन्मने बालक वा वालिकाको नाम सोमे वा सोमी हुन्छ । मंगलबार जन्मने बालकको नाम मंगले वा मंगली हुन्छ । बुधवार जन्मने बालकको नाम बुधे वा बुधीमाया हुन्छ । जुन वारमा जन्मियो त्यहि वार अनुसारको नाम जुराइन्छ । शारीरिक बनावटको आधारमा पनि नाम जुराउने गरिन्छ । नाक साह्रै थ्याच्च बसेको छ भने नेप्टी वा नेपे हुन्छ । कालो वर्णको छ भने काले वा काली हुन्छ । गाला अलि ठूलो ठूलो छ भने पोक्चे वा पोक्ची नामाकरण हुन्छ । भान्टाको बोटमा झटारा हान्नु पर्ने वा खुर्सानीको बोटमा भ¥याङ्ग लाउनु पर्ने खालको उचाई भएमा डल्ले वा डल्ली, भुन्टी भनेर सम्बोधन गरिन्छ । अझ अरु के के हो के के ? कानठाडी, लुर्काने, हाब्रे, कुरौटे, जोइटिग्रे, चम्पुत्ली, आदि आदि ।
मलाई चाहिँ शारीरिक बनावटको आधार वा जन्म वारको आधारमा भन्दा पनि घरको छेउमा जुन बोटविरुवा छ त्यसैको आधारमा नाम राखेको चाहि सटिक लाग्यो । पीपलको बोट नजिकै घर हुनेलाई पीपलबोटे, काफलको बोट नजिकै हुनेलाई काफलबोटे, त्यसैगरी निबुवाबोटे, कागतीबोटे, आँपबोटे, दारिमबोटे, ओखरबोटे, अम्बाबोटे, कटहरबोटे, लप्सीबोटे, अनारबोटे, जुनारबोटे, सुन्तलाबोटे, टुनीबोटे … । यी सबै नामहरू मध्ये मलाई सबैभन्दा मन पर्ने नाम भनेको कागतीबोटे हो किनभने अन्य फलभन्दा कागती हेर्दा सानो फल तर तेजिलो फल भएकोले मलाई कागतीबोटे हुन असाध्यै मन लागेको छ । मानिसहरूका आ आफ्नै रहर हुन्छन् । मेरो पछिल्लो समयमा कागतीबोटे बन्ने रहर पलाएको छ । त्यसैले अनेकानेक तौरतरिका लगाएर कागतीका विरुवाहरू लगाउन थालेको छु । कातगी सबैलाई मन पर्ने फल हो । कागतीको नियमित सेवनले शरीरलाई आवश्यक पर्ने भिटामिन सी पनि प्राप्त हुन्छ ।
दिनभरि ऋषिमुनि भएर भगवानको जपध्यान गर्ने र साँझ पर्न नपाउँदै सिसीमुनी हुने आधुनिक पुरेतबाजेहरूलाई पनि कागती ज्यादै फाइदाजनक छ । कान्छीको भट्टीमा प्रेम, मिलन विछोडका र अश्लिल गफ गर्दै धोक्दा धोक्दा कहिलेकाही त जून ठाउँबाट पेटभित्र हुल्यो त्यहि ठाउँबाट उम्लिएर आउँन थाल्दा कागतीको झोलले ठीक पार्छ, असार समान्तको चटारोमा हातको दश औलाले मात्र नभ्याएर गोडाको औलालेसहित नक्कली ल्याप्चे लगाउँदै किर्ते बील भरपाई बनाएर रातारात कमाएको पैसा तह लाउने ठाउँ भनेकै सोल्मारी त हो नि । सोल्मारीमा गएर टुच्च लगाउन थालेपछि संसार नै विर्से जस्तो हुन्छ । स्वर्ग नै सोल्मारीमा ओर्लेको भान हुन्छ । “उल्फतको धन फूपुको श्राद्ध” भने झै विना परिश्रम आर्जन गरेको धनले इष्टमित्र राख्न यसो कुनामा बसेर अब अन्तिम पटक भन्दै कहिल्यै नटुङ्गिने अन्तिम पटकले बसेको ठाउँमा नै जताबाट धोकेको हो उतैबाट उम्लिएर आपत्विपत परेको अवस्थामा भरपर्दो तथा अचुक औषधिको रुपमा प्रयोग गर्न सकिने कागतीलाई फलहरूको वर्गमा पहिलोमा पारेर यही फलबाट आप्mनो नाम पनि भैदिएको खण्डमा जीवन नै सार्थक भएको ठान्ने थिए ।
जुनारलाई आपत् पर्दा उही कागतीको शरणमा नपरी पार पाउँदैनन् । भोगटे जतिसुकै फुले पनि सबैको प्यारो फलको रुपमा गणना हुँदैन । न त लेमन टी भन्दै भोगटेको रसलाई चियामा प्रयोग गर्छन् । आप्mनो मानो खाएर मानो पचाउँन अर्काको कुरा काट्न खप्पिस नेपालीहरूलाई विहानको समयमा चियाको चुस्कीसँगै दुनियाको कुरा काट्ने सुवर्ण अवसर पनि यहि कागतीको रसले गर्न सक्दछ । सत्तामा बसेर भत्ता पचाउँने तर सिन्को भाँच्ने काम पनि नगर्ने लाचारी सरकारका कुरा काट्ने समय पनि यहि चिया चमेनागृहमा मिलाउने काम पनि यहि कागतीले नै गर्दछ ।
आम नागरिकको जीउ धनको सुरक्षा दिन नसक्ने नामर्द सरकारले दिन दहाडै नेपाली नागरिकलाई हत्या गरेर इनकाउन्टरमा मरेको हो भन्दै प्रतिवेदन दिने सरकारको कुरा काट्ने समय पनि कागतीले मिलाइदिने गर्दछ । मेरो बानी नै परिसक्यो कि कागती विनाको चियाको बदलामा अरु कुनै पनि चिजले लेमन चियाको तलतल मेट्न सक्दैन । यदि कुनै विहान लेमन चिया खान पाइएन भने त्यो दिन मेरा लागि सबभन्दा बोर बनिदिन्छ । नदी नै थुन्ने गरी खसेको ज्यानमारा भीमकाय पहिरोले सयौं नेपाली नागरिकको अनाहकमा ज्यान गएको छ । ज्यान गुमाएका आफन्तहरूलाई कति पीडा भएको होला । बाँचेकाहरू पनि भएभरका सम्पूर्ण घर खेतवारी गुमाएर विचल्लीमा परेका छन् । यस्तो अवस्थामा सरकार राहातको नाममा केवल केही हजार रकम लिएर ङिच्च पर्दै जान्छन् भने बेसर्मी सरकारलाई तपाई के भन्नुुहुन्छ ? ताजा कागतीको रसयुक्त चिया पिएर सोच्नेहोस् त । कि सिन्धुपाल्चोकका मांखा गाविसका जनताहरू नेपालका होइनन् ? दिन दहाडै नेपाली चेलीहरू बलात्कृत हुन्छन् । सार्वजनिक यातायातका साधनमा नेपाली चेलीको इज्यत लुटिन्छ । दिनानुदिन असुरक्षा बढ्दै छ । सार्वजनिक बसमा पनि सुरक्षा छैन । अवोध बालिकादेखि छ दशक पार गरिसकेका आमाहरू पनि यौनपिपासुको सिकार हुन्छन् । विहान विद्यालय गएको आप्mना बालवालिकाहरू बेलुका घर फर्कने हुन् कि होइनन् ? सधै अभिभावकहरूलाई चिन्ता छ । बालवालिकाहरूको अपहरण गरेर फिरौती रकम माग्ने गिरोहहरूको विगविगी छ । खै पीडितले न्याय पाएका ? पाँचतारे होटलमा बसेर कार्टुनका कार्टुन रित्याउँदै गरेका झुटा सम्झौताहरूलाई खारेज गर्न र आम नागरिकलाई न्याय दिलाउन उनीहरूको मथिङ्गललाई आमुल रुपमा परिवर्तन गर्नका लागि स्वच्छ, निर्मल र प्रदूषणरहित वातावरणको पहाडमा उत्पादित ताजा रसिलो कागती उपहार स्वरुप पठाइदिने हो कि माननीय सभासदज्यूहरूलाई ? अनेकानेक बखेडा झिकेर संविधान नबनाउने भूमिका निर्वाह गर्नेहरूको कुभावना, कुविचारलाई आमुल परिवर्तन गर्न सक्नेछ र जसका कारण निर्धारित समयमा नै संविधान बनाउन लालायित हुने थिए कि ? नेपाली जनताले एकथान नयाँ संविधान समयमा नै पाउने थिए कि ?
मन्थली नगरपालिका– १, रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































