रामशरण न्याैपाने‘सुन’ खानेहरू
उसको अहम्ता अति चुलिएको छ
किनकि ऊ ‘सुन’ खान्छ रे !
उसले खाने सम्पूर्ण
चीजबिजहरू सुनकै हुन् रे !
उसका परिवारको आहार नै ‘सुन’ हो रे !
छोराछोरी सुनका
बाबुआमा सुनका
सारा घरपरिवार नै सुनका
त्यसैले त उसको ठाँटबाँठ बेग्लै छ ।
चिल्ला गाडी
गाडीजस्तै अनुहार
ऊ भन्दै छ,
हामी त अमर छौँ
कारण हामीहरू सुन खान्छौँ
आममानिसले खाने खानाभन्दा फरक !
कथम्कदाचित उसका सन्तानहरू
अन्य मानिससँग बोलेको
संसर्ग गरेको
थाहा पाएमा उनीहरूलाई
ती बोल्ने र संसर्ग गर्नेहरूले
लुट्छन् कि भैmँ गर्छ—
जसरी बजारमा
सुन लुटिन्छ, चोरिन्छ ।
उसलाई लागिरहेको छ,
उसका सन्तानहरूले माया प्रेम
नाता सम्बन्ध, बोलचाल जे गर्नुछ
ती सबै सुनसँग गर्नुपर्छ ।
शारीरिक सम्भोग किन नहोस्
त्यो पनि सुनसँगै गर्नुपर्छ
बिहे बन्धनमा बाँधिनु छ भने पनि
सुनसँगै गर्नुपर्छ ।
उसको चिन्तन यत्ति हो कि
भात खानेहरू समाजका नीचवर्ग हुन्
हुन्– पैदल हिँड्नेहरू मात्र पृथ्वीका बोझ
अनि श्रीसम्पत्ति नहुनेहरू
गँवार हुन्
तेस्रो दर्जाका प्राणी हुन् ।
कालान्तरमा
उसकी छोरीले
अनायास नै
प्रेम गर्छे
उसले भन्ने गरेको फुटपाथेसँग
ऊ त्यसका लागि
बाधा–व्यवधान खडा गर्न उद्यत हुन्छ
छोरी भने बाबुको कुरामा वास्ता नगरी
शारीरिक सुखभोग गर्छे ।
ऊ पेटको बच्चा फाल्नका लागि
डाक्टर झिकाउँछ
छोरी विद्रोह गर्छे
र प्रेमीसँग भाग्छे
छोरीलाई पक्रेर ल्याई
घरबाट निस्कन नदिई
ऊ थुन्छ बन्द कोठामा
यातना दिन्छ, पीडा दिन्छ
अनि ‘सुन’को संस्कारका बारेमा पढाउँछ
बिहे गर्नु छ भने सुनसँगै गर्नुपर्छ भन्ने
‘सुनौलो’ सन्देश दिन्छ ।
छोरी अझ विद्रोह गर्छे
प्रेम र युद्धमा
जे पनि जायज हुने तर्क गर्छे
र, फेरि पछ्याउँछे भावनात्मक प्रेमलाई ।
छोरी त्यही फुटपाथेसँगै
‘कोर्ट म्यारिज’ गरी
कानुनी रुपमा उसकै श्रीमती बन्न पुग्छे
अनि ‘देखाइदिन्छे’
उसको सुनको ‘महिमा’ !
त्यसपछि उसले छोरी मरेको भन्दै
किरियाकर्म पूरा गर्छ
तर उसकी श्रीमती छोरीलाई माफी दिएर
स्वीकार गर्न आग्रह गर्छिन्
तर अहँ !
उसको घरको शासन
उसैको अधीन भएको कुरा जाहेर गर्छ ।
घटनाक्रमले उसको छोरा पनि
‘फुटपाथे’ केटीसँग प्रेममा फस्छ
ती केटीलाई विभिन्न यातना दिन्छ
घरमा आउन नदिने
छोरासँग छुटाउने
केही सीप नलागी
घोषण गर्छ—
नोकर्नी मात्र बनाउने ।
आफ्नो सम्पत्तिको रवाफमा
केटीका बाबुआमा
परिवार सबैलाई धम्क्याउने
जायजेथा सबै जलाइदिने
र समाजबाट निकाला गरिदिने
ओकल्छ– धम्कीपूर्ण स्वरहरू ।
छोराले गरेको प्रेमलाई
उसले उपेक्षा गर्दछ
आधुनिकतामा रमाएको उसको छोरा
बाबुको व्यवहारबाट वाक्क दिक्क छ
अनि उसले सोही केटी बिहे गरी
घर छाड्ने धम्की दिन्छ ।
यसरी सिर्जना हुन्छ
छोरी र छोराले पालैपालो
घर छाड्ने परिस्थिति ।
अब भने—
उसको घैँटामा घाम लाग्छ
जमाना अनुसार चल्नुपर्ने ठान्छ
र, उसले देखेका सपनामा भएका
सारा ‘सुन’हरू
जब सुन नभएर अनुभव मात्र भएको पाउँछ
अब उसका आँखा खुल्छन्
अन्ततः सुनको अहमता उसबाट हट्छ
उज्यालो दिन जसरी सूर्यको किरणले सुरू हुन्छ
उसको जिन्दगीमा उज्यालो चमक आउँछ
सबै ‘सुन’हरू एकाएक समाप्त हुन्छन्
र हुन्छन् उसका घमण्डहरू समाप्त
बल्ल देख्न थाल्छ उसले सबैलाई समान ।
अवश्य यसैगरी नै
त्यस्तो दिन आउनेछ
सबै पाखण्ड र अहम्तावादीहरूको ।
गोरखा
Subscribe
Login
0 Comments
Oldest





































