डा.रवीन्द्र समीरनिषेधको राजनीति
सानो चिटिक्क परेको सुन्दर घर, घरको वरिपरि सप्तरङ्गी बगैँचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास… । अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो ।
छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।
चिसो हावाको वहाव एवं सङ्लो पानीको धमिलीकरणसँगै परिवारभित्र पनि कथाहरू फेरिँदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाँडको लागि खुकुरी बोक्न थाले, अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न वाध्य भए ।
…त्यो यो घरवाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तसर्थ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ … सहअस्तित्व एवं वसुधैवकुटुम्वकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने सङ्कीर्ण भिडन्तले परिवार भित्रका सवै सदस्यहरू थाके, गले र कमजोर भए ।
यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैचामा हात्ती भएर निस्किए, शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनिको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन– बल्ल खायो त्यसले ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































