साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान एक्सपेरिमेन्ट !!

Nepal Telecom ad

संविधान भन्नाले राज्य, राष्ट्र वा कुनै उच्च संस्था आदिको संघटन, सञ्चालन, संस्थागत, आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान भन्ने बुझिन्छ । देशका सम्पूर्ण ऐन कानुनको मूलस्रोत अथवा त्यसको व्यवस्था, प्रबन्ध अथवा भनुँ भने साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम व्यवस्था प्रबन्ध, बन्दोवस्त । यसका धारा भन्नाले संविधानको व्याख्या गर्ने क्रममा वर्गिकृत दफा वा उपदफा र यसको परिच्छेद भन्नाले कुनै राष्ट्र देश वा उच्च संस्थाको विधान निर्माण गर्न गठन भएको समिति, संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको सभा, बिधायिका, यसको प्रदत्त भन्नाले संविधानले प्रदान गरेको अधिकार स्वतन्त्रता आदि । यसको वाद भन्नाले संविधानलाई नै सर्वेसर्वा मान्ने प्रचलन भन्ने पनि नबुझेको होइन ।

संविधान भन्ने कुरोको चुरो समात्न र यसको घेरोमा फेरो हाल्न, नेपालका नेता कटिबद्ध भै डेरो जमाएकै छन्, फेटो गुथेकै छन्, नेटो कुरेकै छन् । तर के गर्नु जसरी साँझ पछि सूर्योदय हुन्छ । दिनपछि रात । फेरि वर्षायाम लाग्छ, दीन भाग्छ । वर्षामा भेलले फेल गर्छ, बाढीले पारि तार्छ, बाढी लाग्यो बाढी पीडित । पीडितको सेवा गर्दा गर्दै महान् चाडवाडको आगमन हुन्छ । वर्ष दिनको चाड पनि बाढीको चिन्तामा मान्नै पर्यो चाडवाड जान पाएको छैन । जाडो आयो जाडोमा पनि सानो तिनो हात कठ्याङ्ग्रिदो जाडोबाट बच्न ‘दुइ फुइ रुइ’ भन्छन् दुई नहुनेले दुई हुनका लागि मङ्सिर, माघमा लगनगाँठो बाँधिने चलन चलेकै हो । त्यही साइतको जोहो गरी माघ आठमा पनि संविधानलाई नयाँं दुलही माघमा भित्र्याउँदा झै भित्र्याउने महान् क्रान्तिकारी महान् नेताहरूको साइत त काइतैको हो नि ।

महान् पतिदेवको पर्खाइमा घरमा बुहारी भित्र्याउन त रमाइलो हुन्छ बाजा गाजा, जन्ती, बाख्रो, भोज भतेर, कति रमाइलो ? त्यो रमाइलो भोज भोलिपल्टै ऋृणको बोझ चाहिँ सजिलो छैन है ! त्यसमा पनि बुहारीको फरमाइस नयाँं जमाना, नयाँ फेसन, नयाँ मिसन, नयाँं परिवारको सदस्य, नयाँं सपना र उसको हिफाजत गर्न त्यति सजिलो छैन । त अझै चार वर्ष सिङ्गै बाँकी छ नि हैन र ? संविधानले पनि माघ आठमा त्यही देख्यो र भित्रिन गाह्रो मान्यो । त्यस्तै संविधान भित्र्याउनेले पनि यसको लेखाजोखा, ऋण, धन, भोज भतेर र साइतको जोहो गर्दैछन् । समय त अझै चार वर्ष भए नि खर्च त जोड्नु पर्यो नि !

यसरी नै जाडोमा मङ्सिर र माघ परेकाले चाह चाहमै ब्याह भयो । जसरी हाम्रा महान् नेतागणले टाउकोमा कफन बाँधेर लोकतन्त्रको सगुन भित्र्याए त्यसरी नै पराइ घरकी चेलीबेटीलाई आफ्नो परिवारको सदस्य तुल्याउनु उनको हिफाजत गर्नु त्यति सजिलो छैन, जति जन्तीले जन्ती बाख्रो खान्छन् रमाइलो गरेर घर–घर जान्छन् ! त्यस्तै लोककतन्त्रको र संविधानको हालत भयो । जसरी जाडोमा चाँडो विवाह गरियो त्यसरी नै लोकतन्त्र पनि हाम्रा नेतागणले चाँडो ल्याइदिए तर हामी घर परिवारका सदस्यले हिफाजत गर्नै जानेनौँ, महान् नेतालाई मानेनौँ । अल्लारेमै विवाह बन्धनमा बाँधिए जस्तो पो भो त बा । कुरो आयो किन संविधान बन्द, उधोग धन्दा बन्द, रोजगारी बन्द तरकारी बारी र खेती किसानी, कुटानी पिसानी बन्द ? यों बन्द पनि आजकाल बन्दबाट सुरू हुँदा देशै बन्द भन्ने कुरो हाम्रो मानसिक सन्तुलनमा असन्तुलन बन्ला भन्ने मेरो मनाँ फुर्यो, कुरोको चाहिँ चुरो ।

कुनै कलकारखानामा कामचोर, अनुभवहीन, अस्वस्थ्य, अज्ञानी, मुर्ख मजदुर भए भने कलकारखाना चलाउनै सक्दैनन् । चल्ने त कुरै छोडौँ बन्दै गराउने धन्दा मजदुरको संगठन र कलकारखाना भन्दा पनि दोब्बर तलबको माघले माघ आठ बनाइ कलकारखानै बन्द गराएपछि ‘न रहे बाँस न बजे बाँसुरी ।’ ठीक त्यस्तै हालत हाम्रो देश, माघ आठ, संविधान र मुलुकलाई मुस्किल बनाइदिए । जसरी आजकलको मेडिकल कलेजको नाममा खुलेका असङ्ख्य हस्पिटलले बिरामीलाई डाक्टर, डाक्टर विद्यार्थी, नर्स, नर्स विद्यार्थीले चारैतिर घेरी हेरी रहन्छन् । विरामीका आफन्त दङ्ग । ओहो मेरी बास्सै खास्सै हस्पिटलमा ल्याए बा मेरो बिरामी । यत्रा डाक्टर र नर्सले सेवा गरेपछि अहिल्यै ठीक हुने भयो । विरामीलाई उता पुछेका छन, उता उठाएर नयाँ कपडा फेरेका छन् । इन्जेक्सन दिएका छन् भएन भनेर तुरुन्तै अर्को इन्जेक्सन दिएका छन् । बाफ रे बाफ ! कस्तो सेवा ! सबै दङ्ग विरामीका आफन्त दङ्गले सन्चो हुने, खुशीले उमङ्ग ।

उता बिरामीलाई यो औषधीले भएन, उ औषधी दिने उ औषधीले भएन । अर्को एक्सपेरिमेट गर्ने । यो इन्जेक्सनले भएन त्यो इन्जेक्सन दिने । त्यहाँबाट पनि भएन भने अर्को एक्सपेरिमेन्ट गर्ने । त्यहाँ बाट पनि भएन भने चिरेर हेर्ने । विरामीको आफन्तलाई थाहा छैन बिचरा ऊ त जनता जनार्जन हो । जता लग्यो उतै जान्छ ! जे भन्यो त्यही मान्छ ! जे भन्यो मान्छ । ‘यहाँ साइन गर अब अपरेसनमा लानु पर्यो अनि ठीक हुन्छ’ भनेर डाक्टरले भनेपछि ऊ त मख्ख पर्छ ! उसलाई के थाहा आफ्नो परिवार त्यहाँ भ्याकुता भएर चिरिँदै छ । अब यो बेमौसममा भ्यागुता पनि पाइन्न त्यसको साटो मेरो परिवार यहाँँ भ्याकुता एक्सपेरिमेन्टमा भित्र अपरेसन थिएटरमा थेच्चिँदै छ भन्ने के थाहा ? तर डाक्टरले बिद्यार्थी डाक्टरलाई र नर्सले विद्यार्थी नर्सलाई सिकाउँदै छन् । त्यो बिरामीले पनि त्यो महान् अवसर त पायो आफू मरेर अर्को बाँच्छ भने त्यो विरामी नमरेर हुन्छ ? त्यो त महान् भयो थाहा नभएको सहिद । संविधान जस्तै सहिद । संविधानको जस्तै एक्सपेरिमेन्ट । जसरी यता चिरेर भएन उता चिर, यो औषधीले भएन अर्को इन्जेक्सन दे ! डाक्टरलाई बिरामी मर्न र बाँच्नसँग के मतलब ! त्यहाँ विद्यार्थी डाक्टरलाई सिकाउनसँग मतलब छ । त्यहाँ त्यो विरामी त एक्सपेरिमेन्टमै मर्छ नै त्यो डाक्टर र विद्यार्थी सबैलाई थाहा छ ! त्यहाँ मान्छे होइन भ्यागुता आएको छ । अब केही क्षणमा भ्यागुतालाई ट्रयासमा फाल्ने हो जसरी संविधानलाई ट्रयासमा फालियो । जाडोमा सडक तातो बनाउन आगो बालियो ।

यो दस बाह्र वर्षमा संविधानको यस्तै एक्समेरिमेन्ट भइरहेको छ । सम्बिधान बनोस् नबनोस् संविधानको बारेमा एक्सपेरिमेन्ट भइरहेको छ । संविधानको बारेमा दुई लाख, दुई हजार, दुई सय दुई लेक्चर । सभा–सोसाइटी र सेमिनारको प्रबचन जनताले पन्चामृत बनाएर आचमन गर्न पाएकै छन् । रेडियो, टिभी, समाचार बिचारको प्रष्फुटन भएकै छ । त्यसैले काम धेरै भएको छ । काम वैज्ञानिक पाराले सारालाई हित हुने संविधान आउन संविधान एक्सपेरिमेन्ट भइरहेको हुनुपर्छ र भइरहनु पर्छ र त्यसरी नै नेतागण, पत्रपत्रिका, टिभी र रेडियोले पनि काम पाइरहनु पर्छ । जनताले चाहिँ हेरिरहनु पर्छ । अब त बुझ्नु पर्छ कामै नगरेर बसी बसी खानु पनि जनताले भाग्यले नै पाउने देश हो यो । अब संविधान नयाँ दुलहीलाई कुन बेला भित्र्याउनु हुन्छ । ल, रत्यौली खेलेर कुरौँ है । नेपालैबन्द गराए पछि काम र धन्दा चाहिँ अहिलेलाई बन्द संविधान आएपछि मात्रै काम गरौँला हुन्न र हजुर ?

हाल, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x