प्रेम ओली ढकलपुरेहजुर बुवाको प्रेम पत्र
हजुर बाले खै किन
आफ्नो कोठामा पस्नै नदिने
पसी हालियो भने पनि
एक छिन पनि बस्न नदिने
भित्र भए चुकुल लाउने
बाहिर गए ताल्चा लाउने
यसो ढोकाबाट चियाउँदा
कुनै महाग्रन्थ लेख्न बस्या जस्तो
अनुहार उदास उदास
कुनै समश्यामा फस्या जस्तो
एक दिन
हजुर बा स्नान घर पसेको बेला
सुटुक्क कोठामा छिरेँ
के लुकाका रहेछन् बुढाले हेरेँ
केही खास भेटिएन
एउटा डायरी बोकेँ
र कुलेलम ठोकेँ ।
म पनि चुकुल लगाएर कोठामा पसेँ
के लेखेका रहेछन् बुढाले पढ्नलाई बसेँ
हेर्दै जाँदा एउटा प्रेम पत्र यस्तो थियो
भर्खर लेखेको जस्तो थियो ।
हिजो आज म पनि एक्लै भाको छु
छोरा नाति भए पनि
आफूलाई त एक्लो एक्लो पाको छु
तिमीलाई देखेपछि
अब बाँच्ने जोश जाँगर लाको छु
तिमीलाई हेर्ने बहानामा
बिहान बिहान जगिङ गर्दै
तिम्रै घरको बाटो धाको छु
तन बुढो भने पनि
मन झनै तरुण छ
हेर्दा कडा लाग्छु होला
तर हृदय करुण छ
तिमी पनि एक्लै रहिछौ
म पनि एक्लै भाको छु
तिमी पचास म साठी
उमेर मिल्ने नै पाको छु
तर कसरी भन्ने तिमीलाई
तिमी भन्दा पनि
तिम्रो छोरीको डर छ
मेरो छोरो त त्यस्तै हो
नातिको अलिक भर छ ।
मैले पनि हजुर बाको प्रेम पत्र
ती महिलाकै कोठामा फालिदेँ
अज्ञात नाममा आएको एउटा पत्र
हजुरबाउकै कोठामा हालिदेँ
एक दिन ती महिलाकी छोरी
मलाई भेट्न आइन्
सब कुरोको बेली बिस्तार लाइन्
अब ती जोडी एक अर्का बिना
बाँच्नै नसक्ने भाका रे
छोरीले बिरोध गर्दा
झन्नै नदीमा हाम फाल्न गाका रे ।
एक दिन दुबैलाई लगी
मन्दिरमा विवाह गराइ दियौँ
दान, कन्यादान सबै
हामीले नै गराइ दियौँ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































