डा. विप्लव ढकालईश्वरको कथा
उहिले एक दिन
आकाशको नीलो शून्यतालाई चिरेर
सर्वशक्तिमान् ईश्वर
निरीह मानिसहरूको धरतीमा आयो !
पहिलो दिन
ईश्वरलाई हेर्न
अरिङ्गाल बनेर उडे मानिसहरू !
बहुलायो धरतीको आत्मा
भुँमरी उठ्यो सपनाहरूको
र मानिसको लासलाई कुल्चिएर
ईश्वरलाई भेटे मानिसहरूले !
दोस्रो दिन
कफीसपमा भेटियो ईश्वर !
सपना हराएका मानिसहरूले
शिर झुकाएर अभिवादन गरे—
‘हे परम प्रभु !
दुःखको पीपले भरिएको समुद्रमा
पौडिँदा पौडिँदै थाक्यौँ हामी !
पार लगाउनुहोस् हामीलाई !’
तेस्रो दिन
सडकमा मानिसहरूसँगै
हिँडिरहेको थियो ईश्वर !
मानिसहरूले हात पक्रिएर गुनासो गरे—
‘हेलो ईश्वरजी !
यति धेरै रोइसक्यौँ हामी
तर तिमी त अझै
खोलाको ढुङ्गो झँै मौन छौ
कसरी हामीले सपना देख्ने ?’
चौथो दिन
भट्टी पसलको पुरानो सटर खोलेर
भित्र पस्यो ईश्वर !
‘साला ईश्वरे !
के तँ निहु खोज्न आएको हामीसँग ?’
मानिसहरू फेरि
अरिङ्गाल बनेर उडे
र पृथ्वीबाटै लखेटे ईश्वरलाई !
त्यही दिनदेखि हराएको ईश्वर
आजसम्म कतै देखिएको छैन !
गोरखापत्र, २०७१ चैत्र १४
Subscribe
Login
0 Comments
Oldest







































