साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथा दिवसमा स्रष्टा सम्मानित

Nepal Telecom ad

काठमाडौं, २०७१ चैत १९/साहित्यिक पत्रकार संघले नेपाल बार एसोसिएसन सिंहदरबारमा आयोजना गरेको ३४ औं कथा दिवसको अवसरमा वरिष्ठ कथाकार माया ठकुरीले साहित्यकारहरू मधुवन पौडेल, शशी थापा पण्डित र दामोदर पुडासैनी ‘किशोर’लाई सम्मान प्रदान गर्नु भयो । कथाकार पौडेलका बाँच्नुको विवशता, चपाएको दन्त्यकथा, नलिनी भाउजू, म र मेरो परिवेश, अवतरण र अरू कथाहरू जस्ता कथा कृतिहरू प्रकाशित रहेका छन् ।

साहित्यिक पत्रकार संघले कविद्वय शशी थापा पण्डित र दामोदर पुडासैनीलाई कविताका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदान बापत क्रमशः २०७० र २०७१ सालको व्यथित काव्य सम्मान प्रदान गरेको छ । मैनाली कथा सम्मानबाट यसअघि वरिष्ठ कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, डा.धु्रवचन्द्र गौतम, परशु प्रधान, डा.दयाराम श्रेष्ठ ‘सम्भव’, हरिहर खनाल लगायत सम्मानित भइसक्नु भएको छ ।

सम्मानित कवि शशी थापा पण्डितका मेरी छोरी सहिद भइछे, प्रेमको वकपत्र कविता कृतिहरू प्रकाशित रहेका छन् भने कवि दामोदर पुडासैनी किशोरका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप आदि कृतिहरू प्रकाशित रहेका छन् ।

वि.सं. २०३९ सालमा स्थापना भएको व्यथित काव्य पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरूङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजियम, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसुदन गिरी, अनिलकुमार अनल, बसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धिरेन्द्र पे्रमर्षी आदि पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ठकुरीले दामोदर पुडासैनी ‘किशोर’को कविता संग्रह ‘पहाड र प्रेम’ पनि विमोचन गर्नु भयो । उनले २०४३ सालमा आफूलाई कथा दिवसको अवसरमा सम्मान गर्ने संस्थाले प्रमुख अतिथिको इज्जत दिएकोमा खुसी व्यक्त गर्नु भयो ।

वि. सं. २०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघले २०३८ सालको चैतमा साताव्यापि कथा उत्सव आयोजन गरेको अन्तिम दिनलाई नै कथा दिवस घोषणा गरेर हरेक वर्ष चैत १९ मा विशेष कार्यक्रम गरी मनाउने गरेको छ । कार्यक्रममा प्राध्यापक खगेन्द्र लुइँटेलले सम्मानित साहित्यकारको गुणवत्ताका बारेमा बोल्नु भएको थियो भने समालोचक अच्युतरमण अधिकारी, बाबा बस्नेत आदिले कार्यक्रम बारे प्रष्ट पारेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले साहित्यिक पत्रकारितामा थुप्रै समस्या भएको र महासंघले ती समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो । उनले संघका मागमा आफू सकारात्मक रहेको र आवश्यक पहल गर्न तयार भएको पनि जनाउनु भयो । उनले पछिल्लो समयमा बढेको प्रलापका बारे साहित्यको आलोचना पनि गर्नुभयो ।

कथा दिवसको अवसर छोपी कथाकारहरू श्रीओम श्रेष्ठ रोदन, किशोर पहाडी, तुलसीहरि कोइराला, दिनेश गुप्ता, वनमाली निराकार, पुष्करराज भट्ट, साधना प्रतिक्षा, महेश प्रसाईं, श्रीराम राई, सुमन सौरभ, गोपाल अश्क र ललिता दोषीले लघुकथा वाचन गरेका थिए । कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x