हरिकला उप्रेतीखसपताल
आमा त बरा ! आठै बर्खमा अन्मिछन् । मैतालुपछि माइतीको माई खटिराले वंशै नाश भएछ । आमाका आफ्ना भन्या मामा पनि बीस बर्ख अगि नै सहर बसाइँ सरेछन् । त्यसपछि त आमाको माइततिरको पाइतै बन्द भएछ ।
बर्ख तिनेकदेखि आमाले मामाघर जाने जमर्को गरेपछि बल्ल बाले सहमति जनाए । आमाले पनि गोडा तिनेक पठ्ेग्रा खरितेलाई खरितेकै दाममा बेचेर खर्चको जोहो गरिन् । हामी आमाछोरा सहरका मामाघरको रहर मेट्ने ठहर गरी बाटो लाग्यौँ । मामाघर पुग्नासाथ आमाका आँखाबाट हर्षाश्रु वर्षा भए । आमा र मामाले मन फुकाएर आधारातसम्म बात गरे । म मोरो कुन बेला भुसुक्क निदाएछु । निन्द्रैमा आमाले आत्तिएर ऐया भनेको सुनेँ । आमा भएतिर हत्तपत्त दौडिएँ । आमा त सिकारी लागेझँै अस्तअस्त भइछन् । मामाले मलाई पहिला यस्तो भए नभएको सोधे । मैलै मामालाई मत्थर पार्दै भनेँ– “हुन्थ्यो मामा हुन्थ्यो, गाउँमा त खरानीपानी ट’क्याएर खाँदा एकै छिनमा चट हुन्थ्यो । नत्र जन्तरे झाँक्रीले झारफुक गरेपछि यस्तो नाथे सिएसिकारी त गावैँबाट गायब हुन्थ्यो ।” मेरो कुरा पूरा नहुँदै माइजूले मगाएको ट्याक्सी आँगनमै आएर ठ्यास्स रोकियो । ट्याक्सीले प्वाँप्वाँ पार्दै आमालाई पन्द्रै मिनेटमा अस्पताल पु¥यायो ।
यता आमा फत्त्र्याक फत्त्र्याक उता अस्पताल प्याक । मामाले कानमा तार भि¥या र सेतो कोटधर्या सुकिला मनुष्यलाई बिन्ती बिसाए– “लौ न, डाक्टर साहेब ! मेरो बिरामीलाई बेड चाहियो ।” डाक्टर कड्किए, “पख्नोस् पख्नोस् ऊ त्यो बेड खाली भइसक्नुपर्ने, हो अझै सास फेर्दैछ ।” मूर्ख मामा, हो नि त ! बेडको बिरामी नबिती सितीमिती सुत्ने ठाउँ पाइन्छ भन्नै लाग्याथेँ तर मुख थामेँ ।
यत्तिकैमा आमाको उपचार सुरु भयो । उस्तै सुकिला अर्का साहेब आएर आमालाई छामछुम पारेर ग्यास्टिकका गोली किन्न लाए । मामाले रुपैयाँ र आमा आफैँलाई सुम्पे र सुइँकुच्चा ठोके । म मोरो गोलीको पोको पोक्याएर पाँच घण्टासम्म घोरिएँ । आमाको छेउ कोही परेन । आमाको ऐयाऐयाले उग्ररूप लियो र आफैँ गएँ डाक्टरलाई डाक्न– “डाक्टर साहेब ! दबै कहिले खुवाउने ?” मात्र भनेको थिएँ ती सुकिला डाक्टर त सन्किहाले– “म डाक्टरसाक्टर होइनँ, मान्छे चिनेर बोल्नुस् । मलाई थाहा छैन ।” भन्दै उनी बाटो लागे । त्यसपछि उस्तै सेतो कोट लगाएकी सुकिली सिस्टरकहाँ गएर– “सिस्टर आमालाई औषधि कहिले खुवाउने ?” भन्नासाथ उनले मेरो सात्तो लिइन्— “म यो अस्पतालको सिनियर डाक्टर हुँ, मलाई सिस्टर भन्न कसले सिकायो हँ ? मान्छे नचिनी बीचैमा प्याच्च बोल्ने ?” भनेर मेरो झाँको झारेपछि मात्र ममा ज्ञानको ढोका खुल्यो । आफ्नी आमालाई, आफैँले किन्या गोली खुवाउन दुनियाँको बोली पर्खनु ? भन्दै बदामका गेडा उधारेझैँ उधारेर खुवाइदिएँ सबै ।
त्यसपछि एक हुल उस्तै डाक्टर आए र छाम्दै, लेख्दै दुई झोला दबै मगाए । दबै ख्वाए, सुई लाए । अस्पतालका असल मानिसहरूको रेखदेखले तिनै दिनमा मेरी चालीस बर्खे आमा चल्ली भासिएर चौहतर बर्खे भइन् । यस्तो वृद्धावस्थासम्म सेवा गर्ने मौका जाबो तीन दिनमै कसका सन्तानलाई मिल्छ ? आमाको उपचारमा कुनै अलमल भएन । महँगो महँगो ओखती खाएर आमाले मुख बिगार्नै परेन । सत्ताईस सय मात्र पर्ने, सातैवटा सुई समयअगावै सुटुक्क सुइँकै नपाउने गरी लुकेछन् । देख्दा देख्दै आमाको मुख जुरेलीका बचेराझैँ प्याकप्याक गर्न थाल्यो । त्यसपछि मात्र थाहा भयो कि त्यो त खसपताल रहेछ । खसपतालका डाक्टरले मेरी आमालाई आइन्दा ऐया नभन्ने गरी जन्ड ओखती गरे र आमालाई खसपतालमै खसाएर छाडे बा ! जय होस् तिनेर्को ।
हाल– काठमाडौ
Subscribe
Login
0 Comments
Oldest











































