साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ॐ ठगठाग युगाय नमः

Nepal Telecom ad

सखडेश्वरी भगवती माता !
म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !
–निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु । जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु ।

देवीका चरणमा सविनय नम्र निवेदन यो छ कि म भक्तिनी हुँ । मनोकाङ्क्षाका केही मीठा कुरा, केही तीता कुरा राख्दै छु । जानी नजानी गन्थन गाँसेर पत्र पठाउँदै छु । प्रत्युत्तर लेखे पनि नलेखे पनि पत्रान्ततिरका मेरा कुरा स्विकार गर र मलाई उभिएर संसार थाम्न देऊ । भन्नु यत्ति नै हो । त्यत्ति भन्न छोटो बाटो हिँड्दा हुन्न । थोरै कुरा राख्दा मन भरिन्न । धेरै राख्दा नै संसार विचरणको स्वाद पाइन्छ । अहिलेलाई ठगठागको युग भन्दा रहेछन् ! भएकाले पनि गुजारा चलाउन तिमीसँगै माग्दा रहेछन् । कहिल्यै कसैको झोली भरिएको देखिनँ । तिम्रा अगाडि झुटोबाहेक अर्थोक बकेको सुनिनँ । तर, म सत्यको वरपर छु । धरोधर्म रिठ्ठो नबिराउने सोचमा छु ।

– म पनि कस्ती ! तिमीले केही नठानेजस्ती ! खान केही माग्दिनौ । जे दिए पनि ठीक छ भन्दिनौ । अरू केही माग तेर्साउदिनौ ।

देवी भगवती ! लहरो लामो छ । त्यसलाई तान्दा पहरो गर्जने मात्र हैन, साथै आउँछ । अनि म त्राहीमाममा पर्छु । म पनि छोरी मान्छे हुँ । भनाँै भने म समेत विष्णु र भगवती पुत्री हुँ । म पनि तिमीजस्तै छु । नाम पनि मिल्छ । तर, सम्मान मिल्दैन । घर पनि मिल्छ तर घरको प्रकृति मिल्दैन । म बोल्छु । तिमी चुप छ्यौ । म विपना भोग्छु । तिमी सपना भोग्छ्यौ । म विपनाको संसारले अराएको गर्छु । तिमीले सपनामा भनेअनुसार भक्तहरू गर्छन् रे । तिमी शिरविहीनकी तर म शिरसहितकी ! तिमीलाई बलि चाहिन्छ, मलाई भोजन । म तिमीलाई खोज्छु । तिमी मलाई खोज्दिनौ । तिमी मेरो इच्छापूर्ति गछ्र्याै, म तिम्रो गर्दिन । किनकि तिम्रो इच्छा मलाई थाहा छैन । र, यो पनि भन्छु– मझैं अरूलाई पनि थाहा छैन ।

–फरकको फराकिलो खोपिल्टो देख्छु । चित्रविचित्रको वर्तमान भोग्छु । खराब दुनियाँ चिरञ्जीवी भेट्छु । म त बेमेल जगत् देख्छु ।

देवीजी ! स्पष्ट छ– म आफ्नै झुपडीमा छु । तिमी अरूले बनाइदिएको महलमा छ्यौ । म जमिनमुनिको शुद्ध जल पिउँछु । तिमी सतह माथिको पोखरीजल लिन्छ्यौ । म तिमीकहाँ पुग्छु । तिमी मकहाँ कहिल्यै आउँदिनौ । तिम्रो शक्ति अपार छ रे । मेरो भने भुसुनोको जति पनि छैन । किनकि एउटा भुसुनोसँग मत्ता हात्ती रुवाउने तागत छ । ह्वेल माछालाई तर्साउने हिम्मत छ । बडेमानको कटकटे रेल उल्टाउने क्षमता छ । विचित्र दशा ल्याउन भुसुनो सक्षम हुन्छ । मसँग त्यो शक्ति छैन । हात्ती, ह्वेल र चालकको आँखामा परेर अस्तव्यस्तता ल्याउने भुसुनो शक्ति मसँग बन्दै छैन ।

खबरदार देवी ! तिमीसँग नभएका अनगिन्ती कुरा मसँग छन् । म बुहार्तन सहनमा एक नम्बरमा छु । म पति परमेश्वरको भोग्या वस्तु बन्न अर्को नम्बरमा छु । त्यत्ति मात्र कहाँ हो र ! म सन्तानोत्पतिको भरपर्दो मेसिन हुँ । मेरो हातमा चुलाचौकादेखि बाहिरफेरो कमाउन सक्ने क्षमता छ । आफ्नो आँसु लुकाएर अरूको हाँसोमा फिस्स हाँसिदिने सामथ्र्य छ । पहिले अरूको पेटपूजा, त्यस पछि रहे आफ्नो गर्नुपर्ने, नरहे चुप हुनुपर्ने बाध्यता मसँगै छ । पति परमेश्वर भाङ्, धतुरो सेवन गरेर, मद्यपान–सुरासुन्दरी रसमा भुलेर राती अबेर घर फर्कंदा कुरेर बस्नुपर्ने जाति हुँ । दाइजोले नपुरीए बरोबरको टोकसो सहन बाध्यताकी पुजारी हुँ । म कोमल हृदयकी धनी छु । दुःख पिउने, बाध्यता पचाउने र त्रास घाँटीमा पहिरिने मान्छे नामको नारी हुँ ।

अहँ देवी ! तिमीमा मैले त्यस्तो केही गुण देखिनँ । धरोधर्म भन्छु– देवी, म तिनै सासू–ससुरा, पतिसँग जिन्दगी विताइरहेकी छु तर तिमी दुई घण्टा पनि टिक्न सक्दिनौ । खासमा तिमी म भएर जिउन सक्दिनौ । तिमी बुहार्तन सहन सक्दिनौ । तिमी पीडा खान र पचाउन सक्दिनौ । मुस्कान बेचेर छहारीमा ओत लाग्न सक्दिनौ । मलाई त लाग्छ– तिमी हिन्दु नारी भएर चिनिनै सक्दिनौ ।

–समालिन गाह्रो छ । बुझ्झकी संसारमा टिक्न साह्रो छ । तातेको कराईमा पलेँटी कसी बस्नु अझ दर्दनाक छ । तापनि सबैलाई पचाउनुछ ।

देवी ! समय बलात्कार गर्न तम्सदै छ । फरिया समाल्न पाइन्न । बलत्कारीको प्रतिकार गर्न पाइन्न । प्रतिकार गर्ने कानुनी बाटो भएर पनि के गर्नू ! एक जना हैन, दुई जना हैन । नौ÷दशजनाका राक्षसी मनलाई ध्वस्त पार्न केवल एक नारीको के सामथ्र्य ! संसार त रमितेहरूको सङग्रहालय भयो । यहाँ द्रोपदीको चित्कारमा आनन्द मान्ने दुर्योधनरदुशासनहरूको राज्य छ । अझ सामुहिक बलत्कारको शिकार पनि हुनुछ । प्राण पनि उनीहरूकै अहङ्कारलाई दान दिनुछ । र, पनि अन्त्यमा नारीले शरीर ढाकिन भन्ने आरोप खानुछ । गल्ती त युवतीको पनि हो भन्ने सुन्नुछ ।

अचम्भ ! आजसम्म संसारमा कुनै त्यस्ती युवती जन्मेकी नहोली जसले भनोस्–“ए लक्का–जवानहरू हो ! आऊ । सामुहिक रूपमा आऊ । मेरा कोमल अङ्गप्रत्यङ्ग खेलाऊ । बेस्कन मोज गर । मेरो पीडाको क्रन्दनलाई सङ्गीतको मङ्गल धुन सम्झ । मलाई लुछ, चुँड, फर्काऊ, मर्काऊ । जसरी तिमीहरूको सामुहिक मन खुसी र आनन्दित हुन्छ, त्यही गर । म प्राण दिएर भए पनि तिमीहरूको यौनपिपासु मन बुझाउन चाहन्छु । यसैमा आफ्नो जन्म सफल भएको ठान्दछु ।”

देवी भगवती ! के तिमी त्यस्तो अवस्था भोग्न सक्थ्यौ ? अहँ ! तिमी त मूर्तिवत् जहाँको त्यही छ्यौ । कहिल्यै ठीक पनि भनिनौ । बेठीक भयो भनेर बोलिनौ । म एसएलसी फेल हुँदा हण्डर खाएर भाकल गरेँ । नभन्दै पास पनि भएँ । भाकल पूरा गर्छु भन्दाभन्दै मात्रै पन्ध्र वर्ष विताएँ । आज आएर एकतीस सयमा बोको किनेँ । त्यसैलाई लगेर तिम्रो अघि छिनाल्न भनेँ । पूजारीले टाउको लिन्छु भन्यो । ठीकै छ भनेँ । आधा ह्याकुलो सहितको टाउको तिम्रो पाउमा राख्यो । पछाडिको भाग मतिर फाल्यो । त्यही लिएर जाऊ र प्रसाद बनाएर खाऊ भन्यो । (आधा ह्याकुलो सहितको टाउको देखाउँदै) यो चाहिँ भगवतीलाई प्रसाद चढ्छ भन्यो । सखडेश्वरी भगवतीले तिम्रो रक्षा गरून् । मनका हर इच्छा पूरा होऊन् । पुजारीको अर्ति सुनेर मख्ख परेँ । पछि कुरा बुझ्दा पो छक्क परेँ । देवी ! तिम्रो भोजन भनी रगत चढाएँ । त्यो त मेरो भाकल थियो । आधा ह्याकुलो सहितको टाउको पुजारीलाई चढाउने भाकल थिएन । उत्तिखेर विरोध गर्ने विचारै आएन । अहिले आएर के गर्नु ? अरू कुरा के भन्नु ?

–नाम तिम्रै छ । काम चाम्रो छ । खुट्टाले सगर थाम्छु भन्छन् । ‘मै राज्य हुँ’ भनी घोषणा गर्छन् । ॐ ठगठाग युगाय नमः ।

भगवती ! तिम्रो नाममा एउटा पोखरी छ । रगत त्यहीँ जान्छ । फोहोर मौला जम्मा हुन्छ । नुहाउने र चढाउने जल त्यही हुन्छ । गोडा धोएको, दिशा पखालेको पानी अभिषेक गरी भक्ति देखाइन्छ । पवित्र–अपवित्र के छ, त्यो विचारिन्न । मात्र हात जोड्नु पर्याप्त मानिन्छ । मनका कर्तुत मनमै राख्नुछ । अघिपछि जालझेलको नेतृत्व लिनुछ । देवीजी ! तिमीलाई पनि भुसुक्कै ठग्नुछ । फूलमाला, प्रसाद, अबिर देखाउनुछ । आउँदा जाँदा बाटोभरि मान्छेलाई बोकाई अहङ्कार देखाउनुछ । तिम्रा अघि चाहिँ दानी भई टोपल्नुछ । बेलाबेलामा ‘ॐ ठगठाग युगाय नमः’ महामन्त्र सम्झनुछ । मान्छेको अवस्था यस्तै छ । तिम्रो चालढाल जस्ताको तस्तै छ ।

हेर ! तिम्रो नाममा भेटी चढ्छ । बलि दिँदा भेटी लिइन्छ । हिसाव राखिन्न । कसैले खोजे पाइन्न । तिमीमा श्रद्धा राखी सुनचाँदी चढाइन्छ । पैसोभेटी सामान्य ठानिन्छ । त्यो तिमीले पाउने हैन । तिम्रो नाम बेचेर धेरै आम्दानी भएको छ । तर, तिम्रो कल्याणमा खासै काम भएको छैन । भक्तजनहरूले चढाएका हरेक वस्तु प्रसादका नाममा मान्छेकै पेटमा पुग्छ । नाम तिम्रो छ, पेट हाम्रो छ । रगत नपिउने हो, टाउको नखाने हो, फूलपाती ग्रहण नगर्ने हो र चढाइएको भेटी स्वीकार नगर्ने हो भने देवी ! सपनामा त्यसकहाँ पुगिदेऊ । मान्छेको लोभी मनलाई खबरदारी गरिदेऊ । असहिष्णुहरूको कुभलो हुने चेतावनी देऊ ।

–कामना एकै हो । चाहाना एउटै हो । हित्तबेगर कोही चित्त बुझाउँदैन । लाभांशको भाँडो सित्तै आउँदैन । बिना काम, माम हाम गर्न पाइँदैन ।

परमेश्वरी ! तिमीसँग सामथ्र्य छ रे ! मान्छेहरू भन्छन्– तिमी दयाकी खानी हौ । तिमी दुःख–पीडा हरणदेवी हौ । मनोकाङ्क्षा पूरा गरिदिने साक्षात् परमेश्वरी हौ । शिरोच्छेदन भएर पनि, आफू पीडाको आहालमा डुबेर पनि भक्तजन कल्याणमा समर्पित छ्र्यौ रे ! भलै, मेरो मेहनतले होस् या तिम्रो कृपादृष्टिले होस् । मैले एसएलसी मात्र हैन, दश जोड दुई पनि गरेँ । जागिरे दुलाहा समेत भेटेँ । छोरो पनि जन्माएँ । एक किसिमले सफलतै, सफलता पाएँ । त्यसैले त अधैर्य छैन । तर, सधैँ धैर्यवान् भइरहनसकेकी छैन । आज आएर अर्को इच्छा मनमा उब्जेको छ । त्यो तिमीमा सविनय निवेदन गर्दै पत्रान्त गर्दछु– “मेरो भुइँ रोइरहेको छ । रक्षकहरू पहलमानी युद्धमा छन् । जनता रमिते भएका छन् । थरीथरीका मौखिकयुद्ध भोग्न पाइन्छ । द्वन्द्वको नियम भङ्ग छ । मङ्गलले नेटो काटेको छ । अमङ्गलले सगरमाथा छोएको छ । अधर्मीको सङ्ख्या चुलिएको छ । बेरोजगारीले मुलुक ढाकेको छ । हिजोका मगन्ते आज धनाढ्य कहलिएका छन् । न्यायालय समेत भ्रष्टमुक्त छैन । संविधान निर्माण चेस खेल भएको छ । हुनुपर्ने केही भएको छैन । नहुनुपर्ने अघोरै भएको छ । यस्तो बखतमा सम्पूर्ण अमङ्गल हटेर राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्दै जनसंविधान, समृद्धि र दिगो शान्ति मेरो हातमा देऊ । विकासका सम्पूर्ण द्वार खोलिदेऊ । बेरोजगारीको महसुस कसैले गर्न नपरोस् । अशान्तिको श्वास कसैले फेर्न नपरोस् । मेरो यही चाहना र कामना फत्ते गर्दिए म तिम्रा पाउमा मनोवाञ्छित फल टक्र्याउनेछु । भक्तिको मार्गमा अर्का इँट थप्नेछु । धन्यवाद !
 राजविराज–९, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x