भोलानाथ सुबेदीबहुला कविको बयान
म कवि,
नाथे कवि !
सरकारले चिहानघारी लिलामी गर्दा
मूर्दा जुलुसको नेतृत्व लिने
म मुर्दा कवि
आफै आफ्नो लागि
भविष्यको हत्यारा हुँ ।
स्वाभिमानको भारी बोकेर
आफैलाई थिच्ने
म महामूर्ख हुँ
मूर्दालाई मानिस देख्ने र मानिसलाई मूर्दा देख्ने
रतन्धोले ग्रसित एक रोगी हुँ ।
आत्मसम्मानको भोकले लखेट्दा
करङलाई सारङ्गी सम्झेर
जिन्दगी रेट्ने
म आफै आफ्नू इमान्दार हत्यारा हुँ
गर्भिणी समयको कोखमा
लात्ती हानेर
जन्मदै गरेको अत्याचारी शासक तुहाउने
हत्यारो लेखक मै हुँ ।
मेरो समाजले पुजेको ढुङ्गोमा
ठेस लाग्दा
मन्दिर अगाडि टोपी थाप्नेहरुको भीडमा
गुहार माग्ने
म कायर हुँ
स्वास्नी मरे मन्दिरमा भेटी चढाएर
बेश्यालाई बधाई दिन पुग्ने
म यो समजकको मर्द हुँ !
आर्यघाटबाट सरकार फर्कंदा
मानवअधिकारको चिहान खोस्रने
मृतक अधिकारकर्मि हुँ
गृह मन्त्रालयले हतियार किन्दा
सुतेको शिक्षा मन्त्रालयलाई चिमोट्ने मूर्ख हुँ ।
म मामुली कवि,
राज्यलाई दमको पर्याय देख्ने
उसका आँखामा कसिङ्गर हुँ
परिवारका आँखामा हरिलट्ठक हुँ
स्वास्नीका आँखामा नामर्द हुँ
समाजका आँखामा बहुला र सन्काहा हुँ
म साँच्चै नाथे कवि
आफ्नै खुट्टामा उनिएको
चप्पलले पनि हेप्छ,
प्रत्येक पाइलाको पट्याक्क आवाजमा
गुहुका छिटाले तालु छाम्छ
र, मैले सुँघ्दै हिँड्नु पर्छ
त्यही सिंहदरबार !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































