फित्काैली डटकमपिज्जा, पाउरोटी र पिँडालु
पहिले पहिले नेपालीको बर्ग विभाजन उच्च, मध्यम र निन्न भनेर गरिन्थ्यो । व्यक्तिको आर्थिक हैसियतलाई हेरेर बर्ग निर्धारण गरिन्थ्यो । उच्चमा त्यो पथ्र्यो जसको दरबार हुन्थ्यो । परिवारका सदस्यपिच्छे गाडी हुन्थे । जुँगा स्वदेशी भए पनि लुगा विदेशी हुन्थे । उसिनाको चामल देख्नै नपरी मसिनाको चामल खान्थे । लवज नेपाङ्ग्रेजी र नेपान्दी हुन्थ्यो । तिनको भारेभुरे, लारेलुरे, मध्यम र निम्न बर्गकासँग चाकडीको बाहेक टाढाटाढासम्म कुनै नरनाता रहँदैनथ्यो । ‘पारस जीवनशैली’ बाँचे पनि तिनको जयजयकार हुन्थ्यो । तिनको ठाँट राजखान्दानी बराबर हुन्थ्यो । ती भूजा ज्यूनार गर्थे, भात खाँदैनथे । राज÷आशन हुन्थे, बस्दैनथे । हुकुम÷आदेश दिन्थे, अनुरोध÷आग्रह गर्दैनथे । हामीले यसअघि भोगेको उबेलाका राजा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव (आजका सर्वसाधारण नेपाली नागरिक ज्ञानेन्द्र शाह)को शासनकाल वा सो सरहको तिनको जीवनशैली हुन्थ्यो । आफू र आफ्ना बाहेक अरुको अस्तित्व स्वीकार नगर्नु तिनको धर्म थियो । आफ्नै प्रगति र फिक्री तिनको कर्म थियो । अरुको बेदना, दुर्दशा, दुःख र पीरमर्का तिनका लागि दुई पैसाको मर्म थियो । नोकरचाकरले परिपूर्ण र रखेलादिले भरिपूर्ण तिनको दरबार हुन्थ्यो । दरबार के हुन्थ्यो त्यो त सिङ्गो सहरबजार हुन्थ्यो । यसरी ती उच्च बर्गमा दरिन्थे ।
मध्यम बर्गमा ती पर्थे जसलाई खान÷बस्न पीर थिएन । घरमा कमसेकम एउटा गाडी हुन्थ्यो । घर भन्नुहुन्छ भने महल झैँ हुन्थ्यो । तिनले ठुलाको चाकरी गरेर नोकरी चप्काउँथे र निम्न बर्गकालाई हप्काउँथे । ती उच्च र निम्नबर्गका राजदूत हुन्थे तर उच्चबर्गको हितमा काम गर्थे । माथिको आदेश पाएपछि छरछिमेकी र आफ्नै हितैसी साथीलाई समेत लात्ती हान्न बाँकी राख्दैनथे । पाउ मोल्न र धावा बोल्नमै तिनको जूनी बित्थ्यो । बिगतका चर्चित टिकेमन्त्री झैँ तिनले आदेश अनुसारको काम गर्थे । मालिकको आदेशसँगै तिनको बिहान हुन्थ्यो र आदेशसँगै रात ढल्थ्यो । तिनले मालिकको आदेशलाई परमादेश र मालिकलाई परमेश्वर ठान्थे । तिनका नजरमा सर्वसाधारणको भाउ ‘टाँट पल्टेको नेपाल आयल निगम’ बराबर पनि हुँदैनथ्यो । यसरी तिनीहरू मध्यम बर्गमा दरिन्थे ।
निम्न बर्गमा ती पर्थे जसलाई पेट र परिवार पाल्न धौधौ पथ्र्यो । बिहान खाए साँझ के खाऊँ ? हिजो खाए आज के खाऊँ ? यही फिक्री हुन्थ्यो र यही पीरले तिनको शिर खान्थ्यो । ‘बनिबुतो गर्न पाऊँ र छिटोछिटो मर्न पाऊँ’ भन्ने कामना हुन्थ्यो । काम नगरे माम जुर्दैनथ्यो । आकास ओड्नु र धर्ती ओछ्याउनु बाहेक ओत लाग्ने र बास बस्न लायक कमैका छाप्रा हुन्थे । तिनका सन्तानले पढ्नेलेख्ने सौभाग्य गुमाउँथे । वा तिनका सन्तानका टाउकामा शिक्षा हुँदैनथ्यो । राज्यले पनि तिनलाई तेस्रो दर्जाको नागरिक ठान्थ्यो र आतङ्ककारीका नाममा गोली हान्थ्यो । यसरी ती निम्नबर्गका नागरिकमा दरिन्थे ।
तर अब जमाना बद्लेको छ । अब परम्परागत हिसाबले नेपालीको बर्ग विभाजन हुँदैन । तपाईँ आफू कुन बर्गमा पर्छु भन्ने जान्न चाहनुहुन्छ भने पढिहाल्नुहोस् । यो पढेपछि तपाईँले आफ्नो बर्ग थाहा पाउनु हुनेछ ।
बिहान उठेर पिज्जा ज्युनार गर्ने पिज्जाबर्ग । जसमा हुनेखानेहरू पर्दछन्, बिहान उठेर पाउरोटी ज्युनार गर्ने पाउरोटीबर्ग । जसमा हुँदा खानेहरू पर्दछन् र बिहान उठेर पिँडालु ज्युनार गर्ने पिँडालुबर्ग । जसमा भए खाने र नभए हेर्नेहरू पर्दछन् ।
साहित्यसंसार डट कम
Subscribe
Login
0 Comments
Oldest






































