सुलसुले‘इन्द्रमायाको देशमा’ विमोचित
काठमाडौँ, ९ साउन । कथामा विभिन्न शैली र प्रयोग गर्न सक्षम कथाकार एल बि क्षेत्रीको तेस्रो साहित्यिक कृति इन्द्रमायाको देशमा(कथा सङ्ग्रह) आजदेखि बजारमा आएको छ ।
सैनिक जीवनबाट निवृत्त भई चितवनमा रही प्राध्यापनमा लाग्नुभएका क्षेत्रीका यसअघि त्रिशङ्कुको देशमा (लघुकथा सङ्ग्रह) र भीडमा हराएको मान्छे (कविता सङ्ग्रह) प्रकाशित छन् ।
पुस्तकको विमोचन गर्दै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यले राष्ट्रलाई उचाइमा पु¥याउने मात्र नभई राष्ट्रिय भाव जागृत गराउने भएकाले यसको महत्वलाई सबैले बुझ्न जरुरी छ भन्नुभयो । उहाँँले मातृभाषामा जतिसुकै राम्रो साहित्य सिर्जना गरे पनि त्यसले विश्वमा पहिचान राख्न नसक्ने भएकाले त्यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्न सकिएमा नेपाली साहित्यिक कृतिहरूले पनि अन्तर्राष्ट्रिय साहित्यिक जगतमा अलग्गै पहिचान राख्न सक्ने बताउनुभयो ।
विमोचित कृतिको समीक्षा गर्दै समालोचक डा लक्ष्मीप्रसाद गौतमले सिर्जनामा हिउँ र आगो दुबैसँग खेलेर आत्मसन्तुष्टी लिनसक्ने क्षेत्रीका कथा, लघुकथामा राष्ट्रियताको गहिरो भाव, नारी आवाज र सामाजिक विसङ्गतिलाई उजागर भएको बताउनुभयो । कथाकार नयनराज पाण्डले हरेक साहित्यकारका सिर्जना समाजप्रतिको प्रतिवद्धता भएकाले क्षेत्रीका कथामा त्यसको राम्रो प्रयोग भएको उल्लेख गर्नुभयो ।
कथाकार क्षेत्रीले साहित्यको सम्मान नहुने मुलुकले प्रगतिको बाटो पहिल्याउन सक्दैन भन्नुहुँदै यथार्थवादी चरित्रलाई साहित्य सिर्जनामा उतारिने भएकाले त्यसले देश, परिवेश र युगको प्रतिनिधित्व गर्न सक्ने धारणा राख्नुभयो । सो अवसरमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र मनीषा गौचनले पनि कथाकार क्षेत्रीको कृति र कथा शिल्पका बारेमा बोल्नुभएको थियो ।
कविडाँडा साहित्य समाज चितवनको आयोजनामा भएको सो समारोहमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































