साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘शब्द संयोजन’को भूकम्प विशेष २०७२

Nepal Telecom ad

काठमाडौँ । ‘शब्द संयोजन’ मासिक साहित्यिक पत्रिकाले वि.सं. २०७२ जेठ अङ्क ‘भूकम्प विशेष २०७२’ का रुपमा प्रकाशनमा ल्याएको छ । प्रकाशक एवम् प्रधानसम्पादक वासुदेव अधिकारी रहेको सो पत्रिकामा ११९ रचनाकारका रचनाले गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका परकम्पले ल्याएको भौतिक विनाश र मानसिक त्रासदीका विषयवस्तु त्यसमा परेका छन् ।

नेपालबाट राष्ट्रकवि माधव घिमिरे, जनकवि दुर्गालाल श्रेष्ठ तथा गङ्गाप्रसाद उप्रेती, रमेश खकुरेल, मोहन दुवाल, राम विनय, सरुभक्त, राजेन्द्र शलभ, रमण घिमिरे, रवीन्द्र मिश्र, रत्ननिधि रेग्मी शुक्राचार्य, श्याम रिमाल, दीपेन्द्र अधिकारी, नर्मदेश्वरी सत्याल, गायत्री विष्ट, मनीषा गौचन आदि ८० जना र भारतका मनोज केशान, ताइवानका कपिल अधिकारी आदि ३९ जनाका कविता, गीत, गजल, मुक्तक र हाइकुसम्बन्धी त्यसमा परेका छन् ।

‘अब हावा पखाल्नुपर्छ यहाँ
पानी पनि धुनुपर्छ
अब चाहिँ त धरतीमा
नयाँ कल्पान्तर हुनुपर्छ ।’

भूकम्पलाई लक्ष्य गरी भैरव अर्याल (हाल दिवङ्गत)ले लेखेको छोटो कविता पनि यहाँ सान्दर्भिक देखिएको छ । विदेशी स्रष्टाले हाम्रो देशले भोगेको भूकम्पको पीडामा सान्त्वना व्यक्त गरेका छन्, मलम लगाएका छन् । विसं १९९० को महाभूकम्पको त्रासदी र यसपालिको विनाशकारी भूकम्पको तुलना गरेर लेखिएका ऐतिहासिक सामग्रीसमेत प्रकाशित छन् । भुइँचालोपछि राहतका नाममा परालम्बी बनाउने प्रवृत्तिप्रति राष्ट्रकविले यसरी सतर्क गराउनुभएको छ –

बहत्तरको भइँचालो घर सिँगै ढाल्यो
पँधेराको सिरानामा पैरो चल्न थाल्यो
हाम्रो भयो बिल्लिबाठ, अब कहाँ जाऊँ
मागी खान नपरोस् है, आफैँ कमाई खाऊँ ।

मनोसामाजिक विमर्शकर्ता ध्रुवराज थापाले पत्रिकालाई दिएको अन्तर्वार्तामा प्राकृतिक प्रकोपलाई सहज रुपमा स्वीकार्नुपर्ने बताउनुभएको छ । पत्रिकाका कार्यकारी सम्पादक रमेश पोखरेलले विनाशकारी भूकम्पको असहनीय पीडा प्रत्यक्ष भोग्ने सयौँ स्रष्टा सो अङ्कमा समेटिएको तथा यो ऐतिहासिक, पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो ।

नेपाल प्रेस काउन्सिलको वर्गीकरणमा ‘क’ वर्गमा वर्गीकृत पत्रिकाले यसअघि रुद्र खरेल, रमेश विकल, जनकप्रसाद हुमागाईं, ओमी शर्मा, केवलपुरे किसान, लक्ष्मीप्रसाद देवकोटा, दुर्गालाल श्रेष्ठ, मोदनाथ प्रश्रित, सत्यमोहन जोशी, शान्ति र संविधान शीर्षकका झन्डै एक दर्जन विशेषाङ्क प्रकाशन गरिसकेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x