स्नेह सायमिमृत शहर
कुनै बेला आशले
कुनै बेला त्रासले
बाँचेको अभिनय गरिरहेका
लाशहरूको
मौन शहर हो यो
खान जानेका
लाउन जानेका
उत्सव र भोजमा
रम्न जानेका
सत्य कुरा सही ठाउँमा
भन्न नजानेका
घाउ पकाएर भित्रभित्रै
आफै पिल्सिरहेका
आफ्नो कुरा अरुले भानिदेलाकी भनेर
मुख ताकिरहेको
कहिले त्रास र
कहिले आशमा
बाँचेको अभिनय गरिरहेका
लाशहरूको मौन शहर हो यो
कुनै बेला एक बौलाहाले
यो शहरको नेतृत्व गर्थ्यो
बीच शहरमा नांगै उभिएर
शहरबासीहरूको उपहास गर्थ्यो
त्यतिखेर उनीहरू
त्यो बौलाहा नै नदेखेको
अभिनय गर्थे
कसैलाई बौलाहाले
एक थप्पड हानेछ भने
नदुखे झैं गरी
घरमा गएर रुन्थे
धेरै शताब्दीदेखि
बहुलाहाहरूले राज गरिरहेछन्
यो शहरमा
आफूखुसी कानुन
बनाइ रहेछन्
बौलाहाहरूको
जनसङ्ख्या बढाइ रहेछन्
यो शहरका
पुराना बासिन्दाहरू
जो आफूलाई आदिबासी
पनि भन्छन्
बहुलाहाहरूको नेतृत्वमा
मृत्यु सकारी रहेछन्
बाँचेको अभिनय गरिरहेछन
आफ्नो कुरा स्पष्ट
राख्न नजानेका
आफ्नो अस्तित्व
आफै स्वीकार गर्न नसकेका
आफूमाथि अरु कोही
आइदिए सजिलो हुन्थ्यो भनेर
पछाडि पछाडि सरिरहेका
हुतिहाराहरूको शहर हो यो
कुनै बेला आशले
कुनै बेला त्रासले
बाँचेको अभिनय गरिरहेका
लाशहरूको
मौन शहर हो यो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































