साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोटको टाँक

Nepal Telecom ad

अब फेरि तपाई
डढेलोले खाएको जङ्गल जस्तो
कि पहिरोले भत्काएको बगर जस्तो
यो सुनसान र अनकन्टार गाउँमा फर्किनुहुन्छ,
र हाम्रो अँध्यारो झुपडीको आँगनमा उभिनुहुन्छ !
हामीलाई थाहा छ— त्यसपछि तपाईं
दुवै हात जोडेर ‘नमस्कार’ भन्नुहुन्छ,
हाम्रै भाषाको लय टिपेर
कि ‘सेबारो’ भन्नुहुन्छ, कि ‘ल्हास्सो’ भन्नुहुन्छ… !
हामी गिट्टी कुट्ताकुट्तै, भारी बोक्ताबोक्तै
गोबर सोहोर्दासोहोर्दै, हलो जोत्दाजोत्दै
मेलो छोडेर तपाईंको वरिपरि
निरीह कमिला जस्तै जम्मा हुन्छौं
र पसिनै नपुछी शिर झुकाएर उभिन्छौं !
भोकले रोइरहेका हाम्रा लालाबालाहरू
भत्किएको स्कुलको पर्खालबाट चिहाएर
लुकीलुकी हेर्छन् तपाईंलाई !
अनि तपाईं भन्नुहुन्छ—
चामलको डिपो खोलिदिन्छु तिमीहरूलाई !
तिम्री छोरीको नाङ्गो लास छोप्ने कपडा किनिदिन्छु !
कपी, कलम र सिटामोल किनिदिन्छु तिम्रा नानीहरूलाई !
अँधेरी खोलामा तुइन हालिदिन्छु !
तिम्रो बाबुको हत्यारा पत्ता लगाइदिन्छु !
अरबबाट बाकसमा हालेर
गाउँसम्म ल्याइदिन्छु तिम्रो छोराको शव !
र तिम्रो देश तिमीहरूलाई नै फिर्ता दिन्छु !
हामीलाई थाहा छ— त्यसपछि तपाईं के गर्नुहुन्छ ?
त्यसपछि तपाईं—
हामीले कुटेका गिट्टीहरू सुमसुम्याउनुहुन्छ,
हाम्रा हात र कुर्कुच्चाहरू हेर्दै मुस्कुराउनुहुन्छ !
कि ‘फ्याफुल्ला’ भन्नुहुन्छ, कि ‘जोजोलोप्पा’ भन्नुहुन्छ !
अनि कोटको खल्तीमा बिस्तारै हात हाल्नुहुन्छ
र आफ्नो चुनावचिन्ह निकाल्नुहुन्छ !
तर यस पटक हामीलाई शङ्का लागेको छ—
कतै तपाईंले नै त होइन हाम्रो छोरालाई बेपत्ता पारेको ?
रुखमा बाँधेर हाम्रो दाजुलाई
कुटीकुटी मारेको तपाईंले नै त होइन ?
घाँस काट्न गएकी हाम्री बहिनीको
मुखमा रुमाल कोचेको तपाईंले नै त होइन ?
किन किन यस पटक हामीलाई
तपाईंको बोलीमा शङ्का लागेको छ….!
यस पटक तपाईं आउँदा
धूलोमा पोखिएका रगतका टाटाहरू नकुल्ची आउनू !
यो धूलो हाम्रो भगवान् हो !
युगौंदेखि यो धूलो
हाम्रो रगत, पसिना र आँसुले भिजेको छ !
हामी भुइँमान्छेहरू— यही धूलो खाएर बाँचेका छौं !
तपाईं आउँदा धूलोको इतिहास बचाएर आउनू !
थाहा छैन— यस पटक हामी
सपना देख्न सक्छौं कि सक्दैनौं ?
सभामा आउन सक्छौं कि सक्दैनौं ?
जुलुसमा जान सक्छौं कि सक्दैनौं ?
पशुझैं मर्न सक्छौं कि सक्दैनौं ?
तर एउटा इतिहास सम्झाउनु छ तपाईंलाई—
धेरै वर्ष पहिले यही धूलोमा
तपाईंले आफ्नो कोटको टाँक हराउनुभएको थियो,
यस पटक हामी तपाईंलाई
त्यही टाँक फिर्ता दिन चाहन्छौं ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x