सुलसुलेहाइकुको कम्प र परकम्प
काठमाडौँ, १९ साउन । ‘गोरखा भूकम्प’को तीन महिना सात दिनपछि ललितपुरमा आयोजित ‘कम्प हाइकु गोष्ठी’मा हाइजिनहरूले भूकम्पका बेलाको मानवीय र सम्पदा जस्ताको भौतिक क्षति, सन्त्रास, सुत्केरीहरूको पीडा, राहत वितरणमा अनियमितता जस्ता विषय प्रस्तुत गरे ।
नेपाल हाइकु केन्द्र(नेहा)को आयोजनामा भएको वाचन गोष्ठीमा रत्नशम्शेर थापा, रामकुमार पाँडे, रामदयाल राकेश, मुकुन्द आचार्य, बमबहादुर जिताली, विष्णुबहादुर सिंह, वासुदेव गुरागाईँ, श्रीहरि फुयाँल र दामोदर पुडासैनी किशोरले कम्प र परकम्प सम्बन्धी हाइकु वाचन गर्नुभयो ।
त्यसैगरी सुषमा आचार्य, चन्द्रकला शाह, सुषमा मानन्धर, श्याम रिमाल, लालबहादुर भुजेल, सुनिल पुरी, मित्रबन्धु पौडेल, शेरबहादुर तामाङ, सुधिर ख्ववि र विभव अधिकारीले भूकम्पपछि धनी गरिब एकै पाल, चौर र सडकमा आएको र राष्ट्रिय भावना झन् बढेको भाव पोख्नुभयो । सो अवसरमा ताइवानमा बस्ने नुवाकोटका कपिल अधिकारीले पठाएको विदेशमा बस्दा स्वदेशी मुटु पनि चर्किएको अभिव्यक्ति पोखिएको हाइकु वाचन गरिएको थियो ।
‘नेताजी कता
जनकम्प आउला
पालमा बस्नू’– नेहाका सदस्य पौडेलले राजनीतिक नेताहरूलाई यसरी सतर्क गराउनुभयो । सदस्य भुजेलको हाइकु मार्मिक थियो–
‘आलो सुत्केरी
त्रिपालमुनि भोकै
कठै बिचरी ।’
सो अवसरमा वरिष्ठ हाइजिन थापाले हाइकु नियममा बाँधिएर लेख्न आग्रह गर्दै हाइकु सुनाउनुभयो ः
निमोठिँदैछन्
निर्दयतापूर्वक
नियमहरू ।
नेहाका अध्यक्ष पाँडेले पनि भूकम्पपछिको नेपालको विसङ्गत परिस्थिति देखाउनुभयो–
‘निर्लज्ज नेता
बचेन नयाँ पाल
नयाँ नेपाल ।’
उहाँले नेपालमा हाइकु लेखन भित्रिएको ५० वर्ष नाघिसकेका अवस्थामा यसै वर्ष ५० हाइजिनका ५०–५० हाइकु समेटिएको कृति प्रकाशन गरिने जानकारी दिनुभयो ।
वाचित हाइकुमाथि टिप्पणी गर्दै प्रा सुषमा आचार्यले हाइकुलाई नेपाली जनजीवनमा स्थापित गर्न बाँकी नै रहेको बताउनुभयो । ऋतुसम्बन्धी हाइकु लेखन र वाचन कार्यक्रम आयोजना गर्दै आइरहेको नेहाकै आयोजनामा आगामी भदौमा वर्षासम्बन्धी हाइकु वाचन गर्ने भएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































