नारायण आचार्यअप्रेसन
एम्बुलेन्सबाट स्ट्रेचरमा झार्दै उसलाई अस्पतालमा पु¥याइयो । अप्रेसन थिएटरमा उसका सम्पूर्ण कपडा र चीजबिजहरू एक–एक गर्दै खोले र डक्टरहरूले तर्क वितर्क गर्न थाले, ‘होइन यसलाई के भएको हो, हलचल त गर्दैन त ? घाउ पनि कतै छैन, हात पनि भाँचिएको छैन, खुट्टा पनि दुरुस्त छ, ढाड पनि केही भएको छैन, के को अप्रेसन गर्ने हो यसको ? खै यसको एक्स–रे रिपोर्ट ?’
‘एक्स–रे रिपोर्ट किन चाहियो ? एक्स–रे रिपोर्ट बिना पनि यसको अप्रेसन गर्न सकिन्छ ।’ अर्को डक्टर कड्कियो । ‘के को अप्रेसन गर्ने, कुन अङ्ग अप्रेसन गर्ने, के गर्दा घाइते भएको हो त्यो त कमसेकम थाहा पाउनु प¥यो नि त । तपाईंहरू परिपक्व डक्टर भएर पनि यस्तो ख्यालठट्टा गर्नुहुन्छ ।’ अर्को डक्टरले गम्भीर भएर कुरा राख्यो ।
‘पदैन, पर्दैन एक्स–रे गर्नु पर्दैन, बिना एक्स–रे पनि अप्रेसन गर्न सकिन्छ । उसको अप्रेसन गर्ने अङ्ग भित्र भनौँ भने बाहिरै छ, बाहिर भनौँ भने भित्रै छ ।’
‘को मान्छे हो त यो ?’ अर्को डक्टरले सोध्यो ।
‘जो सुकै होस् न किन चाहियो त ? मान्छे भन्दा पनि अप्रेसन ठूलो कुरा हो ।’ अर्को डक्टरले पुलुक्क हे¥यो ।
‘के गर्दा बेहोस भएको रहेछ नि ?’ अझ अर्को डक्टरले सोध्यो ।
‘कानुन नमान्दा बेहोस परेको रे ।’ बरिष्ठ डक्टरले भन्यो ।
‘कानुन नमान्दा ? ए ! यो वकिल हो कि न्यायाधीश ?’
‘वकिल र न्यायाधिशभन्दा पनि माथ्लो भन्छन्’ अर्को डक्टरले भन्यो ।
‘के को अप्रेसन गर्ने त’ अझैँ अर्कोले सोध्यो ।
‘बोलीको अप्रेसन’ अर्कोले जवाफ दियो ।
‘बोलीको भन्नु’भो या गोलीको मैले त अझैँ बुझिन नि !’
‘गोलीको अप्रेसन त गोलीको नै हो तर बोलीको गोलीको अप्रेसन गर्नुप¥यो रे !’
‘बोलीको !’ सबै डक्टरहरू हेरेको हेर्यै भए ।
‘बोल्यो कि त देशै अवरुद्ध भइहाल्छ त्यसैले उहाँको बोलीको अप्रेसन गर्नुपर्यो । त्यसो त बोली निस्कने मुखबाट नै हो त्यो पनि मुख्य भूमिका त जम्पिङ जिब्रेले नै खेल्छ त्यसैले उहाँको जिब्रोको अप्रेसन गर्नुप¥यो ।’
‘के गर्ने त काटेर फालिदिने ?’ पहिलो डक्टरले सोध्यो ।
‘कि अर्को थपिदिने ?’ दोस्रो डक्टरले भन्यो ।
‘कि खोल हालिदिने ?’ तेस्रो डक्टरले भन्यो ।
‘कि दुईचिरा पारिदिने ?’ चौथो डक्टरले भन्यो ।
‘कि जिब्रामा गल झुन्ड्याइदिने ?’ पाँचौँ डक्टरले भन्यो ।
‘कि आधा काटेर छोटो बनाइदिने?’ छैठौँ डक्टरले भन्यो ।
‘अप्रेसन गर्ने डक्टरलाई मार्ने कानुन बनायो भने !’ सातौँ डक्टर बोल्यो ।
‘कानुन बनाउन सक्ने भए त फ्यान्ट नै हुने थिएन नि !’ आठौँ डक्टर बोल्यो ।
‘त्यसो भए यसको जिब्रो कस्तो रहेछ हेरौँ न त !’ सबै डक्टरहरू उसको जिब्रो चेक गर्न राजी भए । औजारहरू प्रयोग गरेर उसको मुख फट्याइयो र जिब्रो निरीक्षण गर्न थालियो ।
‘ओहो ! यसको जिब्रोमा त लेबल टाँसेको रहेछ ! जिब्रा दुईटा रैछन्, एउटामा नेपाली र अर्कोमा विदेशी लेखेको रै’छ ! एउटामा गर्नुपर्छ भन्ने अर्काेमा गर्नहुदैन भन्ने लेखेको छ । तर विदेशी लेखेको जिब्रोले दुइटै जिब्रोलाई घपलक्क छोपेको रै’छ, अब के गर्ने ?’ मुख्य डक्टरले अन्य डक्टरहरूसँग सोध्यो ।
यस्ता दुईजिव्रेहरूको काम छैन दुइटै जिव्रालाई काटेर मिल्काइदि¬¬ँ¬उ– अन्य डक्टरहरूले भने ।
‘बिरामी ल्याउने चाहिँ को हो उसलाई सोधौँ न’ भन्दै एउटा डक्टर बाहिर आएर कराउन थाल्यो– ‘फल्ना बिरामीको धरालु को हो ?’
‘हामी हौँ ।’ ्ठूलो जनसमूह चिच्याउन थाल्यो ।
‘कस्तो अप्रेसन गर्ने त उसको ?’ फेरि डक्टर चिच्यायो ।
‘त्यो दुईजिब्रेको । बिदेशी लेखेको लेबललाई कटाइदिनुस् र एउटा जिब्रो बनाइदिनुस् ।’
डक्टर हतार हतार अप्रेसन थिएटरतिर गयो र मुख्य डक्टरहरूलाई सबै कुरा बतायो । फेरि उसको मुख फट्याउँदै विदेशी लेखेको लेबललाई काटेर फाल्दै सुपर ग्लूको ठूलो बोतल टेबलमा ल्यायो र उसका दुईवटा जिब्रोको बीचमा लततत् सुपर ग्लु खन्यायो र चेप्टाइदिएर एउटै बनायो ।
अब यो कस्तो बोल्ला भन्ने उत्सुकताको साथ होसमा नआउँदासम्म डक्टरहरू उसको वरिपरि घेरिएर बसे । अस्तु !
राेल्पा
Subscribe
Login
0 Comments
Oldest







































