विमल निभाशशि शाहको घोडा
सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिनेँ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङको घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनको घोडाजस्तो लागेको थियो । तर, होइन, शशि शाहकै घोडा थियो । चित्रबाट निस्केर एक्कासि दर्गुन थालेको देखेर मलाई विश्वास गर्न गाह्रो भयो । तर, आँखा अघिल्तिरको यथार्थलाई कसरी अस्वीकार गर्न सकिन्छ । म शशि शाहको पेन्टिङको प्रशंसक हुँ । यसो ता मलाई यसको त्यति जानकारी छैन । जे होस, फुटपाथबाटै कराएर मैले अभिवादन गरेँ, “जयनेपाल घोडाज्यू ।”
“जयनेपाल” घोडा त्यहीँ टक्क अडियो ।
मैले अघि नै भनिसकेँ, यो कुनै सामान्य घोडा होइन । केवल घोडाको विभिन्न किसिमका पेन्टिङ बनाएर प्रसिद्धि कमाएका कलाकार शशि शाहको घोडा हो । कुन्नि, कसरी पेन्टिङबाट स्वतन्त्र भएर चित्र बाहिरको संसारमा विचरण गर्न थालेको छ । फुटपाथ र सडकबीचको फलामे बारबाट हात छिराएर मिलाउँदै भनेँ मैले, “कता घोडाज्यू ?”
“अब कता भन्ने, तपाईं मेरो मुखको दिशालाई हेरेर सहजै अड्कल गर्न सक्नुहुन्छ, म के भनूँ श्र” घोडा रहस्यमय स्वरमा फुस्फुसायो ।
“के नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानतिर हो ?” मैले आफ्नो अनुमान अगाडि राखेँ ।
शशि शाहको घोडा किञ्चित सङ्कोचका साथ मुस्कुरायो ।
“के तपाईं पनि प्राज्ञ हुने दौडमा सामेल हुनुहुन्छ घोडाज्यू ?” मैले ठट्टाको भावमा भनेँ ।
घोडा सहसा गम्भीर भयो, “किन, के मेरो प्राज्ञ हुने हैसियत छैन ?” यो एकाएकको प्रश्नले म आत्तिएँ । उसले फेरि भन्यो, “एउटा घोडाले एकेडेमीको सदस्य हुन पाउँदैन भन्ने कुनै विधान छैन । कुनै पनि प्रकारको घोडदौडमा भाग लिनु मेरो अधिकार हो । स्मरण रहोस्, म एक घोडा हुँ ।“ उसको गम्भीरता कायम थियो ।
यो घोडाको जन्मदाता कलाकार शशि शाह कलाजगत्को प्रतिनिधित्व गरेर एकपटक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ भइसकेका छन् । अब उनको पेन्टिङको घोडाको महत्वाकाङ्क्षा जागृत भएको प्रतीत हुन्छ । तर, एउटा घोडा र प्राज्ञ, मलाई यसमा सङ्गतिको अभाव भएको महसुस भइरहेको थियो । अतः आफ्नो अरुचिलाई व्यक्त गर्ने शैलीमा विस्तारै भनेँ, “प्राज्ञ हुन त्यसै पाइँदैन घोडाज्यू ।”
उसले आफ्नो लम्बमुख उचालेर सानो सानो आ“खाले मलाई हेर्यो ।
“घोडाज्यू, एकेडेमीको प्राज्ञ हुन तपाईंले कि त कविता, कथा, उपन्यास, निबन्ध, समालोचना आदि लेख्ने साहित्यकार हुनुपर्यो । कि त चित्र कोर्ने कलाकार । अथवा, नाटक साटक खेल्ने खेलाउने नाटककार भए पनि हुन्छ । कुनै न कुनै खालको प्रज्ञापन तपाईंको व्यक्तित्व अर्थात् घोडत्वमा अनिवार्य रूपले हुनैपर्छ । अन्यथा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ भएर जानु सम्भव छैन । प्रवेश निषेध नै भन्नोस् ।” मैले आफ्नो धेरथोर जानकारी घोडासमक्ष राख्ने यथासम्भव प्रयत्न गरेँ ।
उसले शिर एउटा लयमा तल गर्यो । सायद केही सोचिरहेको थियो । यसले के प्रमाणित भयो भने, यो एक चिन्तनशील घोडा हो । सबै घोडाहरू फगत घोडा मात्र हुँदैनन् । अरूथोक पनि हुन सक्छन् । उदाहरणका लागि, सोचमा डुबेको यो घोडा । मेरो घोडा यति चिन्तनशील छ भनेर शशि शाहले पनि सोचेका थिएनन् होला । मलाई त शशि शाहभन्दा अपेक्षाकृत घोडा नै बढी चिन्तनशील हो कि जस्तो लाग्यो । नहुन पनि सक्छ । अब म के भनुँ ? केही क्षणपश्चात् याल हल्लाउँदै उसले भन्यो, “हेर्नोस्, तपाईंलाई थाहै छ, म कलाकार शशि शाहको चित्रको घोडा हुँ । यसर्थ मेरो महत्वलाई कम आँक्ने धृष्टता नगर्नोस् । नेपालको कलामा मेरो गतिलो उपस्थिति रहेको सर्वविदितै छ । यस क्षेत्रका जानकारहरू हृदयदेखि मेरो सम्मान गर्छन् । पिकासोको गुयरनिकालाई झैँ । म कलाकारिताको एक जीवन्त साक्षी हुँ । त्यसकाण मेरो कुनै पनि प्रकारको हैसियत छैन भन्न मिल्दैन ।”
एउटा घोडाको बौद्धिक टाइपको प्रवचन सुनेर म चकित भावमा त्यसै उभिइरहेँ ।
“अब तपाईं नै भन्नोस्, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य हुन यतिले पुग्दैन ?”
मेरो कण्ठबाट कुनै आवाज निस्केन । मलाई अवाक् अवस्थामा देखेर कलाकार शशि शाहको चित्रको घोडाले नै भन्यो, “यति मात्र होइन, शशि शाह नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य छँदा मेरो थुप्रै साहित्यकारहरूसँग सरसङ्गत भइसकेको छ । म मदनमणि माडसाब, रमेश विकल दाइ, धुस्वाँ सायमि दाइ, वैरागी काइँलाजी, ध्रुवचन्द्र गौतमजी आदिलाई राम्ररी चिन्छु ।” उसले दुवै कान हल्लाएर विस्तारै भन्यो, “कतिसँग त मैले सँगै बसेर रक्सी पनि पिएको छु । अब मात्तिएर सडक, फुटपाथ, गल्ली, कोठा, बरन्डा, कार्यालय, गोष्ठी, समारोह आदि स्थानहरूमा वमन गरेको कुराचाहिँ नगरौँ । अँ त, साहित्यकारहरूसँगको दिन रातको उठबसले गर्दा मैले पनि अलिअलि गीत, कविता, कथा, निबन्ध आदि कोर्न थालेको छु । जहाँसम्म नाटकको कुरो छ, नाटकीयताको अभावमा कोही पनि एकेडेमीको सदस्य हुन सक्दैन, यो मलाई पनि थाहा छ । मैले त्यसै हकदाबी गरेको होइन ।” शशि शाहको घोडाले जोस्सिएर आफ्नो तीखो दाँत देखायो, “एकेडेमीका लागि आवश्यक सम्पूर्ण योग्यता ममा विद्यमान छ । तसर्थ म प्राज्ञ हुन अग्रसर किन नहुने ?” उसले अघिल्तिरको दुवै खुट्टा उचालेर तत्कालै सडकमा टाप बजार्यो ।
“तर, तपाईं एउटा घोडा … घोडा कसरी प्राज्ञ … यो त मिल्दैन जस्तो … मिल्छ र घोडाज्यू ?” मैले अडकी अड्कीकन आफ्नो भनाइ राख्ने प्रयास गरेँ ।
“किन, एउटा घोडा प्राज्ञ हुन किन सक्दैन ? कस्ता–कस्ता गधाहरू त एकेडेमीको प्राज्ञ भइसकेका छन् भने एउटा घोडाले नहुने प्रश्नै छैन । तपाईंलाई थाहा छैन, खच्चरहरू समेत सदस्य र सहसदस्य भइसकेका छन् । ती कोको हुन्, कुनै बेला आवश्यक परे खोलेर नाउँ लिनेछु । अहिलेलाई छाड्नोस् । मेरो भन्नुको अर्थ के हो भने, एउटा घोडा नै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ हुनका लागि आदर्श उम्मेदवार हुनसक्छ । गधा र खच्चरहरू होइन । मसँग प्रशस्त गुणहरू छन् । अब तपाईंसँग के लुकाउने, एकेडेमीले माग गरेअनुसार दर्खास्तमा मैले सबै उल्लेख गरेको छु । त्यही दर्ता गर्न त जान लागेको हुँ । म प्राज्ञ भएर छाड्नेछु ।” शशि शाहको घोडा उत्तेजित भएर हिनहिनायो र चारखुट्टा (होइन, दुई खुट्टा र दुई हात) उचालेर नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानस्थित दिशातर्फ विद्युत् गतिले दगुर्न थाल्यो ।
नेपाल साप्ताहिक, अङ्क ११४
Subscribe
Login
0 Comments
Oldest








































