साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शशि शाहको घोडा

Nepal Telecom ad

सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिनेँ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङको घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनको घोडाजस्तो लागेको थियो । तर, होइन, शशि शाहकै घोडा थियो । चित्रबाट निस्केर एक्कासि दर्गुन थालेको देखेर मलाई विश्वास गर्न गाह्रो भयो । तर, आँखा अघिल्तिरको यथार्थलाई कसरी अस्वीकार गर्न सकिन्छ । म शशि शाहको पेन्टिङको प्रशंसक हुँ । यसो ता मलाई यसको त्यति जानकारी छैन । जे होस, फुटपाथबाटै कराएर मैले अभिवादन गरेँ, “जयनेपाल घोडाज्यू ।”
“जयनेपाल” घोडा त्यहीँ टक्क अडियो ।

मैले अघि नै भनिसकेँ, यो कुनै सामान्य घोडा होइन । केवल घोडाको विभिन्न किसिमका पेन्टिङ बनाएर प्रसिद्धि कमाएका कलाकार शशि शाहको घोडा हो । कुन्नि, कसरी पेन्टिङबाट स्वतन्त्र भएर चित्र बाहिरको संसारमा विचरण गर्न थालेको छ । फुटपाथ र सडकबीचको फलामे बारबाट हात छिराएर मिलाउँदै भनेँ मैले, “कता घोडाज्यू ?”
“अब कता भन्ने, तपाईं मेरो मुखको दिशालाई हेरेर सहजै अड्कल गर्न सक्नुहुन्छ, म के भनूँ श्र” घोडा रहस्यमय स्वरमा फुस्फुसायो ।

“के नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानतिर हो ?” मैले आफ्नो अनुमान अगाडि राखेँ ।
शशि शाहको घोडा किञ्चित सङ्कोचका साथ मुस्कुरायो ।
“के तपाईं पनि प्राज्ञ हुने दौडमा सामेल हुनुहुन्छ घोडाज्यू ?” मैले ठट्टाको भावमा भनेँ ।
घोडा सहसा गम्भीर भयो, “किन, के मेरो प्राज्ञ हुने हैसियत छैन ?” यो एकाएकको प्रश्नले म आत्तिएँ । उसले फेरि भन्यो, “एउटा घोडाले एकेडेमीको सदस्य हुन पाउँदैन भन्ने कुनै विधान छैन । कुनै पनि प्रकारको घोडदौडमा भाग लिनु मेरो अधिकार हो । स्मरण रहोस्, म एक घोडा हुँ ।“ उसको गम्भीरता कायम थियो ।

यो घोडाको जन्मदाता कलाकार शशि शाह कलाजगत्को प्रतिनिधित्व गरेर एकपटक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ भइसकेका छन् । अब उनको पेन्टिङको घोडाको महत्वाकाङ्क्षा जागृत भएको प्रतीत हुन्छ । तर, एउटा घोडा र प्राज्ञ, मलाई यसमा सङ्गतिको अभाव भएको महसुस भइरहेको थियो । अतः आफ्नो अरुचिलाई व्यक्त गर्ने शैलीमा विस्तारै भनेँ, “प्राज्ञ हुन त्यसै पाइँदैन घोडाज्यू ।”
उसले आफ्नो लम्बमुख उचालेर सानो सानो आ“खाले मलाई हेर्यो ।
“घोडाज्यू, एकेडेमीको प्राज्ञ हुन तपाईंले कि त कविता, कथा, उपन्यास, निबन्ध, समालोचना आदि लेख्ने साहित्यकार हुनुपर्यो । कि त चित्र कोर्ने कलाकार । अथवा, नाटक साटक खेल्ने खेलाउने नाटककार भए पनि हुन्छ । कुनै न कुनै खालको प्रज्ञापन तपाईंको व्यक्तित्व अर्थात् घोडत्वमा अनिवार्य रूपले हुनैपर्छ । अन्यथा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ भएर जानु सम्भव छैन । प्रवेश निषेध नै भन्नोस् ।” मैले आफ्नो धेरथोर जानकारी घोडासमक्ष राख्ने यथासम्भव प्रयत्न गरेँ ।

उसले शिर एउटा लयमा तल गर्यो । सायद केही सोचिरहेको थियो । यसले के प्रमाणित भयो भने, यो एक चिन्तनशील घोडा हो । सबै घोडाहरू फगत घोडा मात्र हुँदैनन् । अरूथोक पनि हुन सक्छन् । उदाहरणका लागि, सोचमा डुबेको यो घोडा । मेरो घोडा यति चिन्तनशील छ भनेर शशि शाहले पनि सोचेका थिएनन् होला । मलाई त शशि शाहभन्दा अपेक्षाकृत घोडा नै बढी चिन्तनशील हो कि जस्तो लाग्यो । नहुन पनि सक्छ । अब म के भनुँ ? केही क्षणपश्चात् याल हल्लाउँदै उसले भन्यो, “हेर्नोस्, तपाईंलाई थाहै छ, म कलाकार शशि शाहको चित्रको घोडा हुँ । यसर्थ मेरो महत्वलाई कम आँक्ने धृष्टता नगर्नोस् । नेपालको कलामा मेरो गतिलो उपस्थिति रहेको सर्वविदितै छ । यस क्षेत्रका जानकारहरू हृदयदेखि मेरो सम्मान गर्छन् । पिकासोको गुयरनिकालाई झैँ । म कलाकारिताको एक जीवन्त साक्षी हुँ । त्यसकाण मेरो कुनै पनि प्रकारको हैसियत छैन भन्न मिल्दैन ।”
एउटा घोडाको बौद्धिक टाइपको प्रवचन सुनेर म चकित भावमा त्यसै उभिइरहेँ ।

“अब तपाईं नै भन्नोस्, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य हुन यतिले पुग्दैन ?”

मेरो कण्ठबाट कुनै आवाज निस्केन । मलाई अवाक् अवस्थामा देखेर कलाकार शशि शाहको चित्रको घोडाले नै भन्यो, “यति मात्र होइन, शशि शाह नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य छँदा मेरो थुप्रै साहित्यकारहरूसँग सरसङ्गत भइसकेको छ । म मदनमणि माडसाब, रमेश विकल दाइ, धुस्वाँ सायमि दाइ, वैरागी काइँलाजी, ध्रुवचन्द्र गौतमजी आदिलाई राम्ररी चिन्छु ।” उसले दुवै कान हल्लाएर विस्तारै भन्यो, “कतिसँग त मैले सँगै बसेर रक्सी पनि पिएको छु । अब मात्तिएर सडक, फुटपाथ, गल्ली, कोठा, बरन्डा, कार्यालय, गोष्ठी, समारोह आदि स्थानहरूमा वमन गरेको कुराचाहिँ नगरौँ । अँ त, साहित्यकारहरूसँगको दिन रातको उठबसले गर्दा मैले पनि अलिअलि गीत, कविता, कथा, निबन्ध आदि कोर्न थालेको छु । जहाँसम्म नाटकको कुरो छ, नाटकीयताको अभावमा कोही पनि एकेडेमीको सदस्य हुन सक्दैन, यो मलाई पनि थाहा छ । मैले त्यसै हकदाबी गरेको होइन ।” शशि शाहको घोडाले जोस्सिएर आफ्नो तीखो दाँत देखायो, “एकेडेमीका लागि आवश्यक सम्पूर्ण योग्यता ममा विद्यमान छ । तसर्थ म प्राज्ञ हुन अग्रसर किन नहुने ?” उसले अघिल्तिरको दुवै खुट्टा उचालेर तत्कालै सडकमा टाप बजार्यो ।

“तर, तपाईं एउटा घोडा … घोडा कसरी प्राज्ञ … यो त मिल्दैन जस्तो … मिल्छ र घोडाज्यू ?” मैले अडकी अड्कीकन आफ्नो भनाइ राख्ने प्रयास गरेँ ।

“किन, एउटा घोडा प्राज्ञ हुन किन सक्दैन ? कस्ता–कस्ता गधाहरू त एकेडेमीको प्राज्ञ भइसकेका छन् भने एउटा घोडाले नहुने प्रश्नै छैन । तपाईंलाई थाहा छैन, खच्चरहरू समेत सदस्य र सहसदस्य भइसकेका छन् । ती कोको हुन्, कुनै बेला आवश्यक परे खोलेर नाउँ लिनेछु । अहिलेलाई छाड्नोस् । मेरो भन्नुको अर्थ के हो भने, एउटा घोडा नै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ हुनका लागि आदर्श उम्मेदवार हुनसक्छ । गधा र खच्चरहरू होइन । मसँग प्रशस्त गुणहरू छन् । अब तपाईंसँग के लुकाउने, एकेडेमीले माग गरेअनुसार दर्खास्तमा मैले सबै उल्लेख गरेको छु । त्यही दर्ता गर्न त जान लागेको हुँ । म प्राज्ञ भएर छाड्नेछु ।” शशि शाहको घोडा उत्तेजित भएर हिनहिनायो र चारखुट्टा (होइन, दुई खुट्टा र दुई हात) उचालेर नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानस्थित दिशातर्फ विद्युत् गतिले दगुर्न थाल्यो ।

नेपाल साप्ताहिक, अङ्क ११४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x