सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शीतल निवासमा गरम भोजन

Nepal Telecom ad

(गाइर्जात्रा २०७२)

शीतल निवास निवासी शीतल स्वभावका महामहिम राष्ट्रपतिले श्री ५ हरिबहादुरहरूलाई शीतल निवासमा बोलाएर नरम नरम सोफामा बसाएर गरम गरम भोजन गराएछन् । खाना त बहाना मात्रै थियो । खास कुरा महामहिमले हरिहरूलाई सम्झाइबुझाइ गर्नु थियो । उनले सीमांकनका विवाद टुंग्याउनूस् भनेछन् । मस्यौदामा राष्ट्रपतिसम्बन्धी व्यवस्था ठीक भएन भनेर सुझाएछन् । सबैका कुरा सुनेर सबैलाई मान्य हुने राम्रो संविधान बनाउनूस् पनि भनेछन् ।

तीन घन्टा लामो भोजन समारोहमा अरू पनि धेरै भित्री कुरा पक्कै भए होलान्, जुन बाहिर आएनन् । जनताले दिएका त्यति राम्रा राम्रा सुझावलाई रद्दीका टोकरीमा हाल्दा तपाईंहरूलाई अलिकति पनि लाज लागेन भनेर हरिहरूलाई सोधे होलान् । मधेसलाई कंगाल प्रदेश बनाउन खोजेको भनेर कडा आक्रोश पोखे होलान् । चुरे जोगाउन मैले त्यस्तो मरिहत्ते गरेँ । अहिले आएर चुरेलाई तराईबाटै अलग गर्ने ? मेरो मुटुमै प्रहार गर्ने ? मलाई सोझो भनेर हेपेको ? भनेर राष्ट्रपतिले भावुक मुद्रामा प्रश्न गर्दा कोमल मन भएका कमरेड प्रचण्डले आँसु नै पो खसाले कि !

उनले हरिहरूलाई सल्लाह दिँदै भने होलान्, हतार नगर्नूस्, तुरुप फाल्दै पर्खिंदै गर्नूस्, आगो बल्छ कि धूवाँ आउँछ हेर्नूस् । धूवाँ मात्र आयो भने छाड्नूस् । आगो बल्यो भने अर्को तुरूप फाल्नूस् । श्री ५ को बैठक बस्नूस्, तराईलाई उदयपुर दिनूस् र प्रतिक्रिया हेर्नूस् । फेरि बैठक बस्नूस्, सप्तरी फिर्ता लिनूस् अनि के हुुन्छ हेर्नूस् । सुर्खेतलाई राजधानी दिएर हेर्नूस्, फेरि फिर्ता लिएर हेर्नूस् ।

जसले जे माग्छ दिनूस् न ! तपाईंका पिताजीले दिएको अंश दिनु पर्ने होइन क्यारे ! म पहिला त्यसै गर्थें, बिरामीलाई एउटा औषधी दिन्थे र हेर्थें । ठीक भयो भने भैगो, भएन भने फेरि अर्को औषधी लेखिदिन्थेँ अनि हेर्थें । भएन भने फेरि अर्को । तपाईंहरू त्यसै गर्नूस् । त्यसो गर्दा डाक्टरलाई केही हुँदैन, मरे बिरामी मर्ने हो ।

केही समय धैर्य गर्नूस्, उपेन्द्रजीहरूले पनि चीनसँग सिमाना जोडिनुपर्‍यो भन्न लाग्दै छन् । बिस्तारै सबैलाई पुरानै पाँच विकास क्षेत्र मन पर्न थाल्छ । त्यसैलाई प्रदेश बनाइदिनूस् र ‘अखण्ड संघीय गणतन्त्र नेपाल’ घोषणा गर्नूस् ।

राष्ट्रपतिको कुरा सुनेर सुशीलजीको अनुहार उज्यालो भयो होला ।

अन्तिममा महामहिमले भने होलान्, मेरा बारेमा चिन्ता नगर्नूस् । अप्ठ्यारै परे पनि म सहेरै बसेको छु । देशका लागि हामीले त्याग पनि गर्नैपर्छ । शीतल निवासमा अरू एक/दुई वर्ष बस्नैपर्ने बाध्यता पर्‍यो भने पनि म बसिदिउँला । संविधानसभाको म्याद अझै दुई वर्ष बाँकी छ होइन केपीजी ?

राष्ट्रपतिले केपीतिर हेरेर भने होलान्, सबै जना हाँसीखुसी देखिनुभयो, ओलीजीले किन अनुहार बिगार्नुभएको ? सन्चो भएन कि ? यस्तो कमजोर स्वास्थ्य भएको मान्छे बेलाबेला सगरमाथै चढौँला झैँ गर्नुहुन्छ । धेरै धपेडी नगर्नूस् । थला परिएला । पहिला आफ्नो स्वास्थ्यको चिन्ता गर्नूस्, त्यसपछि प्रधानमन्त्रीका बारेमा सोच्नुहोला । बरू युरोप/अमेरिकातिरका अलि ठूला अस्पतालमा गएर दुई/चार महिना उतै बसेर भए पनि राम्ररी उपचार गरेर फर्कनूस् । त्यतिन्जेल सबै कुरा ठीक हुन्छ अनि संविधान घोषणा गरौँला ।

ल हरिजीहरू, अब गरम गरम जलेबी चरम चरम पारेर बाटो लाग्नूस् ।

नेपाल भाद्र १०, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे