शेषराज भट्टराईआकस्मिक आन्दोलन
आकस्मिक जम्काभेट, आकस्मिक बैठक, आकस्मिक आन्दोलन एउटै ड्याङका मूला हुन । अन्य आन्दोलनहरू पुर्वसूचना तथा चेतावनी दिएर सुरु हुन्छ भने आकस्मिक आन्दोलन अकस्मातै सुरु हुन्छ । कसैलाई सूचना दिएर सुसूचित गराउने झन्झट यसले ब्यहोर्दैैन । अन्य आन्दोलनको तुलनामा यस्ता आन्दोलनलाई हल्का रूपले लिनुहुँदैन । हलुका रूपले लियो भने यस्तो आन्दोलनले तहल्का मच्चाउन पनि सक्छ । त्यसैले होला यस्ता कठोर तथा जटिल आन्दोलनहरू व्यावहारमा उत्रिन सकेको छैन । तथापि चरम कष्टकर जीवनयापनको दौरानमा आतङ्ककारीले झैँ अकस्मात् शिर उठाउन सक्छ ।
आकस्मिक आन्दोलन अलिक कठोर कर्कश र क्लिष्ट हुन्छ । मन्त्रिपरिषद्को आकस्मिक जमघटबाट अपर्झट मूल्य उचालियो भने कर्मचारी ब्रह्मचारी र कृषक नराम्ररी थचारिन्छन् । यसरी थचारिँदा लुप्त सुषुप्त अवस्थामा रहेको चैतन्य धरातलको ढोका उगिँ्रदा काम बिग्रिन र पीडित जनवारहरूले सडक ढाक्न र अतिचारीलाई डाक्न सक्छन् भने होस्टेमा हैंसे गर्ने आकस्मिक आन्दोलनकारीको तपसिलका मागहरू जायज र अपरिहार्य पनि हुनसक्छन् ।
आन्दोलन विधिवत आरम्भ र विधिवत् विसर्जन भएको पाइँदैन नानाभातीका कार्यक्रमहरूमा मन्त्री तथा सरकारप्रमुखले मुसाले वस्त्र काटेझैँ खुलेआम रिवन काटेर उद्घाटन गरिराखेका हुन्छन्, तर आन्दोलनको उद्घाटन मन्त्री तथा सरकार प्रमुखबाट नगराउनुको हेलचेक्र्याइँलाई मैले अपसगुनको रूपमा लिएको छु ।
आकस्मिक आन्दोलन हाम्रो कालखण्डको भन्दा पनि अनिकालखण्डको ऐतिहासिक र अपत्यारिलो आन्दोलन हो । यस्तो अपूर्व आन्दोलनबाट अबोध जनतादेखि उम्रिदैका तीनपाते सरकारसमेत लाभान्वित हुने कुरामा दुईमत नहोला । सरकारले मन्त्रिपरिषद् गठन गरेपछि प्रमुख आन्दोलनकारीले पनि आकस्मिक तथा नियमित आन्दोलनकारीको गठन तथा पुनर्गठन गरेर हर्दम आन्दोलन गरिराख्नु जारीराख्नु नै आफ्नो धर्म ठान्नुपर्छ । जसरी सरकारले नानाथरीका देशव्यापी काममा अल्झिराख्छ उसै गरी आकस्मिक आन्दोलनकारीले पनि वारि पारि हर्दम विभिन्न वाहना गरी नानाभाँतीका राष्ट्रिय आन्दोलनको ताँती जारी राख्नु अहो ! बुद्धिमानी हुनेछ । यसो गर्नाले निदाएको सरकार झस्किन, खस्किन वा मस्किन र व्यूँझन सक्छ । तब पो जागेपछि केही सिन्को भाँचिन्छ कि भनेर आश गर्न मिल्छ नत्र के नाकले आश गर्ने नि ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ भनेझै ।
आजसम्म भएका जति पनि आन्दोलनहरू छन् तिनमा जति पाखुरा सुर्किए पनि औँलो ठड्याउने ठाउँ छैन तथापि पहिला विष्ट्याउने र पछि ढोका देख्ने काममात्र भएको चाहिँ अवश्य हो । सरकारले महंगीको मुंग्रो जनताको थाप्लामा बजार्छ, तब असरहीन एवं कदरहीन हलुका आन्दोलनको फेहरिस्त प्रतिपक्षबाट जेनतेन तयार गरिन्छ । जसले सरकारको रौँ पनि हल्लिदैन । कोणसभा होस् वा त्रिकोणसभा, कालोपट्टि बाँधून् या रातोपट्टी, सुख्खा नारा जुलुस होस् या मसाल जुलुस, क्षणिक बत्ती निभाऊन् या बालून्, सरकारप्रमुखलाई विरोधपत्र बुझाउन या सपोटपत्र, सरकारलाई घेरून, बेरून वा हेरून, टेरून, या नटेरून मजबूत सरकारसँगको पौँठेजोरीमा यस्ता मरन्च्याँसे आन्दोलनको खासै दम हँुदैन, तथापि यस्तो आन्दोलनले महँगी घट्छ भने हुटिट्याउँले पनि सगर थाम्न कसो नसक्ला । त्यसैले अब आन्दोलनको पूर्ण ढाँचामा फेरबदल गर्नुपर्ने समय र सरकारको माग भएबमोजिम नै आकस्मिक आन्दोलन अन्तर्गत राष्ट्रव्यापी खाना पनि नखाने र नाना पनि नलाउने । रातोदिन नेपाल बन्दको बन्द गरेरै छाड्ने, संचार सुविधामा ऐठन जारी राख्ने, प्रत्येक प्रमुख जलविद्युत् आयोजनामा गएर पूर्ण रूपले चौबीसै घण्टा लोडसेडिङको ताण्डवनृत्य प्रस्तुत गर्ने र यति गर्दा पनि माग पूरा नभए अब पैदा भएका वा जन्मिएका बाल बच्चाहरू सिंहदरवारमा लगेर पूर्ण लालनपालनको लागि आजीवन जिम्मा लिन लगाउने । तदुपरान्त सरसफाई र थाङ्ना ध्वाईमै सरकारको दिन जान्छ र पो आकस्मिक आन्दोलनदेखि घिन मान्छ र सयमा सय माग पूरा गर्छ । नत्र त उही हो ‘काग कराउँदै छ पिना सुक्दैछ’ ।
गुनासो सबै जायज हुन सक्दैनन् तर आफ्नो गुनासो सबैलाई जायज लाग्छ । तर सरकारले भाउ बढाउने भन्नासाथ जनताले हुन्छ भन्नुपर्ने बाध्यता छ भने ‘भाउ घटाऊ भन्दा सरकारले हँुदैन, मिल्दैन भन्ने यो कहाँको नियम हो ? रातारात सरकारले महँगी बढायो । जनतालाई खुत्रुक्कै पा¥यो । सर्वसाधारणको पहुँचभित्रको मट्टीतेल एकाएक पहँुच बाहिर भयो । स्टोभमा भरर पारेर खाना पकाउने प्रमोसनमा जंगल र गुँइठाको शरण पर्नै पर्ने डिमोशनको बुलन्द घण्टी बज्यो । दुनियाँ नेपालीको सरकारप्रति गर्वले हौसिएको छाती नराम्ररी खुम्चियो । सायद यही रहेछ जनताले भोग्नुपर्ने भूपरिवेष्टित भूमिको नैवेद्य सारा नेपालीले ग्रहण गरेका छन् । फलतः सरकारको चिप्लो चिल्लो राहत र भरोसामा महँगीको ज्वालामुखीका लाभाहरू हरनेपालीको देहमा नाच्ने गर्छन् । त्यसैले लोकलयमा आकस्मिक आन्दोलनका नाराहरू देहायबमोजिम हुने अनुमान लगाउन सकिन्छ ।
म जनता बिचरा भन्छु, तपाइँहरूले भीरमा फलेको फर्सी भन्नू ।
म जनता बलिको बोको भन्छु, तपाइँहरू पर्सि कि नपर्सि (चट्) भन्नू ।
म कमाइ सानु भन्छु, तपाँईहरू खानु छ मानु भन्नू ।
म भरिन्न आन्द्रा भन्छु, तपाँईहरू चलेको छ गानु भन्नू ।
म कमाई छ सोझो भन्छु, तपाइँहरू खै आङमा धजो भन्नू ।
म जनता ढ्याङ्ग्रो भन्छु, तपाइँहरू सरकार चैँ गजो भन्नू ।
म बजा ढोले भन्छु, तपाइँहरू सबै ‘सै राजा सै सै’, ‘सै रानी सै सै’ भन्दै उफ्रिनू ।
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest








































