साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूकम्प मन्त्रालय चाहियो !

Nepal Telecom ad

नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित छ । तीमध्ये भूकम्प, लूकम्प र सूकम्प मुख्य तीनवटा पीडितको सङ्ख्या ठूलो छ । तपाइँ पहाडतिर उक्लनोस् त्यता भूकम्प पीडित भेट्टाउनु हुनेछ । तराईतिर झर्नोस् त्यहाँ लूकम्प पीडितको सङ्ख्या धेरै पाउनु हुनेछ । यता शहरका गल्ली चोकतिर घुम्नोस् सूकम्प पीडितहरूको सङ्ख्या भनेर त के भनेरै नसक्ने देख्नु हुनेछ । यीबाहेक नेपालमा अनेक पीडित छन्, जस्तैः पत्नीपीडित, पतिपीडित, पुत्रपीडित, सूत्रपीडित, बाउपीडित, साउपीडित, गाउँपीडित, नाउँपीडित, माउपीडित, खाउपीडित, कतै खल्तीपीडित, कतै गल्तीपीडित, अर्थपीडित, व्यर्थपीडित, राजनीतिपीडित, भातनीतिपीडित, भन्सारपीडित, संसारपीडित आदि आदि । मैले यहाँ चर्चा गर्न लागेको विषयचाहिँ सूकम्पपीडितको हो ।
शहर बजारमा जब मापसेलाई लोकतन्त्र आयो तब यो सूकम्प पनि ह्वात्तै बढ्यो । अहिले त सूकम्प नभएको कुनै गल्ली छैन भने हुन्छ । घरका भित्ताँ होस् कि बारीका कित्ताँ होस् सूकम्पले कतै ठाउँ खाली छाडेको छैन । पर्खालमा होस् कि नापी विभागको चार्खालमा होस्, सिडियो कार्यालयमा होस् वा भिडियो देखाउने ठाउँमा होस् मौका पर्दा तुक्र्याएकै छ, भट्टीभित्र पसेर सुक्र्याएकै छ । मापसे सुङ्ने यन्त्र बोकेका उङ्ने प्रहरीको आँखा छलेर होस् वा तिनको कान मलेर होस्, ठाउँ हेरी बुक्र्याएकै छ, बुक्र्याएपछि तुक्र्याउनै प¥यो । राती होस् कि दिउँसो, ढलमा होस् कि बागमतीको शुद्ध जलमा होस्, सूकम्पवालाले कुनै ठाउँ बाँकी राखेका छैनन् । पहिले पहिले दिनभरि सुत्ने रातभरि उठ्ने चीजलाई दाम्लो भन्थे, तर जमाना फेरिएछ क्यार, आजकाल त यही सूकम्प नै दाम्लाजस्ता भएका छन् । हुन त रातभरि जाग्राम बसेपछि स्वात्तै बैकुण्ठ पुगिने परम्परा भएको देशमा कतिपय सूकम्पवाला पनि सरासर बैकुण्ठ पुगे होलान् । जति पुगेका छैनन्, ती पनि भविष्यमा पुग्ने नै छन् ।

यत्रो शहर खर्लप्पै ढाकेर सूकम्प गर्नु गराउनु चानचुने कुरा होइन । यिनको त्याग, तपस्या र समर्पण हेर्दा मलाई लाग्छ भगवान् विष्णुसमेत खुसी भएर सीधै आएर बैकुण्ठै लैजान्छन् । वास्तवमा भट्टीमै टट्टी जमाउनु, सडकमा जाग्राम बसेर कोदोको झोल खलाँस गर्नु त्यति सजिलो पनि छैन । त्यसमा पनि मुखमै आएर कुकुरको तुक्र्याई सहनु चानचुने कुरा हो र ? सडकमा लमतन्न उत्तानो परेर वा धनुष्टङ्कार आकारमा शयन गरेर वा ढलको मलमा, मलको पनि जलमा मुख जोतेर रातविरात जाग्राम हुनु लरतरो मान्छेले सक्ने कुरा हो र ? अतः यिनको उधूम लगनशीलताबाट भगवान् प्रसन्न नहुने कुरै छैन । भगवान् भक्तिकै कारण लोकतन्त्रको विकाससँगै सूकम्पवालाहरू पनि द्रूतगतिमा पैmलिँदै अघि बढ्न थालेका छन् ।

सूकम्पका लागि जनस्तरबाटै विकास प्रयास नभएको होइन । शहरका विभिन्न टोलां एउटा घर छोडेर कोदाको झोल अड्डा खुलेका छन् । यस्ता अड्डामा बसेका भद्दा मानिसहरूको चालढाल, हाउभाउ बडो प्रगतिशील खालको छ । कोही अड्डामा पस्यो भने पहिले ३ बित्ता निहुरेर नमस्कार गर्छन्, पछि आँखा घुमाउँछन्, हात समाउँछन् र गाला जोडुँलाभैंm गरेर टाँस्सिन छेउमा आउँछन् । यसरी आफ्नो धस्रेमस्रे गालामा गुलाफको पूmलजस्तो नरम र मुलायम गाला त्यो पनि साहुनीले ट्याँस्स टँसाउन ल्याउँदा को मोहित हुँदैन र ? साथै नरम छालाको गाला सँगै चिनियाँ माटाको प्याला र प्याला (पेग पनि भन्छन् क्यारे) भरि सितनसहित कोदाको झोल नाकेडाँडीकै सीधामुन्तिर टक्रिँदा जो पनि खुसी हुने नै भयो । यो कोदाको झोल कति वास्नादार छ भने नवयौवनाले खुस्बु छरेर हिँड्दा जसरी मग्मगाउँछ, कस्तुरी आउँदा वनजङ्गल जस्तो जग्मगाउँछ, त्योभन्दा पनि वास्नादार मानिन्छ यो ।

फेरि यो कोदाको झोल कति भाग्यमानी छ भने, काँचको भाँडामा बस्न पाउँछ, धनी होस् कि गरीब सबैसित माया पिरती लाउँछ, बरु साधुको विरोधी होलान्, यसका सब मित्रैमित्र । भोजमा हेर्नोस्, मोजमा हेर्नोस्, खुसीमा होस् कि बेखुसीमा होस्, उन्नतिमा होस् वा अवन्नतिमा जता पनि यसको गरिमा महिमा लायक छ । यसले कसैलाई हँसाउँछ, कसैलाई रुवाउँछ, कसैलाई संसार डुलाउँछ, कसैको मन भुलाउँछ । नाउँ मात्रै कोदोको झोल हो, ठाउँ मात्रै गल्ली न हो, तर यो आलुजस्तै नपैmलिएको ठाँवै छैन । शानदार होटलको बोटलभित्र पानी जस्तै आँखाको नानी भएर बस्न पाएको छ । ठूला र आलिशान महलमा मात्र होइन गरीब गुरुवाको छाप्रोमा पनि ठाउँ पाएको छ । मेची महाकाली जता जानोस्, यसकै चल्तीफिर्ती छ । खल्ती गह्रौं हुँदा पनि चिन्ता नहुने, हलौं हुँदा पनि फरक नपर्ने, ५÷१० रुपैंयाँमा पनि पाइने, जति खाए पनि नअघाइने यसको महिमा नारदजीले पनि व्याख्यान गर्न सक्दैनन् । पढाइमा होस् वा लडाईंमा होस् वा हर्ष बढाइँमा किन नहोस् यसकै उपस्थिति छ । यो झोलले सिरकमा खोल हालिरहने झञ्झटै साफ गरिदिन्छ । यो विकासे प्रजातन्त्र र अकासे क्रान्तिकारीमा पनि उत्तिकै लोकप्रिय छ । वास्तवमै यो सूकम्पको पनि जननी मानिन्छ ।

यही गनाउने पिएर जिएकाहरू आजकाल शहरमा मात्र होइन गाउँघरमा पनि थुप्रै छन् । कोही जागिरमा रोजगारमा हुन् कि बेरोजगारमा रोजगार हुन्, लेखकमा हुन वा सेवकमा हुन्, मापसे नपसेको ठाउँ छँदैछैन भने हुन्छ । मापसेमा फसेपछि सूकम्प भइहाल्छ । जब सूकम्प शुरु हुन्छ, तब घरका भित्ता, पर्खाल, बारीका डिलदेखि सडकका खम्बासम्म खाली हुन पाउँदैन । अझ राती शहरतिर घुम्नु भो भने सूकम्प गर्नेको हूल मसाल जुलुसभैंm पाउनु हुनेछ । आपूmले लाएका कपडा पनि रङ्गाएर रङ्गीचङ्गी र झिल्मिलाकार बनेर पूरा सडकै ढाकेर निर्धक्क हिँडेका हुन्छन् । अझ दुई तीन मापसेका झडप हेर्नु भो भने कांग्रेस र कम्युनिष्टका झडपलाई बिर्साउँछ । त्यति मात्र होइन जाडो याममा पनि पशुपतिका नाङ्गा बाबाहरूको झल्को दिइरहेका हुन्छन् । यिनीहरू यति वास्नादार हुन्छन् कि छेउमा पुग्नेबित्तिकै हर्हती सेण्ट आउन थाल्छ । यो सेण्टसँगै पेण्टले पनि ठाउँ छाडिसकेको हुन्छ । जब पेण्टले ठाउँ छाड्छ, तब बीच सडकमै सूकम्प भइहाल्छ ।

सूकम्पलाई सरकारले पनि मान्यता नदिएको कहाँ हो र ! यिनकै सुविधाका लागि सरकारले बाटो पीच गर्दैन, सडकमा बत्ती राख्दैन र राखे पनि लोडसेडिङ् गरिदिन्छ । ढल हाल्दैन, हाले पनि टाल्दैन, टाले पनि मलमूत्र फाल्दैन । यहाँका सडकमा बगेका जलयुक्त मल र सूकम्पको जल छुट्ट्याउन सकिँदैन । सूकम्पवालाको सुविधाका लागि सरकारले विदेशबाट कोदो झिकाएर, सडलपडल पनि विकाएर टोलटोलमा झोल पसल खुलाएर वा खुल्न दिएर हुनसम्मको गुन लगाएको छ । यसप्रकार सूकम्पको विकास गर्ने सरकारलाई धन्यवाद नदिई रहन सकिँदैन ।

अब सूकम्पवालाका लागि सरकारले यतिका सहुलियत दिईसकेपछि पीडितका लागि पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता छ । कतिका पर्खाल रंगिएका छन् । कतिका घरका भित्ता पोतिएका छन् । कसैका ढल जोतिएका छन्, कसैका जल आउने धारा थोत्रिएका छन् । तिनको मर्मत, सम्भार मात्र सरकारले गरिदिने हो भने नेपालमा सूकम्प उद्योग राम्ररी फस्टाउन सक्थ्यो । सके त राष्ट्रिय सूकम्प उद्योग, सूकम्प मन्त्रालय वा सूकम्प विभागै खोलेर यिनको राष्ट्रिय तहमै विकास गर्ने हो भने नेपाल द्रूततर गतिमा अगाडि बढ्न सक्थ्यो । अब हेर्नोस् मन्त्रीहरू मापसे नभएका शायदै होलान्, मिटिङ्मा होस् वा सिटिङ्मा होस्, लञ्चमा होस् वा मञ्चमा होस्, झण्डा फर्पmराउँदा होस् कि डण्डा लर्पmराउँदा होस् मापसेको प्रयोग भइआएकै छ । पास्नी गर्दादेखि स्वास्नी भित्र्याउँदासम्म मापसे चलेकै छ । नोकरी गर्दा होस् कि नोकर्नी ऊ गर्दा होस् सूकम्पनी चलेकै छ । अझ मारुनी नाच्दा होस् कि तरुनी राख्दा होस्, अथवा बारुले कम्मर भाँच्दा होस् यसको प्रयोग भएकै छ । सबैभन्दा सजिलो, जस्ले पनि गर्नसक्ने, गरेर पनि मर्नसक्ने यस्तो पेशा र उद्योग संसारमा अरु केही छ ? अहँ छैन । यसबाटै अगाडि बढ्ने हो भने विश्वमा नेपालको नाउँ चर्चित भएर नआउने कुरै छैन ।

सरकार आपैंmले टोप्रोवाल कम्पनी खोल्न लाइसेन्स दिएकै छ भने टोप्रो नभएको खोक्रोलाई हेलाँ गर्नुपर्ने कारणै छैन । अब सरकारले सान्मिगलको ठाउँमा पान्मिगल, टुबोर्गस्को ठाउँमा ऊबोर्गस् पनि खोल्न दिने हो भने नेपाली अझ वीर बन्न सक्थे, सरकार पनि स्थिर हुन्थ्यो । अर्को अर्थमा यसलाई बिजुलीपानी पनि भन्ने गरिन्छ । बिजुलीपानी बुत्याएपछि घरघरै बिजुली बलिहाल्छ, यतिका हाइड्रोपावरको जरुरतै पर्दैन । लोडसेडिङ्को तालिका पनि प्रकाशित गरिरहनु पर्ने थिएन । जब यो बिजुलीपानी सरल, सहज र सर्वसुलभ हुन्छ, तब नेपाल झलमल्ल नहुने कुरै छैन । यसर्थ सरकारले मापसे राट्रिय पुरस्कार, मापसे तक्माको व्यवस्था गर्ने हो भने अझ राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । जसरी सरकारले भूकम्प पीडितलाई जस्ताको बण्डल दिएर, त्यस्ताको गद्र्धन सहितको मान मर्दन गरेको छ, त्यस्तै सूकम्पवाला र पीडितलाई भेला गरेर एउटा सूकम्प दल खोल्न दिने हो भने यसका मागलाई भागशान्ति जय नेपाल वा लाल सलाम सहितको सम्बोधन गर्ने हो भने सूकम्प अझ फस्टाउने थियो । तसर्थ स्कुल, कलेज खोलेर दुनियाँको नलेज बिगार्नुभन्दा मापसे उद्योग खोलेर आम जनतालाई बिजुलीमय बनाउन सरकारमा पाउ जोडी निधार फोडी यो बिन्तीपत्र चढाएको छु, आगे सरकारकै मर्जी… । जदौ ।
महाकवि देवकोटा आश्रम, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
एक ज्येष्ठ नागरिकको कथा

एक ज्येष्ठ नागरिकको कथा

ज्यो. रत्ननिधि रेग्मी
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x