अमर अधिकारीचार मट्याङ्ग्रा
१. कति थरी मन ?
ज्यान अनुसारको मन हुन्छ । धन अनुसारको मन हुन्छ । धनीको मन जस्तो हुन्छ, गरिबको त्यस्तो हुन्न । अनेकथरी मनमध्ये प्रमुख मन यस्ता छन् :
ब्वाँसो मन : अरूलाई माया गरेजसरी धाप मार्दै छुरा धस्न इच्छा जाग्ने ब्वाँसो मन हो ।
हाँसो मन : अरूलाई सताएर हाँस्न रुचाउने हाँसो मन हो ।
बाघे मन : खोलाको पानी धमिलो पारेको बहानामा बाघले बाख्रा खाएजसरी अरूलाई खान मन लागे बाघे मन हो ।
बाँदर मन : आफ्नो र अरूको पनि घर भत्काउने, छिमेकीको घर जलाउँदा आफ्नो पनि जल्छ भनेर हेक्का नराख्ने बाँदर मन हो ।
कम्प्युटर मन : कम्प्युटरले जसरी आफ्नो आदेश अरूले जस्ताको तस्तै मानून् भन्ने चाहना कम्प्युटर मन हो ।
सिसी मन : एक सिसी रक्सी पिएपछि मन उड्न थाल्छ, चुँडिएको चंगाजस्तो आकाशमा नाच्न थाल्छ, त्यस्तोलाई सिसी मन भन्छन् ।
ऋषि मन : माथिका सबै खाले मन मिसिएको छ भने त्यो ऋषि मन हो ।
२. पेट्रोलको विकल्प पेट्रोल
अब पेट्रोल होइन, मेट्रोल प्रयोग गरौँ । मेट्रोल मंगल ग्रहबाट ल्याउने हो । अरूले भन्दा पहिले मङ्गलबाट नेपालले मेट्रोल ल्याउने सम्भावना देखियो । किनभने, मङ्गलमा पानी भेटिएको छ । मङ्गलमा पानी छ भनेर नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले पत्ता लगाएका हुन् रे !
नेपालीले पत्ता लगाएको पानी नेपालकै हुनेमा दुईमत छैन । मङ्गलमा पानी छ भने पेट्रोल अवश्य छ । पेट्रोल छैन भने पानी कसरी भयो ?
मङ्गलमा पेट्रोल कहाँ छ ? लुजेन्द्रले चाँडो पत्ता लगाउनुपर्यो । पृथ्वीको पेट्रोल भनेजस्तै मङ्गलकोलाई चाहिँ मेट्रोल भनौँ । पानी पत्ता लगाउनेले मेट्रोल पनि पत्ता लगाउन सक्छ । त्यसपछि मङ्गलबाट आकाशै आकाश दुइटा पाइप टाँग्नुपर्छ । एउटामा पानी र अर्काेमा मेट्रोल ल्याउनुपर्छ । सरर पाइप तानेर ल्याएपछि खानेपानी र पेट्रोल दुवैको अभाव हट्नेछ । मङ्गलको पेट्रोल बेच्न पनि सकिन्छ । अनि, त्यसपछि हेरौँला, कसले हामीलाई कसरी नाकाबन्दी लगाउँछ, हामी नै नाकाबन्दी लगाइदिने हैसियतमा पुग्छौँ ।
मङ्गलको पानीको मूल र पेट्रोल खानीमा हजारौँले रोजगार पाउँछन् । नेपालीले त्यहाँ पनि जातीय आधारमा प्रदेश बाँडफाँट गरौँ भन्लान् । जातीय समानुपातिक आधारमा मात्र पृथ्वीमा पेट्रोल र पानी पठाउनुपर्छ, जात अनुसारको पाइप पृथ्वीमा लैजानुपर्छ भन्लान् । यहाँको जस्तो रडाको मङ्गलमा पनि गरे भने के होला ?
अब नेपालीले त्यस्तो रडाको गर्दैनन्, अहिले नै चेत्न लागिसके !
३. नाकाबन्दी र शिरबन्दी
नाक बन्द गर्ने क्रियालाई नाकाबन्दी र मुख बन्द गर्ने क्रियालाई मुखबन्दी भनिन्छ । आँखा चिम्लनु या देखे पनि नदेखेझैँ गर भनेर प्राप्त आदेशलाई आँखाबन्दी भनिन्छ । यस्ता बन्दीमध्ये नेपालले नाकाबन्दी नै किन भोग्नुपर्यो ? किनभने, नेपालले मुखबन्दी र आँखाबन्दी गर्न मानेन । मुखबन्दी र आँखाबन्दीको चरण सकिएपछि मात्र नाकाबन्दीको चरण सुरु भएको हो ।
तोके अनुसार मात्र बोल्नु भनेर भारतले मुखबन्दी गर्न खोज्यो तर नेपालले मानेन । नहेर्नू, नदेख्नू, देखे पनि नदेखेझैँ गर्नू भनेर आँखाबन्दी गर्न खोज्यो । यो पनि नेपालले मानेन । भने अनुसार केही नमानेपछि भारत आफैँले गर्नुपर्ने भयो । उसले गर्यो नाकाबन्दी ।
स्कुलमा शिक्षकले हल्ला नगर भनेर हपार्नुलाई पनि मुखबन्दी मान्न सकिन्छ । बालबालिकालाई धेरै टीभी नहेर भनेर रोक लगाउनु पनि आँखाबन्दी हो । यस्तैयस्तै खाले चरण पार गरेर नेपालमा आयो नाकाबन्दी । नाकाबन्दीको स्वागतमा एकखाले मानिस सीमा नाकामा धर्ना दिएर बसिरहेको प्रसङ्ग भने बेग्लै हो ।
फजुल खर्च नगर्नु भन्दै बाआमाले छोराछोरीलाई पकेट खर्च नदिनु पनि नाकाबन्दी हो । तर, नेपालले भोगेको नाकाबन्दी अलि फरक हो– नाक समाउने र घाँटी अँठ्याउने नाकाबन्दी । यस्तो पाराले बन्दी बन्दा अर्काे बन्दीचाहिँ जोगाउनुपर्छ, त्यो हो– शिरबन्दी । नाकाबन्दी भएर घोप्टो परियो भने शिरको शिरबन्दी खस्न सक्छ । शिरबन्दी खस्न दिन भयो त ? त्यसैले, नाकाबन्दी सहेर पनि शिरबन्दी जोगाउनुपर्छ ।
४. आठौँ महादेश
पृथ्वीमा सात महादेश छन्, नेपाल कुन महादेशमा पर्छ ? एसियामा । अब यसो भन्ने दिन गए । पृथ्वीमा आठ महादेश छन् । थपिएको एउटा महादेश हो– मत्स्य महादेश ! हजुर, नेपाल मत्स्य महादेशमा पर्छ । यो मत्स्य महादेश समुद्रमा आधारित छ । समुद्र नै नभएको नेपाल कसरी मत्स्य महादेशमा ? खास कुरा के भने समुद्र नभएकैले यो कुरा आएको हो ।
समुद्रमा ठूला माछाले साना माछा खान्छन्, जहाँ पायो त्यहीँ क्वाप्प पार्छन् । ठूलाबाट जोगिने सीमित उपाय मात्र सानासँग हुन्छ । समुद्रका साना माछाका शैलीमा नेपाल बाँचिरहेछ । अनि, नेपाल मत्स्य महादेशमा परेन त ? समुद्र नभए पनि समुद्र शैलीको मत्स्य जीवन भोगेर नेपालले समुद्रको नुनिलो स्वाद लिइरहेछ ।
समुद्रले घेरेको देश सात महादेशभित्र, चारैतिर अर्काे देशको जमिनले घेरेको नेपालचाहिँ आठौँ अर्थात् मत्स्य महादेश । समुद्र नभए पनि माछा बनेर सन्तोष गर्न पर्या छ । हामीलाई बल्छी हाल्न आउँछन्, बल्छीमा परेर हामी छटपटाउँछौँ । हालै भूकम्प गएर थिलथिलो परेका छौँ, राम्ररी उठ्न सकेका छैनौँ, ठूलो माछाले मौका पारिहाल्यो, हाम्रो घाँटीसम्म बल्छी छिराएको छ । धन्न ७.६ रेक्टरको मात्र गयो, आठ रेक्टरकै भूकम्प गएर थप बर्बाद भएका थियौँ भने माझीले हामीलाई कस्तो बल्छी हाल्थ्यो होला ? तैपनि, नाकाबन्दीको बल्छीचाहिँ हामीलाई आठ रेक्टरकै साबित हुँदैछ । तैपनि, सहन्छौँ, सहन नखोज्नेको हालत मत्स्य महादेशमै सीमित हुन्छ नि, होइन र ?
नेपाल, आश्विन २२, २०७२
Subscribe
Login
0 Comments
Oldest




































