सर्वज्ञ वाग्लेदशैं तिहार र जूवा !!
दशैं आयो । दशैं सँगै रमाइलो चाड तिहार पनि हुररिएर आउँछ र चाड सँगै दशा पनि । घर घरमा बली दिने टाढा टाढाबाट दशै तिहारको विदा लिएर आउने घर परिवारको छिमेकको आफन्त देश विदेशवाट आउनेको धुइरो पनि जमी रहन्छ चाहे घरमुलीसँग पैसा होस् अथवा नहोस् ।
आँगनीयाँ सयपत्री, मखमली, बाह्रमासे, गुलाफ, गोदावरीका रंगीचंगी फूलहरू तँछाड मछाड गर्दै फुलेका हुन्छन् । देश विदेशबाट आउनेको स्वागतमा तर भेटघाटमा केही क्षण कुरा गरेपछि सबै कुरा सकिन्छ बाँकी लामो समय गुजार्ने थलो त पप्लु, टवान्टीनाइन, जुटपत्ती । रमी दहरमारा लगायत किसिम किसिमका तासका खेलले टाइम पास गराउँछ भने कौडा लङ्गुर बुर्जा जस्ता खेलले जुवाडेको घर–घरमा चोक–चोकमा र दुकान–दुकानमा मेल गराउँछ ।
के गर्नु नेपालाँ राणाका पालादेखि राजाका पालासम्मा पनि सरकारले जनतालाई जुवा खेल्न छुट दिने चलनै थियो । भनौँ भने दसैंको कोजाग्रतदेखि तिहारको औँसीसम्म अनवरत जुवाको जुटले काठमाडौं मात्रै नभै गाउँ गाउँ रंगिन्थ्यो । टुँडीखेल त जुवाका खालै खालले पालो आउने टुङ्गै हुन्थेन । आज भन्दा केही दशक अघिसम्म त पैसा महंगा भए पनि जुवामा हजार हजारकादेखि लाख लाखका गड्डीले जुवाँ कपड्डी चल्थ्यो मनपरी त नभनौं ।
अहिले जमाना बदलिएको छ दशै र तिहार पनि बदलिएकै छ नब्बे प्रतिशतले मान्ने चीज नौ प्रतिशताँ झरेको छ भने नौ प्रतिशतले मान्ने नब्बे प्रतिशताँ उक्लिएको छ । भन्नु पनि कसरी नभन्नु पनि कसरी पुग्नु पनि पर्छ । दान र धर्म भनेको कर्म अनुसारको गर्नु पनि पर्छ र गराउनु पनि विदेशीलाई मनोरञ्जन गराउने नाम्माँ ठुला ठुला जुवाघरहरू खुले पनि नेपालीकै प्रवेश घेर चल्थे बाहिर साइनवोर्ड भएपछि त भइहाल्यो नि ! भित्र हेर्न त कमिसनले निर्धारण गर्ने त हो नि हैन र ? भगुवानले कानुन मान्या देशाँ ! जे होस् हाललाई ती जुवाघरहरू बन्दै भए पनि धन्दा नमान्नुस् अबको दशै र तिहारको आगमनसँगै क्यासिनो पनि लगत्तै खुल्ने खुसियालीले देश गुञ्जायमान हुनेछ ।
त्योसँगै नयाँ नाका र नयाँ भाका पनि खुल्ने त भइहाल्छ नि । किनभने यो नेपाल हो । दशैं र तिहार हाम्रो महान् चाड हो । जुवा खेल्नु र खेलाउनु हाम्रो धर्म हो । यहाँ हाम्रो धर्म शास्त्रको कुरै गर्नु हुन्छ भने पनि हेर्नुस् त महाभारतको नलपर्वमा दुई भाइको जुवाले के गर्यो ?
लागे बित्न बनेर सारथि त्यहाँ वाष्णेयजीका दिन
जूवामा नलको ति पुषकरजिले सारा जितेथे धन
हाँस्तै पुष्करले भने धन सबै हारी सक्यौ हे नल
के राख्छौ भन शेष रत्नहरूमा स्त्री छन केवल ।
तिनकै बाजि गरेर खेल यसरी ठट्टा गरेथे जब
लागी बाण समानको वचन त्यो बोल्नै सकेनन् तब
वस्त्र भूषण देहमा जति थिए सारा फुकाली दिए
यौटा वस्त्र लगाइ जान वनमा ती दम्पति निस्किए ।
रानी लिइ नल हिंडे वन जानलाई
पानी र अन्न दिन तीन बिते नखाई
खप्तै क्षुधा अनी तृष्णा तटमा नदिको
पुग्दा रहेन बल शेष ती दम्पतिको ।
सम्झेर राज्य सुख वैभव त्यो अपार
थाले बसेर त्यहीँ गर्न तिनी विचार
जान्दिन पाप फलि कुन जुनिको म कष्ट
भोग्दैछु यो बखतमा भइ दैव रुष्ट ।
यिनै कुराको योजनावद्ध तरिकाले हेनै नपर्ने गरी धेरै सम्भ्रान्त र कुलिन जुवाडेको संगताँ परेर म पनि फसेकै हो । नढाँटी भनौँ भने जुवाडे काजीको खान्दान मै पनि हुँ क्यारे । म दौराँ सिंगान पुछी सुरुवालाँ सु गर्ने उमेराँ मेरा बाउले कौडा खालाँ दौडाउँथे । कहिले मलाई दायाँ राखेर कौडा हान्थे त कहिले बहिनीलाई दाँया ! कहिले हजुरबाउले मेरा दाऊमा कौडा हान्थे त कहिले बाउले दाउ छोप्न मलाई बोक्थे, दाउमै साहुकाँ धरौटी राख्थे । हाम्रो पुर्खाको ठुलो घुमाउने घर म सानै छँदा हुँदाखाँदा हामी यस्तै दशै तिहाराँ हजुर बाउ र बाउले जूवाकै खालाँ छाला बुझाउँदा झैं बुझाएकै हुन् त्यत्रो पुर्खा सम्पत्ति उडाएकै हुन् । राजा नलले अन्तिम शिलकाँ भन्या झै ततपश्चात काजी खानदानवाट एकाएक सुकुम्वासी खानदानाँ जूवाकै कारणले झर्यौं ।
त्यो सालको दशै तिहार हाम्रा घराँ दशा बनेर आयो सबैलाई रूवायो । जुवा खालाँ बाउबाज्या पालाँ पुर्खा छाला गुम्यो जुवाडे कÞाजÞीका पालाँ । अहिले त जुवा खाल देख्दा पनि म ‘ठाम न ठहर बुढीको रहर’ भन्या उखान सम्झन्छु । सम्भ्रान्त परिवार उच्च खानदान पैसावाल, दलाल, उच्च पदस्थ कर्मचारी, पुलिस प्रशासनका प्रमुख, नेता, कार्यकर्ता, ब्यापारीदेखि अपारीसम्मका पैसा हुनेले खेल्ने खेल जाल झेल र जुवाडेकै मेलले नेपालको कानुनलाई छ्लेरै पनि ठुला ठुला खालहरू बलेकै छन् हजुर आफू विदेशाँ विदेशिए पनि दशै र तिहाराँ चाहिँ त्यतै जूवाकै खालको वरिपरी परिक्रमा आत्मा तैरिरहन्छ । मलाई लाग्छ आफू यो विदेशी भूमिआँ मरेर गए पनि यो प्राण पावेरुको हंस चाहिँ त्यतै जूवाको खालाँ जुवाडे वंशको जालाँ जाल बुनिरहन्छ । जे होस् त्यो रमाइलो दृष्यले गर्दा पनि हंस चाहिँ वंश खोज्न भन्दा पनि जुवा खालाँ अंश खोज्न आउने भयो है हजुर । एक पटकको नेपाली सधैंको नेपाली भन्ने चाहिँ हुने नै भयो मेरो लागि ।
(हाल अमेरिका रहेका लेखक वाग्लेले दुईवटा ‘जुवाघर’ हास्यव्यङ्ग्य र ‘क्यासिनो’ नामक कथासंग्रह जुवाकै बारेमा लेखेका छन् ।)
Subscribe
Login
0 Comments
Oldest







































