साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय पुच्छरवाद

Nepal Telecom ad

पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर भन्न पछि पर्दैनौँ । जब कुनै मान्छे आफ्नो बुद्धि विवेकलाई तिलाञ्जली दिएर, जबरजस्ती अर्काको निर्देशनमा निधारभरि खरानी र पहेँलपुर वस्त्रमा कमण्डलु बोकेर हिँड्न थाल्छ तब त्यसलाई हामी पुच्छरको उपमाले ढपक्क छोपिदिन्छौँ अर्थात् ओल्नो त फल्नोको पुच्छर रहेछ वा फल्नो त पल्नोको पुच्छर को पुच्छर रहेछ भन्न थाल्छौँ । जे होस् डार्विनको विकासवादी सिद्धान्तअनुसार मान्छेको पुर्खाको पुच्छर भए पनि अहिले जिरोमा झरिसकेको छ । तर पनि अब फेरि पुच्छर हुन थालेपछि पुच्छर पो पलाउने हो कि ? हुन त कति खेर देखिन्छ र, अत्याधुनिक खरो मानवको सर्वाङ्ग रूप ? जे होस् पुच्छर हुनु राम्रो हो । गिदी भरिने ठाउँमा बिर्सिएर लादी भरिए¬¬पछि कसरी टाउको हुनसक्छ र ? शरीरको पुच्छर भए त कम से कम झिंगा र लामखुट्टे धपाउन त सकिन्थ्यो नि, तर बराठ् ! हामी त छौँ पुच्छर को पनि पुच्छर ! पुच्छरको पुच्छर नभए त सातोपुत्लो नै स्वाहा हुन्छ नि । त्यसैले पुच्छरवाद हाम्रो सिद्धान्त हो । पुच्छर हुन्छ पशुको तर सिद्धान्त हुन्छ हाम्रो । कस्ता रमाइला पुच्छरवादी ? जल्दाबल्दा तस्वीरहरू हाम्रै नजर अगाडि झलमल्ल छन् । धन्य हो पुच्छरवादी सर्वेसर्वा ज्ञाताहरू !

घगडान घगडान नायककोे भरमार चर्चाको विषय छ । त्यसो त चर्चा हुनैपर्छ पुच्छरको । किनकि अहिले पुच्छरहरूको पुच्छरकै बिगबिगी छ । पुच्छर राख्ने कि हटाउने ? जनावरहरूको जस्तै झ्यापुल्ले पुच्छर ! यो स्वाभाविक छ, यो हटाएर झिगाँसिगाँ केले धपाउने र ? जनावरहरूको पुच्छरजस्तै यहाँ दल, दलका पुच्छरहरू छन् । तर पुच्छर राख्ने कि टाउको मात्र राख्ने बडो घोचपेच चलेको छ । एउटाले भन्छ, “हामी जङ्गली युगबाट अब आधुनिक युगमा प्रवेश गरिसक्यौं । त्यसैले पुच्छर हटाउनुपर्छ ।” अर्काले भन्छ, ‘‘आधुनिक युगमा प्रवेश गरेर के भो ? हाम्रो उत्पत्ति त जंगलमै भएको हो । त्यसैले पुच्छर किन हटाउने ? हटाउन्नै हुन्न ।” पुच्छर त परम्परा हो, धर्म हो, संस्कृति हो, राजनीति हो भने पुच्छर नरहे अब के रहन्छ त ? टाउको ! टाउकाले माखा, लामखुट्टे, भुसुना धपाउन सक्छ ? र्याङ्गर्याङ्गे फोहोरीहरूबाट जात जोगाउन सक्छ ! टाउकाले पुच्छर हल्लाउन सक्छ ! मतलब पुच्छरले टाउको हल्लाउने नेपालमा पुच्छरै भएन भने टाउको के ले हल्लाउने ? पुच्छर राख्यौं भने त जसोतसो खोज्दा टाउको भेटिएला नि ! पुच्छरै भएन भने त यो मन आत्मालाई चारखुट्टेले पनि कसरी चिन्लान् र ? समानताको निम्ति पनि पुच्छर राख्नैपर्छ, पुच्छर नराखे त पुर्खा–महात्म्य नै हुँदैन । पुच्छर नभए कुर्सी पनि एकैचोटिमा भुकम्पै नआएर गल्र्याम्म ढल्न सक्छ । त्यसो त देखिने, लेखिने वा सम्झिने पुच्छर मात्रै राखे पनि हुन्छ ।

पुच्छरवादीहरू भन्छन्– ‘‘इतिहासका ढड्डाहरू खोतल्दै जाँदा देश दुनियाँ खाने प्रख्यात पार्टीहरूले पुच्छरको पैयाँ बनाएनन् तर कामभन्दा पनि नामको पछाडिको चर्केपीडको यात्रा गर्नुछ भने पुच्छरको प्वाँख जोड्नैपर्छ । पुच्छर नजोडे त यहाँ समाजवादी नै कहाँ भइन्छ र ?’’ माग्ने बेला भन्नको निम्ति सजिलो होस् भनेर पनि त पुच्छर हुनैपर्छ । आहा ! बेसारे मुहारमा फुस्रो खरानीले मेकअप गरी, समाजवादी औजार कुल्चेर, चिम्टा र कमण्डलु बोकी भिक्षा माग्दै हिड्न थालिसकेपछि किन पुच्छर हटाउने ? पुँजीवादीसँग हार गुहार नगरेर अर्थात् हलो, हजुर र जदौ नभनी दान र भिक्षा पाइन्छ र ? अब आधारभूत सिद्धान्तलाई याँक्देर कमण्डलु अर्थतन्त्रको पुच्छर समाएर पौडिन थालिसकेपछि आफ्नो पुच्छर झन किन हटाउने ? बरु पुच्छर अझ लामो बनाउनुपर्छ । पार्टी आफ्नो ध्यानमा कच्रघान भए पनि पुच्छरले विश्व भ्रमण गरिरहोस्, अवसरको थुप्रोमा मस्ती ओसारिरहोस् ।

हो त नि, अझ, साँच्चिकै पुच्छर भएको भए झन् कति मजाक हुन्थ्यो भनेर कल्पनामय आनन्दमा रम्छु म । म त मान्छे भा’हुनाले पचक्कै छु । आखिर मान्छेको बिल्लामा दरिए¬¬¬ पनि अर्थात् दाह्री जुँगाको जङ्गल खौरिए पनि किन यो पुच्छर झ¥यो होला ? अरू दे’शाँ मान्छेको झरे पनि हाम्रो नझरेको भए क्या गजबको नमुना हुन्थ्यो । झरे पनि बुद्धिको होइन, उही पत्थरकै प्रयोग छ, उही ढुङ्गे युगकै ढुङ्गा र मध्ययुगकै ठोस्नेले आगो सल्काउँदै छौँ । ठूलो बुद्धिको बहान बसाले पनि उही ढुङ्गा वीरको शानमा महान् बनेका छौँ अर्थात् पुच्छरको बलमा टाउको अड्याउँछौँ, कति उत्कृष्ट ज्याम्नेस्टिक !

सायद त्यसैले होला नेपाली जिब्रोबाट पुच्छर जोडिएका उखानहरू फटाफट खसेको देखिन्छ । जस्तो कि कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै, त्यस्तै कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाउने, शरीरभन्दा पुच्छर लामो, माउसुलीको पुच्छरजस्तो, बाँदरको पुच्छर लौरो न हतियार, सिङ न पुच्छर, पुच्छरको पनि पुच्छर, मुसाको पुच्छर मजाको भाउ, नक्कली बनाऊ या मुसामारी ल्याऊजस्ता दर्जनौँ उखानहरू छन् । जो पुच्छरसँगै मितेरी गाँसेका छन् तर त्यो पुच्छर जनावरको होइन, मान्छेकै हो ।

उही साजी नामको हाम्रो बासी चरित्रलाई चित्रमय रूपमा चित्रण गर्नलाई जन्मेका छन्, यी उखानहरू । पचास किलोको टाउकाको धाक लगाए पनि आधा किलोको पुच्छरमा बाँचिरहेका छौं हामी । प्रत्येक पाइला–पाइलामा विदेशीले थुक्दैछ, हामी पुच्छरले मसार्दैछौ, मिष्ठान्न थुकको आशामा पछ्याउँदैछौं । थुक्दै फालेका डलरका विषाक्त मुठा होस् या टुक्राउँदै फालेका राजनीतिका विचारहरूको शंखनाद गर्नु नै पुच्छरवादको महान् सफलता हो । त्यसैले निर्देशकले कुर्ता पाइजामा लगाइदेओस् या नग्न वस्त्रमा सजाइदेओस् । क्षणभर हिरो बन्नुछ भने साम्यवादी न पुँजीवादी पुच्छरवादलाई पुकार्नुस् तपार्इंको राम्रै इतिहास बन्नेछ । जय हो पुच्छरवाद ! अस्तु

रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x