उत्तम विचारनाकाबन्दीको प्रहरमा
यो तातो मरुभूमिझैँ सहरमा पाकेर के हुन्छ र ?
अर्काकै मुखमात्र लौ न जहिल्यै ताकेर के हुन्छ र ?
खुट्टामा उभिनै अहो ! नसकिए हेप्नेछ जस्ले पनि
साँच्चै हो असहायमाथि जहिल्यै चेप्नेछ जस्ले पनि ।
चाहे होस् न ढिलो, छिटो तर अहो ! रोप्यो भने फल्दछ
नाकाबन्द भएर के छ र अहो ! यो ढुक्ढुकी चल्दछ ।
पुर्खाको इतिहास बोल्दछ स्वयं कैल्यै झुकेको छ र ?
यो अस्तित्व, इमानको हिमचुली पग्लेर सिद्धिन्छ र ? ।
सीमाना छ अचम्मको किनभने आकाश छुट्याउँछ
रातारात अचम्म थाह नहुने के के उछिट्याउँछ ।
पश्चात्ताप गरिन्न खै किन अझै गल्ती गरे तापनि
फैलाइन्छ सदैव हात किन हो खल्ती भरे तापनि ।
आऊ चढ्न भनी हरेक पलमा बोलाउँछन् टाकुरा
अत्याचार विरूद्ध उठ्न नसके के काम यी पाखुरा ।
के जालान् र पराइको शरणमा यी स्वाभिमानीहरू
बग्नेछन् पहिचानका लहर यी नारायणीझैँ बरु ।
गोर्खाली जति वीर विश्वभरिमा भेटिन्न कोही अरू
के सोच्छौ भन हे अझै नि जिउँदै छन् कालु पाण्डेहरू ।
उम्र्यो झार भने कतै विकृतिको आफैँ जिलाऊँ वरू
आफ्नो यो घरमा हुँदै छ झगडा आफैँ मिलाऊँ बरू ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































