साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोगी

Nepal Telecom ad

‘म त त्यस्तो होइन हजूर पीरतीले जोगी बनायो’ । पीरती गुणकारी, असल र राम्रो भनेर हुरुक्क हुनेहरू नै अघाउन्जेल पीरती पिउने वा पीरतीमा जिउन नपाएर कान चिरेर वा मन चिरेर जोगी बनेका हुन्छन् । ‘जुन जोगी आयो कानै चिरिएको’ भन्नुको मूलार्थ त्यही हुनुपर्छ । जोगीको आन्तरिक वा बाह्य समस्या, चरन वा आचरण समान प्रकृतिको भएर होला अधिकांशको जनजिब्रामा झुण्डिएको हुन्छ ‘जुन जोगी आयो …’ । तर बास्तवमा गोरखपन्थी वा सिद्धी प्राप्त गरेका पुरुष वा कँवर वा कँुवर जन्मसिद्ध जोगी अर्थात् एउटै कुटीमा ढुकुटी थुपारेर नबस्ने आजाद हिँडडुल गरिरहने यायावर अर्थात् अश्वमेघ यज्ञमा छोडिएको घोडासमान स्वतन्त्र आफूबाहेक अरूको लन्ठो र टन्टो नसहने गेरुवावस्त्रधारी शुद्ध भिखारीलाई जोगी भनिन्छ ।

आफूले चाहेजस्तो नहुँदा वा चाहेजस्तो हुँदा मान्छे जोगी बन्छ । जोगी बन्दा कोही पीरतीलाई दोष दिन्छन् त कोही हितैषीलाई दोष दिन्छन् । कोही वियोग भएर जोगी बन्छन् भने कोही संयोग भएर जोगी बन्छन् । प्यारमा बिछोडले जोगी बन्ने, मायाको तिर्खा नमेटिँदा धोका खाँदै जोगी बन्ने, चाहेको नपाएमा जोगी बन्ने, पाएको गलगिद्ध भएर जोगी बन्ने, कोही स्वास्नी छोराछोरी नभएर जोगी बन्ने त कोही केटाकेटी नपाएर जोगी बन्ने समष्टिगत रूपमा कोही जानेर जोगी बन्छन् त कोही अन्जानमै जोगी बन्छन् । करकापमा भएका जोगीभन्दा स्वेच्छाचारी जोगीमा टिकाउपन बढी हुन्छ । त्यसै भएर होला मान्छेले मान्छेलाई “तँ आजदेखि जोगी हो” भनेर कसैले कसैलाई भन्दैनन् । फलतः जबरजस्ती तयार गरिएका कृत्रिम जोगीभन्दा स्वेच्छाचारी जोगीमा टिकाउपन ज्यादा, भरपर्दो र सर्वोत्तम मानिन्छ ।

जोगी जुन खान्छ नून लगाउँदैन सुन । नून खाने जुनसुकै मान्छे पनि सुन भनेपछि हुरुक्क हुन्छन्, तर जोगीलाई सुनसँग वास्ता छैन । गुनसँगमात्र वास्ता राख्छ । “काम गर्नाका दुःखले जोगी भएँ, जोगी भाको भोलिपल्ट भोकै रहें” भन्ने उखान कण्ठ छ तापनि मुटु दह्रो बनाएर मान्छे जोगी बन्छ । अर्थात् समाजलाई एउटा पाठ सिकाउँछ ‘सानो भएर पनि जीबिकोपार्जन गर्न सकिन्छ ’। जीबिकोपार्जन प्राणीमात्रमा अपरिहार्य, चाहे जोगीलाई होस् या भोगी वा रोगीलाई । माग्ने कला, गला र झोला जोगीसँग जगेडा हुन्छ, त्यसैले त्यो स्वावलम्बी प्राणी हो, आत्मनिर्भर छ ।
दुनियाँ परनिर्भर भएर बाँचेको यी आँखाले देखेका छन् । परनिर्भर एउटा बाध्यात्मक परिस्थिति हो र मानवसमाजमा सृजित समस्या । जेहोस्, दाँत चाम नगरी माम हाम गर्ने अधिकार जोगीमा सुरक्षित हुन्छ भन्ने कुरा यी कविताबाट पनि बुझ्न सकिन्छ ।
गाँजा धतुरो मदिरा पानी
पिइदिन्छ त्यो जानी–जानी
पहेंलो गेरु कपडा बेरी
हात पसार्छ हेरी हेरी
मौका पर्दा गर्छ चलाखी

भिक्षां देही फलाकी फलाकी
खरानी घस्ने पाटीमा बस्ने
इत्रिन्न धेरै न उत्ति हाँस्ने
हिँडदैन नेता सरी ढोगी ढोगी
जोगी बेघरबार सधैँ बिजोगी ।।

कस्तो जोगमा जन्मिएको मान्छे जोगी हुन्छ वा बिजोगमा जन्मिएकाहरू पनि जोगी बन्छन् । मेरो खोपडीले ठम्याउन सकेको छैन । कमण्डलु, चिम्टा, डमरु र दशौंवटा गोजी भएको एउटै झोला र सिंगो एक मानवचोला नै जोगीको तुम्बा हो, तसर्थ मानव प्राण छउन्जेल नित्यकर्म जारी राख्छ र नित्य भोजन पनि टारी राख्छ । चाहे जोगी होस् वा भोगी, रोगी होस् या निरोगी संसारमा सब समान । ‘अह्राउनुभन्दा गर्नु छिटो, माग्नुभन्दा चोर्नु निको’ भन्ने उखानको पछि जोगीहरू लाग्थे भने साँच्चै आतङ्ककारीले भन्दा बढी सताउन सक्थे । तर जोगीहरूको धन नभए पनि मन सफा हुन्छ । त्यसैले सुका मोहरको पछि लाग्छन् । दिए लिन्छन्, नदिए हिँड्छन तर आतङ्ककारीले जस्तो भौतिक कारवाही, हत्या, हिंसा यिनको कर्मक्षेत्रको परिधिमा पर्दैन । त्यही नै असल मानव मात्रको लागि सन्तोष र सुखको विषय हो ।

सत्कर्ममा रहेदेखि ब्राह्मणको २ वर्षको छोरो पनि बाजे कहलाउँछ । बाहुनको छोरोलाई बाजे हुन बूढो भैराख्नुपर्दैन । तर आजको युग कर्मवादी युग हो । त्यसैले कर्म नै उसको जात हो । कर्मबाटै सुमार्ग र कुमार्ग भेट्टाउन सकिन्छ । कुन मार्गमा पाइला टेक्दा राम्रो हुन्छ स्वविवेकको एकल इजलासबाट सही फैसला गर्न सकियो भने हामी बिर्सिएर पनि जोगीको घरमा सन्यासी पाहुना बन्नबाट बँचिन्छ ।

हिमशिखर, अङ्क ८, ‘हेमजा साहित्य प्रतिष्ठान’, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x