मीनप्रसाद लामिछानेसाइँला, तैंले जिउन जानिनस्
ठाउँ हेरेर लुक, अवस्था बिचार गरेर झुक ।
कसैलाई देख्दा घिनलाग्यो भन्दैमा नथुक ।
हेर, कालोलाई कालो नभन्, श्यामसुन्दर भन ।
हावालाई पिठ्युँ दे, बलियो नबन् ।
तैंलाई हिँड्न सजिलो हुन्छ,
भनेर कत्ति सम्झांए मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।
१
छोरा छोरी भोकै राख, बरू आफू नखा ।
तर मालिक भेट्न जाँंदा उसको कुकुरलाई पाउरोटी लिएर जा ।
यसबाट तेरो पदोन्नति हुन्छ, तैंले सुख पाउँछस् ।
एउटै शंकरको परिक्रमा नगरेर, किन सुमेरू धाउँछस् ?
कुमारका कुरा छोड्दे, गणेशलाई गुरु मान,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।
२
आइटेकको जमाना हो, अलिकति आफूलाई माचो देखा ।
शुद्ध नेपाली नबोल, बिच बिचमा अङ्ग्रेजी मिसा ।
मिल्नु पर्दैन, आकास पाताल जोडेर गफ गर ।
छेपारोले झैं रङ्ग बदल, एउटैको भर नपर ।
यसो गर्दा तेरो नाम र दाम दुवै हुन्छ,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।
३
भूकम्पले कयौं नेपालीको घर लडायो ।
तर यसैले कत्तिको घर पनि ठड्यायो ।
अहिले नाकाबन्दीले क्यौंलाई सास्ती छ ।
यसैमा पनि कतिीलाई मस्ती छ ।
त्यसैले छोरा छोरीलाई राजनीतिमा लगा ।
टायर बाल्न र ढुङ्गा हान्न सिका बरू, क्याम्पस नपठा ।
एकदिन तिनैले देश हाँक्छन्,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।
४
जुन नेता विदेशी राजदूतका सामु पर्दा
सुरूवाल भिजाउँछन्, पसिनाले गल्छन्
अनि आफ्ना छोरा छोरीलाई
छात्रबृत्ति मिलाई दिनु प¥यो भनेर हात मल्छन्
त्यस्ता नेताले बानेश्वरमा उभिएर
राष्ट्रियताको चर्का भाषण ठोक्दैमा
अनि तैंले फेसबुकको वालमा
झण्डाले आफ्नो मुख छोप्दैमा, राष्ट्रियता जोगिँदैन,
त्यसैले उठ जाग, बेईमान नेताको पछि नलाग ।
भनेर कति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला तैंले जिउन जानिनस् ।
५
जसले जनतालाई बर्गीय मुक्तिको पाठ पढाउँछन् ।
र तिनकै भाइ छोराहरूलाई
जातीय पहिचानका नाममा लडाउँछन् ।
त्यस्ताले मौका परे तेरै पनि बली चढाउँछन् ।
र, एकदिन तेरै चिहानमाथि
आफ्नो महल ठड्याउँछन्,
त्यसैले आफ्नो विवेकलाई
दलको दाम्लोले बाँधेर नराख
तँ पनि खाँट्टी मान्छे बन्छस्,
भनेर कति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला तैंले जिउन जानिनस् ।
६
हेटौंडा– ४, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest








































