नाङ्गो यथार्थ
“तैंले र तेरी श्रीमतीले लगाउने कट्टुु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो प्रश्न सोध्यो ।
आज त अति नै गर्यो अस्तित्व पाण्डेले । मेरो सम्म त ठिकै हो । हेप्दाहेप्दै स्वास्नीका कट्टुसम्ममा पुग्यो ऊ । अतिक्रमणको पनि हद हुन्छ ।
झनक्क रिस उठ्यो । जमाएर बजियाका गाला चड्काई दिउँ जस्तो पनि लाग्यो । तर चड्काई हाल्ने आँट भने भएन । यसरी आँट नहुनुको कारण थियो मेरो तुलनामा अस्तित्व पाण्डेको विशाल काया र उसकै सौजन्यमा चल्दै गरेको यो जलपान ।
अस्तित्व पाण्डे र म शिशुकक्षादेखिका सहपाठी हौं र पनि उसको र मेरो देश एउटै हैन । उसको र मेरो नागरिकतामा लेखिएको भाषा फरक छ र पनि हामी दुबै नागरिकताका भाषा मज्जाले पढ्न लेख्न सक्छौं ।
ऊ आफू जन्मेको धर्तिमाथि गर्व गर्छ र म पनि आफ्नै भूगोलमाथि गर्व गर्छु ।
ऊ मलाई दरवान र चौकिदार भनेर चिढ्याउँछ, म उसलाई अङ्ग्रेजहरूको गुलाम भनेर उडाउँछु ।
“तेरो देश कहिल्यै कसैको गुलाम थिएन भन्छस् नि तँ, यथार्थमा तेरो देश कहिल्यै स्वतन्त्र थिएन र अहिलेसम्म पनि छैन ।” यसै भन्ने गर्छ अस्तित्व पाण्डे ।
समय अनुसारको रुप र व्यवसाय फेर्न खप्पिस छ, ऊ । त्यसैले अचेल दशगजामा जोडिएको यताको भूगोलमा सयौं ड्रमहरू राखेर इन्धनको कालो कारोवार गर्छ । अहिले यता गुड्ने सवारीसाधनले फाल्ने धूवाँ जस्तै छ उसको कारोबार । र, पनि उसँगको मेरो घनिष्टता अनुकरणीय मान्छन् छिमेकीहरू ।
“भन यार । छ, तेरो आफ्नो भन्ने केही ? तैंले शिरमा लगाएको यो टोपी छ नि, कहाँको धागोले बुनेको ? तैंले भिर्ने त्यो जनै छ नि कहाँको धागोबाट बनाएको ? तेरी स्वास्नीले लगाउने ब्रेसियर, पेटिकोटको कपडा र अनुहार लिपपोत गर्ने प्रशाधन कहाँबाट आएको ? तैंले लगाउने कोट, पाइन्ट, सर्ट र जुत्ता मोजा कहाँबाट आएको ? तेरो सर्टको बटम र पाइन्टको फस्नर कहाँबाट आएको ? तेरो शरिरमा अहिले जे जति छ नि त्यसबाट आयातित वस्तु उतार्ने हो भने तँसङ्ग के बाँकी रहन्छ ? अनि कहाँ बाँकी रहन्छ तेरो अस्मिता एवम् तैंले भट्ट्याउने गरेको स्वाभिमान ?” अस्तित्व पाण्डेले प्रश्न माथि प्रश्नहरू थपिरह्यो ।
बडो गम्भीर प्रश्न ग¥यो अस्तित्व पाण्डेले आज । मसँग उसलाई दिन मिल्ने कुनै जवाफ थिएन ।
ट्वाइलेट जान्छु भन्दै खाँदाखाँदैको आधा गिलास त्यत्तिकै छोडेर म चुपचाप बाहिर निस्केँ । सरासर घरमा आएँ । बाथरुममा पसें र ठूलो ऐनाको अगाडि उभिएर शरिरमा रहेका आयातित वस्त्र एक एक गरेर खोल्दै गएँ ।
हो ठिकै त भन्दै रहेछ, अस्तित्व पाण्डे । सर्वाङ् नाङ्गो थिएँ म र वाथरुमको पूर्ण कदको ऐना कुरीकुरी गरेर मेरो आबरुलाई जिस्क्याइरहेको थियो ।
मैले गम्भिरतापूर्वक वरिपरि हेरेँ । मेरो कथित घरका कुनै पनि वस्तु आफ्ना थिएनन् । अरु त अरु मलाई मेरो नाग्नता देखाई दिने त्यो ऐना पनि मेरो आफ्नो थिएन ।
यथार्थबोध गराइ दियो अस्तित्व पाण्डेले, आज । यथार्थमा सर्वाङ्ग नाङ्गो रहेछु म र म जस्तै रहेछ मेरो देश पनि ।
बुटवल