साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोरिया बेची कोरियातिर

Nepal Telecom ad

प्रत्येक नयाँ वर्षको पहिलो महिना बैशाख । बैशाखको घाममा विदेश जाने बगुन्द्र मान्छेहरूको बिस्कुन लागेको थियो । विदेश नगई बिहान बेलुकाको बन्दोबस्त मिलाउन नेपालीलाई निक्कै मुस्किल परेको छ ।
एकातिर बैशाखको टन्टलापुर घाम । काठमाडौंको धुलो र धुवाँले सास फेर्न नसकेर मान्छे धरमराउन थाले । अर्कोतिर भीडका भीड मान्छेहरूले मान्छेलाई नै भकुण्डो बनाएर भुक्याउन थाले । त्यसमाथि प्रहरी प्रशासनका पहरेदारहरूले टाउकाभरि टुटुल्का र पुर्पुराभरि फुलौरा त कति फलाए फलाए । हे भगवान् ! कोरिया भनेको के हो ? विष्णुको वैकुण्ठ हो कि, इन्द्रको स्वर्ग । स्वर्गको भिसा खुलेको भए यति औधी आँत मरेका र हुति हारेकाहरूको लर्को नलाग्दो हो । तर कोरिया भनेपछि त कति बौरिएर बड्केछन् बड्केछन् हिसाबै छैन ।
आखिर आफू त श्रमजीवि पत्रकार न परें । चनमोतीले चटपटे साट्न ठिक्क पारेका चप्पल प्याटप्याट पार्दै चर्को घाममा झर्को मान्दै सडकमा फड्को मार्दै थिएँ । निक्कै परबाट चर्को स्वरमा झर्को लाग्ने आवाज आयो । “ए चमेरे…, चमेरे ?” हैन, कुन चाहिँ काललाई काटेछन् यता, गाउँकै नाउँले बोलाएर पड्के लाग्यो । हे फसाद † यो बोली मेरी प्रेमिकाले सुनी भने के भन्ली ? मैले झस्केर बोली आएतिरै मुन्टो बटारें । मेरी बास्सै, तोरीबारीका तोरीलाउरे काका पो † म तीन छक्क परें । बिचरा हातमा फाइल च्यापेर लाइनमा चेपिएर राल र सिँगान भएर पो उभिएका रहेछन् है ठिङ्ग । खुच्चिङ ठान्दै र अचम्म मान्दै मैले सोधी हालें । आखिर पत्रकार न परियो । जता पनि प्रश्न पछार्ने बानी पर्या । “हैन, काका पनि लाइनमा ?” लौ हेर ! उहिले हामीलाई तपाईले नै भन्या हैन ? स्वदेशमै बस्नुपर्छ, आफ्नै देशको उन्नति गर्नुपर्छ भनेर । हैन ए काका ? कहाँ गयो हँ ? आज त्यो आदर्श र तपाईं यति लामो लाइनमा ?
मेरो प्रश्न भुइँमा पर्न नपाउँदै काका कड्किए । “छोड्दे चमेरे ती चिल्लो न पिरोका चिप्ला कुरा । मास्टरको जागिर, जति मरिमेटे पनि वर्ष दिनमा छोराछोरीलाई भोटो फेर्न सकिने हैन । कहिल्यै कन्तुरमा कन्चो जगेडा रहने हैन । मलाई पहिला त त्यस्तै लाग्थ्यो, लाटो मोरो, काकाले आफ्नै कन्पारो उक्किने गरी चड्कन लाए । के गर्नु बाठाजति सबै सुटुक्क विदेशतिर बेगिएर आउँदा ब्यागभरि रूपैयाँको बिटो ल्याए । आफू मोरो अकडो, स्वदेशकै सेवा गरौं न त भन्दाभन्दै सिद्रो सुकाई सुकियो । अरू सबैले अलिअलि गर्दै सुइँकुच्चा ठोकी सके । म एक्लो यस्सो विदेशतिर निक्लँदा देशै डुब्ने पनि त हैन नि । फेरि मैले नै यो देशको दाम्लो अँठ्याएर बसेको पनि छैन । मान्छे मुलाको त के कुरा चमेरे, भिसा पाउने भए यो देशका कुकुर, बिराला सबै हुइँकिन्थे विदेशतिर ।
तब मात्र यो चमेरेका चल्लीमा झिलिक्क बिजुली चम्किएझैं भयो । सा“च्चै भन्ने हो भने काकाको कमेन्ट ठीक हो । भिसा भइदिए गाउँका भरियादेखि सहरका सहरिया सबै पुग्थे कोरिया । एकजना भू.पू. मन्त्रीले विदेशमा व्यापार गरेर लट्टो पैसा सोहोरेको कुरो पनि यो चमेरेका चल्लीमा नगढेको होइन । यहा“ सरकारकै सचिवहरू पनि विदेशी भट्टीमा ठूला बडालाई वियर चियर्स गराउँछन् भन्ने कुरो यी दूलो पर्या कानमा नपरेको होइन । अनि यी तोरीलाउरे काका, उनको मास्टरी आदर्श त, माखाको पित्त जत्तिको न ठहरियो अरूका अगाडि । अनि किन नहुनु ठीक, काकाको कुरो सोह्रै आना ठीक ।
कोरिया त जाने, तर पैसाको पोको सम्झँदा मेरो त होसै गायव हुन्छ । बा ! “चटकेको हत्केलामा हात्ति गायव” भएजस्तो । नेपाली नाथेको आयस्रोत, सरकारी रेट चुक्ता गर्न त अंशमा आएको खोरिया खुइया गर्दै बेच्नुपर्छ । त्यसमाथि मेनपावरको रेट बोलीपिच्छे बढ्ने गर्छ । बिरक्तिएर नचल्ने ट्रलिबसका खम्बामा यसो अडेसा लागेको थिएँ । खासा मार्काको रेडियोले चाउचाउको विज्ञापन बक्तै थियो । “चाउचाउ खाउँ विदेश घुम्न जाउँ” । वा ! क्या गजव छ । त्यत्रो पैसा ओइर्याएर किन जाने विदेश ? दुईचार हजारको चाउचाउ किन्यो, पेट पनि भरिने विदेश पनि पुगिने । क्या मज्जा बहुपक्षीय समस्याको सिङ्गल समाधान ।
अब रह्यो भिसाको समयावधिको कुरो । हामी त जातैले नेपाली, अझ भन्ने हो भने विश्वभरि वीरबहादुर भनेर चिनिने गोर्खालीका सन्तान । हाम्रो इतिहास, इतिहासमै छ । अहिले आएर अझै मान बढ्दै गएर विश्वमा विलय बहादुरको नामले नवपहिचान दिन सकेका छौं हामीले । ओलम्पिक खेल्न गएका खेलाडीदेखि, गोष्ठी सेमिनार गर्न गएका राजनीतिक पेलाडीसम्म र मन्त्री भैसकेका नेतादेखि दुईचार फिलिममा नाची सकेका अभिनेता सबै गायव विदेशमा । आफू पनि कतै तालुमा आलु फलेर विदेश पुगिएछ भने भइन्छ विलय झन्झटै चट् ।
यो बुद्धि कोरिया यात्रुका “किड्नी” मा घुसे, दलालको पेट मरुभूमिको उडुसझै सुक्नेछ । नत्र भने, यो चमेरेको चिउँडो भाँचे हुन्छ, कुनै उजुरबाजुर लाग्ने छैन भनी यो मन्जुरीनामाको लिखत देशवासीमा बुझायाँ । अन्यथा भए सबैले तोड्ने कानुनअनुसार सहूँला बुझाउँला … । इति संवत्…. रोज… शुभम् ।
हालः कोटेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x