डा. गाउँले बलदेवज्ञानेन्द्रको श्रीपेच, प्रचण्डको कपाल र भाषाको वर्णविन्यास ?
गाईजात्रे हास्य–व्यङ्ग्य कार्यक्रममा दर्शकहरू चकित परे । ‘उः लाजा !’ दुई वर्षको दुधे बच्चोसमेत चिच्यायो । नारायणहिटी राजदरबार छोडेर गइसकेका ज्ञानेन्द्र फेरि राजा भए ? कतिपयले नालायक नेताहरूलाई सत्तोसरापसमेत गर्न भ्याए । एक मन त लाग्यो ‘जी शाह’का नामले गीतकार भएका ज्ञानेन्द्रलाई कलाकार हुने इच्छा लागेछ क्यारे ! गाईजात्रे राजनीतिका चर्चित पात्रमध्ये उनी पनि एक हुन् । कहाँ पाएर राजा ज्ञानेन्द्र हुनु ? ती त मनोज गजुरेल पो रहेछन् । हास्य–व्यङ्ग्य कलाकार मनोज गजुरेल । मनोज गजुरेललाई म राम्ररी चिन्छु । उनी पनि मलाई चिने झैँ गर्थे । श्रीपेच लाएर राजा भएपछि हाम्रो भेट भएको छैन । दोस्रो जन आन्दोलनको सन्दर्भमा हुँदा नैकापको एउटा कार्यक्रममा मेरो कविता र उनको हास्यव्यङ्ग्य प्रस्तुत भएको थियो । तिनै मनोज राजा भए । श्रीपेच लाएपछि काटीकुटी भूतपूर्व राजा ज्ञानेन्द्र !
मनोज राजा भएछन् ! यिनलाई पनि राजा हुने रहर रहेछ । हाम्रो गुनासो यस्तै थियो । अर्को वर्ष पनि गाईजात्रा हेर्न गयौँ । बच्चाहरू एक स्वरमा चिच्याए ‘उः प्रचण्ड !, प्रचण्ड!!’ । हो न हो ठ्याक्कै प्रचण्ड ! एक मनले सोच्यो, प्रचण्डलाई गाईजात्रे प्रमुख अतिथि बनाउन लागेछन् क्यारे ! हाम्रा नेताहरूलाई गाईजात्राको अभनय गर्न खासै असजिलो पनि छैन । प्रचण्ड नेताबाट अभिनेता भएछन् ? रेखा थापाको सङ्गतले पनि होला । दर्शकहरू आआफ्नै अनुमानमा व्यस्त थिए । मैले आयोजकमध्येका एक जनालाई यसो बोलाएर सोधेँ । तपाईंहरूको कार्यक्रममा प्रचण्ड किन? तिनले सुटुक्क सुनाए, “प्रचण्ड होइनन् । यी मनोज गजुरेल हुन् ।” ती विश्वासिलै मान्छे हुन्, तै पनि मैले तिनीप्रति शङ्का गर्नै पर्यो । उद्घोषकले ‘उहाँ हुनुहुन्थ्यो, मनोज गजुरेल !’ नभनुन्जेल कार्यक्रमभरि नै मैले मनोजमा प्रचण्ड मात्रै देखेँ, दर्शकहरू सबैले मैले देखेकै कुरा देखे । ‘राजा बनेका मनोज साझा रहेछन् । हाम्रो मनमा कसरी पसेछन्, कुन्नि? उनी त उनी गणतन्त्रवादी नेता प्रचण्ड भइसकेछन् ।’ एक जना उग्र गणतन्त्रवादीले टिप्पणी गरे ।
पाठक महानुभावहरू, श्रीपेच पाएका थिएनन् भने मनोज गजुरेललाई राजा हुन निकै हम्मे हुने थियो । मेरो जस्तो गुन्द्रुके कपाल भएको भए तिनी प्रचण्ड पनि हुन पाउने थिएनन् ।
प्रचण्डलाई नचिने पनि म तिनका किसान बाबुलाई निकै राम्रोसँग चिन्थेँ । बुढा बा उनका साहिँला जुवाइँ भक्तिराम दाइसँग मेरो घरमा आउँदा छोराको प्रशंसा गाउँथे । प्रचण्डले बाबुको अनादर कहिल्यै गरेनन् । तिनका भोले बाबा फर्किएर फेरि कहिल्यै आउने छैनन् । जाबो कपाल त एकदुई महिनाभित्रैमा पलाएर पहिलेकै अवस्थामा आउन सक्थ्यो नि ! तैपनि प्रचण्डले कपाल खौरिएनन् । यदि कसैले उनको कपाल खौरिदिएको थियो भने प्रचण्डलाई राजा ज्ञानेन्द्रलाई शिरपेच फुक्लिएको दिनभन्दा बढ्तै शोक पर्ने थियो । वर्ण विन्यास सामान्य मानिसको बुझाइमा राजा ज्ञानेन्द्रको श्रीपेच र प्रचण्डको कपाल कटाइजस्तै भाषाको बाह्य परिचय हो । भाषासँगको पहिलो चिनापर्ची वर्णविन्यासबाट थालनी हुन्छ । सुझो न बुझोसँग नेपाली वर्णविन्यासलाई क्षणिक लहड वा सनकको विषय बनाउने कथित सर्वज्ञमध्येका केहीले नामै लेख्न नजानेको प्रसङ्ग मैले सप्रमाण प्रस्तुत गरिसकेको छु । वर्णविन्यासविद्हरूको सर्वसम्मतिविना गरिएका कुनै पनि परिवर्तन मान्य हुने छैन ।
नैकाप, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































