साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेख नपठाउने निर्णय गरेँ !

Nepal Telecom ad

सर्वप्रथम त म तुलिगाँडालाई लेखक ठानेर फोन हानेर लेख माग्नु भएकोमा भुइँ न भाँडामा भएको छु र फुलेर नाक घिरौँला होइन लौका जत्रो भएको छ । मौकामा भएको यो लौका जत्रो नाक राख्न पनि एउटा अर्थ न बर्थको लेख लेखेर पठाउनै पर्ने बाध्यता छ । म सानै छँदा मेरा बाउले हो कि दाजैले ‘माग्नेलाई दिनु’ भन्नु भएको अहिलेसम्म सम्झिन्छु र त्यही भनाइको सम्मानखातिर आङ कनाइकनाई भए पनि एउटा लेख लेखेर नदिई धर छैन । मजस्तो लङ्गटलाई लेख मागेर धर्मसङ्कटमा पार्नु भएकाले पनि शब्द थोपरेर नाम मात्रको लेख नलेखी सुख छैन । तर यो सुखको कुरो गर्दा कहाँ, कसलाई, कहिले पो सुख भएको छ र ! मलाई हाइसञ्चो छ, म सुखैसुखमा छु वा मलाई मनग्गे सुखशयल छ भनेर आजसम्म कसैले भनेको सुनेको छुइँन र नै भनेको हुँ यहाँ कसैलाई सुख छैन । दम्पत्तिले पुगे पनि मान्छेले सम्पत्तिले पुग्यो नभनेजस्तै ओइरो सुख भए पनि सधैँ आँखाको डिलैमा आँशुको पहिरो नजाने मान्छे मैले भेटेकै छैन । त्यही भएर पनि हरेक मान्छे दुःखी छ र म पनि दुःखी छु । त्यसमाथि पनि लेख मागेकाले म झनै शनैशनै दुःखी भएको छु ।
म जाबालाई कावा खाएर हावातालको लेख लेख्छ भन्ने जान्दाजान्दै लेख माग्ने तपाईं मभन्दा धेरै विद्वान्, धेरै जान्ने र धेरै ज्ञानी मान्छे पक्कै होइन भन्ने मैले ठानेको छु । यहाँ दिनमा आधा महाकाव्य, एउटा उपन्यास, दुईवटा खण्डकाव्य, पाँचवटा कथा, बाह्रवटा समालोचना, पन्द्रवटा निबन्ध, पच्चिसवटा कविता, पैँतिसवटा गीत, पैँतालिसवटा गजलादि लेख्ने लेखक हुँदाहुँदै मजस्तो अल्छीको राजालाई लेख मागेर हप्तौँ कुराउँदा पनि चुइँक्क गाली नगर्ने तपाइँ सम्पादकै होइन भन्ने मेरो ठम्याइ छ । त्यस्ता त्यस्ता हस्तीहरूसँग लेख नमागेर म हरीलठ्ठकलाई लेख माग्नुको कुनै तुक छैन भन्ने मैले निष्कर्ष निकालेको छु । मागीहालेपछि दिइहाल्न सक्ने मेरो लेखकीय हैसियत नभएकाले पनि मैले कनीकुथी महिना दिनसम्ममा त एउटा लेख पठाउँने छु भन्दा पनि तपाइँ माइत गएकी स्वास्नी पर्खेजस्तो व्यग्रताले पर्खिनुहुन्छ भने मेरो नभएर तपाइँकै दोष हो । नाम न ओहोदाका मान्छेलाई लेख पठाउन गर्नुभएको दुस्साहसको म कदर मात्र होइन इज्जत समेत गर्दछु । तर उत्तरआधुनिक जमानामा नेतादेखि अभिनेतासम्म लेखक भएको बेला मजस्तो कुरा थोपरुवालाई लेखकको सम्मान दिन तपाईं लगायतलाई कुन आइतबार कुर्नु पर्छ र !
ढाँटेर लेख्ने, छलेर लेख्ने, बङ्ग्याएर लेख्ने, नङ्ग्याएर लेख्ने, चोरेर लेख्ने, दशतिरका दश दर्जन कृतिभित्र चहारेर बीचबीचबाट शब्द निकाल्ने निच पो त लेखक हुन् । वाक्य चोर्ने, हरफ चोर्ने, पेजै चोर्ने पो लेखक हुन् । गजलै चोर्ने, गीतै चोर्ने, कवितै चोर्ने, निबन्धै चोर्ने, कथै चोर्ने, उपन्यासै चोर्ने पो असली लेखक हुन् । पुस्तकै चोर्ने र लेखकको नाम मेटाएर आफ्नो नाम लेख्ने अनि पुनप्र्रकाशन गर्ने पो वास्तवमा लेखक हुन् । मजस्तो साधुलाई घगडान लेखकको पगरी गुथाएर अरु स्वनामधन्य लेखकहरूलाई थाङ्नामा सुताएर मलाई लेख माग्ने तपाइँको प्रकाशनको हैसियत र म स्वयम्को हैसियत बराबर हो कि क्या हो ? त्यस्ता त्यस्ता लेखकलाई लेख लेखेवापत मोटो दाम दिएदेखि तिनले नामैसमेत बेचिदिने थिए भन्ने मेरो भनाइ छ । तपाईंजस्तो धनवान् मान्छेले मजस्ता मनवान् मान्छेलाई लेख मागेर नामैसमेतको कृति बेचेर दामै कमाउने लेखकहरूप्रति अन्याय गर्नु भो । त्यस्ता लेखकको पेटमा लात हानेर प्रकाशन गरेको कुन कृतिले के पो ख्याँसेको छ र !
अहिले कुनै पनि पुरस्कारले सुसज्जित नभएको पुस्तक लज्जित भएर तिरस्कृत हुने बस्तुसत्यलाई ध्यानमा राखेर पहिले नै तपाईंले ससुराली वा माओलीतिरका कसैको नाममा कुनै पुरस्कार गुठीको स्थापना गर्ने समय हो । बरु म दुईकौडीको लेखक भनौदाको कुरो मान्नुहुन्छ भने आफैँले छद्म नाम राखेर एउटा पुरस्कार संस्थानको स्थापना गर्नुहोस् । अथवा कुनै पूर्व स्थापित पुरस्कार समितिलाई अर्कैको हातबाट आर्थिक सहयोग गर्नुहोस् । वा साम, दाम, दण्ड, भेदका कुनै पनि नीति अख्तियार गरेर हुन्छ कि प्यार गरेर हुन्छ पुस्तक प्रकाशन लगत्तै तपाईंकै पुस्तकलाई पुरस्कृत हुने चाँजोपाँजो मिलाउनुहोस् । यसो गर्नका लागि केही अग्रीम शर्त राख्न सक्नुहुन्छ । पुरस्कृत भइसकेपछि पुरस्कारको राशी तिनै संस्थानलाई फिर्ता गर्ने सर्त । आफ्नै नातेदारको कुनै अनाथ आश्रम वा स्वउपकारी संस्थालाई रकम हस्तान्तरणको सम्झौता गर्नुहोस् र सुटुक्क गएर फिर्ता लिएर आउनुहोस् । यसो गरेपछि नाम पनि आफ्नै र दाम पनि आफैँसँग रहन्छ । भोलिपल्ट अखबारले समाजसेवीको पगरी पनि तपाईंकै शिरमा लाइदिन्छ । लेखक, सम्पादक हुँदै तपाईं समाजसेवी हुन पुग्नुहुनेछ । यत्तिको नाम कमाएपछि तपाईंलाई गोष्ठी, सेमिनार, अन्तकृया, प्रतिकृया, विमोचन, उद्घाटन, चियापान, सुरादेखि सुन्दरीपानसम्मका अर्थपूर्ण कार्यक्रममा निम्तो आउनेछ । यो खर्चिलो समयमा हरेक दिन खान बोलाउनेको लर्को लाग्नुले तपाईंको राशन जोगिने कुरामा दुई मत छैन । तर यस्ता कार्यक्रममा जाने झर्को मान्नु भएन भने तपाइँको मासिक खाना खर्चको बजेट बँच्दछ र त्यो रकमलाई वर्षभरि जम्मा गरेर फेरि अर्को छद्म नाम राखेर पुरस्कार प्रायोजन समिति बनाएर आफ्नै आगामी पुस्तकलाई पुरस्कृत गर्न सक्नुहुनेछ । यत्ति भएपछि कृति पनि फैलियो र इज्जत पनि झाङ्गियो । यस्तो फाइदा हुने काइदाको काम छोडेर तपाईं लेख माग्दै नहिँड्नुहोस् भन्ने मेरो सुझाव छ ।
मजस्तो कुनै रेडियो, टेलिभिजन वा अखबारसँग नाताको नेतीसम्म नगाँसिएको विशुद्ध खेलकलाई लेखक भनाएर, लेखक बनाएर लेख प्रकाशित गर्दा तपाईंलाई बेफाइदै बेफाइदा छ । रेडियोकर्मीका लेख छाप्नु भयो भने तिनले तपाईं र तपाईंको पुस्तकको गुणगान गाउँनेछन् । टेलिभिजनकर्मीका लेख छाप्नु भो भने तिनले तपाईंलाई र तपाईंको पुस्तकलाई देखाउनेछन् । छापाखाना र अखबारकर्मीका लेख छाप्नु भो भने तपाईं र तपाईंको पुस्तकको समालोचना र विज्ञापन छाप्नेछन् । यी र यस्ता दिग्गजहरूका लेख छाप्न छोडेर मजस्ता तन्नमको लेख छाप्छु भनेर तपाईं हिँड्नुले मगज बिग्रिएको र गिदी थिग्रिएको शङ्का लाग्न थालेको छ । रातोरात चर्चाको शिखरमा पुर्याउने महान् लेखकहरूलाई बाइपास गरेर तपाईंले स्वयमको समय, शक्ति र सम्पत्तिको नास गर्दै हुनुहुन्छ भन्ने मलाई लागेको छ । यही लाग्नुले पनि आजका मितिसम्म तपाईंले मागेको लेख पठाउनु त परै जाओस् लेख्नसम्म सकेको छैन । लेखिहालेँ भने पनि मैले लेखेको लेखको कुनै अर्थ रहने छैन र उल्टै तपाईंलाई फलानाको लेख किन छापेको भनेर आक्षेप आउने निश्चित छ । बेकारमा किन मेरा कारण तपाईं टाउको दुखाउनुहुन्छ ? मैले लेखै नपठाएपछि न तपाईंको टाउको दुख्छ, न त मेरो र न त मेरो बाउको दुख्छ । त्यसैले मैले लेख नपठाउने निर्णय गरेँ । फुटे मेरै पित्त फुटोस्, तपाईं चित्त नदुखाउनु होला ।
दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x