सुलसुलेझमकलाई बाङ्देल पुरस्कार
धनकुटा २५ पुस । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह बाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । बाङ्देलको ९१ औँ जन्म जयन्तीको अवसरमा शनिवार धनकुटामा एक कार्यक्रमको अयोजना गरी भारतको कोलकत्ता स्थित लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधान र पुनरावेदन अदालत धनकुटाका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले १० हजार १ रुपैया नगद राशिको उक्त पुरस्कार घिमिरेलाई प्रदान गरेका थिए ।
मदन पुरस्कार बिजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्ता देखि प्रतिष्ठानको टोली धनकुटा आईपुगेको हो । यसअघि उक्त पुरस्कार दार्जि्लिंगका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो । पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तब्य मार्फत साहित्यमा आफुले सबैभन्दा मन पराएका थोरै ब्यक्ति मध्येका बाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको उल्लेख गरिन् । नेपाल र भारतको संस्कृति, कला र साहित्यको सुसम्बन्ध कायम रहँदै आएकाले यसलाई जीवन्त राख्न सबै जुट्नु पर्नेमा उनको जोड थियो । धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएकी साहित्यकार घिमिरे सारीरिक रुपमा अशक्त भएर पनि खुट्टाको सहायताले साहित्य सृजना गर्दै आएकी छन् । बोल्न समेत नसक्ने घिमिरेले कार्यक्रममा पनि खुट्टालेनै मन्तब्य लेखेर पढ्न लगाएकी थिइन् ।
कार्यक्रममा लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रधानले भारतको कलकत्ता र नेपाललाई साहित्यिक कर्मथलो बनाएका बाङ्देलको स्मृतिमा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष नेपाल र भारतमा साहित्य र कला क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउँनेहरूलाई प्रदान गर्दै लगिने बताए । नेपाल र भारतको साहित्यिक पुलको रुपमा संस्थाले साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार धर्मराज बराल, सह–सचिव संजिव गुरुङ् लगायतले घिमिरेलाई सस्थाले पुरस्कृत गर्न पाउँदा खुसी लागेको धारणा ब्यक्त गरे ।
–रबिन कटेल
Subscribe
Login
0 Comments
Oldest











































