सुलसुलेअसरफको फाँसीको सजाय विरूद्ध
काठमाडौं । ९ माघ, ०७२ । कवि तथा चित्रकार फयादलाई साउदी अरब सरकारले मृत्युदण्ड सुनाएपछि नेपाली कविहरू त्यसको विपक्षमा उत्रिएका छन् । यही अभियान अन्तर्गत शनिबार शिल्पी थिएटरमा कविहरूले कविता सुनाए, चित्रकारहरूले चित्र बनाए ।
चर्चित कविहरू श्यामल, विमल निभा, राजेन्द्र पराजुली, हरि अधिकारी, गिता त्रिपाठी, ईश्वर कँडेललगायतले कार्यक्रममा कविता सुनाएका थिए । कवि श्यामलले कार्यक्रममा असरफमाथि मृत्युदण्ड सुनाउँदा नेपालमा बस्ने सबै कविको मन रोएको बताए । उनले विचार कविता सुनाउँदै भने, ‘यसको विरुद्धमा हामी लाग्नुपर्छ, अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ ।’ त्यस्तै, कवि विमल निभाले कवितामार्फत् नेपालको वर्तमान अवस्थालाई व्यङ्ग्यमात्र गरेनन्, साउदी अरब सरकारलाई चेतावनी पनि दिए ।
कवि हरि अधिकारीले कवितामार्फत् अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरे । त्यस्तै, कवि राजेन्द्र पराजुलीले पनि साउदी सरकारका नाममा कविता वाचन गरे । अन्य कविहरू मानिस, सौरभ कार्की, सुरज सुवेदी, गरिमा लुइँटेलले पनि कवितामार्फत् असरफको पक्षमा कुरा गरे ।
कार्यक्रमका अगुवा शिखर घिमिरेले मानवीयताका पक्षमा विश्वका सबै एक हुनुपर्ने बताए । अर्का अगुवा अज्ञात लुइँटेलले यो कार्यक्रमलाई भिडियोमार्फत् संसारभर फैलाउने जानकारी दिए ।
कार्यक्रममा उपकार घमाल, जुजुकाजी श्रेष्ठ, मन गुरुङ, जया शर्मा, उमा खड्का, सुमन गिरी, विकु कुमार थापा, ओमप्रकाश गुरुङ, काजी राना, रत्न शाक्यले पेन्टिङ मार्फत् असरफलाई सुनाइएको मृत्युदण्डको विपक्षमा पेन्टिङ गरेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































