साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रोता माझ कवि सङ्गीत श्रोता

Nepal Telecom ad

कवित सङ्गीत श्रोताले शनिबार चिवनमा कविताका स्रोतालाई भेटे । अखिल नेपाल लेखक सङ्घ, चितवनले कवि सङ्गीतलाई चितवनका कविता स्रोतासँग भेट गराएको हो । भेटमा कवि सङ्गीतले आफ्ना १७ कविता सुनाए ।
चितवनस्थित नेपाल ‘पोलिटेक्निक इन्स्टिच्युट’को भवनमा युवा कवि सङ्गीतले ‘समय सन्नाटा’ कविता वाचन गर्न सुरु गरे–
चिच्याउनुहोस् र भन्नुहोस्–
कोर्रा खाइरहेका बन्दी चिच्याउनै छाड्यो भने के हुन्छ ?
च्याँट्ठिनुहोस् र भन्नुहोस्–
भोकभोकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?
कवितामार्फत देशमा भइरहेका विभिन्न खाले अन्याय र विभेदविरुद्ध मौन बस्ने परिपाटीमाथि सङ्गीतले कडा प्रहार गरे ।

कविता सुन्नेको भिडभाड देखेपछि दर्जन कविता पढ्न पुगेका कवि सङ्गीतले १७ कविता वाचन गरेका थिए । जताततै देखिने पुरुषको उपस्थिति विरुद्ध पनि उनले ‘महिलाहरू कहाँ छन् ?’ शीर्षकको कवितामार्फत बोले । प्रमुख अतिथिको आसनदेखि राष्ट्रपतिको कार्यालयसम्म पुरुषकै दबदबा रहेको कुरा उनको कविताले बोलिरहेको थियो । कविताको अन्तिम हरफमा उनले सोधे–
म पनि हुँ एउटा पुरुष युवा
बैंँससहितकोे वयस्क ज्यान
अरे हो कविज्यू !
मलाई बताइदिनुस्–
यो देशमा महिलाहरू कहाँ छन् ?

उनले आमाले दिएको आर्शीवचनलाई पनि ‘हतारहतारमा यात्रा’कवितामार्फत सम्झिए–
म आज यहाँ आइपुगेको छु, यो सहरमा
हतार–हतारमा
र, यति बेला पनि झल्झली सम्झिरहेको छु मैले
आमाको आशीर्वचन
‘हतारमा यात्रा गर्दा धेरै नहडबडाउनू कान्छा !’

सङ्गीतको ‘सुई’ कविताले आजको मान्छे र परिवेशले भोगेको पुँजीवाद र बजारको कठोर यन्त्रणालाई व्यक्त गरेको थियो ।
प्रिय सुनकला ! तिमीले चिन्यौ ?
को हो यो युगलाई सुई हान्दै हिंड्ने डाक्टर ?
र कसले गरिरहेछ यहाँ
उज्यालोको खुद्रा व्यापार ?
के त्यो एउटै मान्छे हो ?

कार्यक्रममा सङ्गीतले ‘हेडसर–वसन्ती’, ‘मुस्कान’, ‘समय सन्नाटा’, ‘कनेक्सन’, ‘अगने कामी’, ‘झोला’, ‘इच्छुकको इमेल’, ‘हतारहतारमा यात्रा’, ‘अभि सुवेदी– एक देब्रे ढल्कुवा उपसर्ग’, ‘मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरू’ आदि शीर्षकका कविता पनि सुनाएका थिए । गायन तथा सङ्गीत सिर्जनामा समेत राम्रो दख्खल राख्ने उनले सहभागीको आग्रहपछि ‘मै उडी जाने काँ’ बोलको गीत गाएर माहोललाई झंकारयुक्त बनाएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x