केही होलाजस्तो छ !
राजेन्द्र पनि यसपालि हाँसे । हुन त उनी पहिले पहिले पनि नहाँस्ने त होइनन् तर मन्त्री भएका बेला मात्रै । अरू बेला उनी पटक्कै हाँस्दैनथे । यसपालि मन्त्री नभएकै बेला पनि राजेन्द्र हाँसे । अबचाहिँ देशमा केही होलाजस्तो छ ।
ऊ बेला मन्त्री पद हिँडेपछि तराईतिर हिँडेका राजेन्द्र उतै अड्डा जमाएर आन्दोलनमा लागेका हुन् । त्यहाँदेखि पूरै अस्ताएको उनको हाँसो यसपालि दिल्लीबाट फर्केर काठमाडौँ पसेर बालुवाटार छिरेपछि अचानक उदायो । राजेन्द्रजी हाँस्नु मात्रै पनि यो देशका लागि ठूलो योगदान हुन सक्छ भनेर जानिफकारहरू बताउँछन् ।
उनी लामो समयदेखि गम्भीर मुद्रामा कहिले रक्सौल, कहिले नेपालगन्ज, कहिले भैरहवा त कहिले जोगबनी नाकामा पलेँटी कस्थे र धर्नामा बस्थे । उनी काठमाडौँलाई रौँ बराबर पनि गन्दैनथे, पहाडतिर फर्केर पनि हेर्दैनथे । त्यसमा पनि केपी ओलीजी प्रधानमन्त्री भएपछि त उनी पूरै गर्धन फुलाएर तल्लापट्टि फर्केर बसेका थिए । ओलीसँग यिनको सम्बन्ध आँखो र खुर्सानी भनेजस्तै थियो । यिनीहरूबीच भनाभन भएपछि ओलीले माफी नमागेसम्म नबोल्ने कसमै खाएका थिए राजेन्द्रले । आखिर यिनी दुनियाँलाई हँसाउने प्रधानमन्त्री ओलीका फेला परी छाडे ।
विगत चार महिनामा राजेन्द्रले मुलुकका लागि ठूलो योगदान गरे । उनले मधेस आन्दोलनमा मुख्य भूमिका खेले । जनतालाई संघर्षमा उतारे । संघर्षमा सहिद हुनेलाई सरकारले दिनेभन्दा पाँच गुना बढी रकम दिउँला भनेर थुप्रै युवाहरूको रगत उमालेर मधेस आन्दोलनमा होम्न सफल भए । सिंगै मुलुकलाई नाकाबन्दीमा पारेर सरकार र जनताका आँखा उघारिदिए । मन्त्रीहरूलाई, विभिन्न दलका नेतालाई कहिले कता कहिले कता दौडाए । हस्याङ र फस्याङ पारिदिए । प्रधानमन्त्री र मन्त्रीहरूलाई संसारैभरि हारगुहार गर्दै दगुर्न बाध्य बनाए । राजेन्द्रजी एक्लै यताको नाका खुकुलो हुँदा यतै पुगेर उताको नाका खुकुलो हुँदा उतै कुदेर पलेँटी बसेर नाका कसेर सरकारलाई, जनतालाई, व्यापारीलाई सबैलाई आच्छु आच्छु पार्न सफल भए । मुलुकमा नयाँ परिवर्तनको तरंग ल्याए । देशलाई आत्मनिर्भरताको बाटोमा लाग्न प्रेरणा दिए । सरकारलाई दाउरा चिराए । झोलीतुम्बी भिराए । काठमाडौँदेखि दिल्ली, बेइजिङदेखि वासिङ्टनसम्मै उनको प्रभाव विस्तार भयो ।
राजेन्द्रजीको यही प्रभावबाट आत्तिएर त्यसलाई निस्तेज पार्न सरकारले उनका विरुद्ध षड्यन्त्र र्गयो । उनको टाउकामै लठ्ठी बर्जायो । जोगबनीमा उनलाई टाउकामा हानेपछि नै उनको त्यो जुझारूपनमा शिथिलता आयो । उनको मस्तिष्क उल्टो चल्न थाल्यो । नाकामा घाइते भएपछि कार्यकर्ताहरूले उतै जोगबनीतिर उपचार गर्न लान खोज्दा उनी मानेनन् । विराटनगर आएर उपचार गरे ।
महिनौँदेखि भात खान पनि रक्सौल जाने गरेका उनी विराटनगरबाट कार्यकर्ताले दिल्ली जाउँ भन्दा नमानेर अझै उत्तरतिर लागे, धरान अस्पताल भर्ना भए । त्यहीँबाट थाहा भयो, उनी बदलिए । सरकारको षड्यन्त्र सफल भयो । हुँदा हुँदा एक वर्षदेखि बोलचालै बन्द गरेर बसेका सबैभन्दा ठूला शत्रु एमालेका अध्यक्ष अनि प्रधानमन्त्री ओलीसँग उनी आफैँ अग्रसर भएर वार्ता गर्न पुगे । केपीजी र राजेन्द्रजीबीच हाँसी हाँसी घन्टौँ गफ भएको देख्नेहरू भन्दैछन्, देशमा अब केही नयाँ हुन्छ । अर्थोक केही नभए पनि सरकारमा थप केही उपप्रधानमन्त्रीहरूको जन्म त हुन्छ, हुन्छ । राजेन्द्रजीको हाँसोले यही भन्छ ।
नेपाल, माघ १४, २०७२