साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का

Nepal Telecom ad

वार्ताका प्रकार

आन्दोलन तात्नासाथ हुने वार्तालाई ‘मुड्की वार्ता’ भनिन्छ । किनभने, यो बेला आन्दोलनरत पक्षको फुर्तीफार्ती यति चर्काे हुन्छ कि उसले मुड्किको भाषा मात्र बोल्छ । आन्दोलन चर्कंदै जाँदा त्यसकै बलमा आकाशको तारा झार्छु भन्ने भ्रम पर्छ र उसले वार्ताको आवश्यकता देख्दैन र तर्कन्छ । तैपनि, अलिअलि वार्ता नगरी हुन्न । यस्तो बेलाको वार्तालाई ‘तर्की वार्ता’ भनिन्छ ।

तर्की वार्तापछि आउने ‘चम्की वार्ता’को चरणलाई कतिपयले जालझेल वार्ता पनि भन्ने गरेका छन् । यो बेला एकथरीले आजै सहमति हुने हावा गफ फैलाउँछन्, अर्काथरीले खण्डन गर्छन् । वार्ता धेरै चम्किएको यो चरणमा दुनियाँलाई छक्याउने र एकअर्कालाई ढाँट्ने काम मात्र हुन्छ ।

चम्की वार्ता सकिएपछि आउने ‘घुर्की वार्ता’को चरणमा दुवै पक्षले घुर्की लाउँछन् । एउटाले अर्काेलाई घँुडा टेकाउन गाह्रो हुन्छ, थपक्क वार्तामा बस्न पनि लाज हुन्छ । नयाँ दुलहा–दुलहीले जसरी लजाउँछन्, घुर्की लगाउँछन् । तैपनि, अलिअलि वार्ता हुन्छ ।

घुर्की वार्ताबाट सहमति हुने सम्भावना हुन्छ । सहमति नभएमा ‘धम्की वार्ता’को चरण सुरु हुन्छ । यतिबेला आन्दोलनकारी निकै गलेको र सरकार पनि लत्रेको हुन्छ । एकले अर्काेलाई पछार्न तेस्रो पक्षको हारगुहार लाउँदा जसले आडभरोस पाउँछ, उसले धम्कीको भाषा बोल्छ ।
अब भन्नूस् त देश कुन वार्ताको चरणमा छ ?

लालुको पाठ

आए ! लालु आए !!
घन्टौँ पर्खेपछि साक्षात् लालु आउँछन् । आँगनमा पुर्पुरोमा हात राखेर टुक्रुक्क बसेका पाँच जना छिमेकी उठ्छन् । पाउलागी भन्दै साष्टाङ्ग दण्डवत् गर्छन् । ंलालु बेतको कुर्सीमा बस्छन्, उनीहरू भुइँमै टुक्रुक्क बस्छन् । लालु भन्छन्, ‘अरे हो भाइ, कुर्सीमा बस ।’ उनीहरू सेनापतिका अगाडि सैनिकझैँ अदबसाथ प्लास्टिकको कुर्सीमा बस्छन् ।

लालु– ‘के कामले आयौ ?’
पहिलो छिमेकी– ‘अधिकार चाहिएर आयौँ हजुर !’
छेवैमा उभिएका सहयोगीलाई लालु आदेश दिन्छन्, ‘यिनीहरूलाई कति चाहिन्छ अधिकार दिएर पठाइदेऊ ।’
टाउको कनाउँदै दोस्रा छिमेकी भन्छन्, ‘हामी माथ्लो गाउँको मान्छे, हजुरले चिन्नुभएन कि क्या हो ?’
लालु चस्मा खोलेर हेर्छन् र भन्छन्, ‘ए ! लोलीजीको गाउँको ? मेरा परम मित्र लोलीजीको खबर के छ ?’
मुख अँध्यारो पारेर तेस्रा छिमेकी भन्छन्, ‘मित्र रे ?’

गम्छाले मुख पुस्दै लालु भन्छन्, ‘हो, लोलीजी र म गफ महाविद्यालयमा सँगै पढ्थ्यौँ । कहिले उनी फस्र्ट हुन्थे, कहिले म ।’

दस औँला जोडेर उनीहरू भन्छन्, ‘हामी त लोलीलाई तह लगाउन सहयोग माग्न आएका थियौँ !’
मुसुक्क हाँसेर लालू जवाफ फर्काउँछन्, ‘मित्र भए पनि उसले गफमा मलाई जित्न थालेको सुनेर रिस उठेको छ । उसलाई तह लगाउने एउटै उपाय छ, उसले भन्दा ठूलो गफ देऊ ।’

‘त्यही त गर्न सकिएन,’ तीनै जना एक स्वरमा भन्छन् । त्यसपछि लालुले उनीहरूलाई नजिक बोलाउँछन् र कानमा सानो स्वरमा केही भन्छन् । उनले के भने कुन्नि, तीनै जना अर्थपूर्ण रूपमा गलल हाँस्छन् ।

(त्यो हाँसोको अर्थ के हो ? यो थाहा पाउन अहिलेको हिट फिल्म ‘नाकाबन्दी’ अवश्य हेरौँ ।)

रैथाने भाइरसहरू

विश्वभरि जिका भाइरस फैलँदैछ तर नेपालमा छैन । र, आयो भने पनि केही लछारपाटो लाउने छैन । किनभने, पहिलेपहिले पनि अनेक भाइरस फैलिएकै हुन् तर नेपाल आउने हिम्मत गरेनन् । खासमा नेपालका मौलिक भाइरस देखेपछि विदेशी भाइरस थर्थर काम्छन्, डराउँछन् र पस्न सक्दैनन् । फुच्चे लामखुट्टेबाट मानिसमा सर्ने भाइरस पनि के भाइरस ? मानिसबाट मानिसमा सर्ने केही मौलिक नेपाली भाइरसचाहिँ चिन्नैपर्छ, चिनौँ :

टीका भाइरस : जिकाको नातेदार हो टीका । यो भाइरस लागेका ठूलाबडाले आफन्त र आसेपासेलाई टीका लगाइदिन थाल्छन् । राम्रो पद, राम्रो जागिर, राम्रो अवसर आदि सबैमा टीका लगाएर आफ्नालाई पोस्ने कार्य गराउने टीका भाइरस हो । आफ्ना सन्तान र नातागोता मात्र भूकम्पपीडित ठर्हयाएर उनीहरूलाई पीडितका रूपमा विदेश घुमाउने, आफन्तलाई मात्र राहतको थुप्रो लगाइदिने कार्य गराएर टीका भाइरस पछिल्लो समय चर्चामा छ ।

सिका भाइरस : जिका र टीकाको मावल सिका भाइरसको संक्रमण भएका ठूलाबडालाई अर्तीरउपदेश फलाक्न, अरूलाई सिकाउन मात्र मन लाग्छ । तर, अरूलाई दिएको अर्ती अनुसारको काम आफैँले गर्नचाहिँ यो भाइरसले रोक्छ ।

बकबक भाइरस : यसको संक्रमण भएकाहरू बकबक गर्छन् । अनेक हावा कुरा गराउने यही भाइरस हो । कुर्सीच्यूत भएपछि यो भाइरसको संक्रमण केही न्यून हुन्छ ।

चकचक भाइरस : कुर्सीबाट हटेपछि यो भाइरसले आक्रमण गर्छ । अर्काको सभा बिथोल्ने, अनेक अत्तो थापेर तोडफोड गर्ने, नाका छेक्ने, दुनियाँलाई सताउने आदि कार्य गराउने यही भाइरस हो । चुनाव नामक औषधिले विगतमा यो भाइरस नियन्त्रण गथ्र्याे तर अचेल गर्दैन ।

गोलचक्कर

ल, अब देशको विकास फटाफट हुने भो । डिजेल, पेट्रोल र ग्यास सहजै पाएपछि विकास हुन्छ । भनेपछि मालसामान कहिलेदेखि पाइन्छ त ? चिन्ता नगरौँ, चीनबाट आयात हुन थालेपछि पाइन्छ । चीनबाट कहिलेदेखि आउला ?

लोडसेडिङ अन्त्य भएपछि चीनबाट सामान आउँछ । चीनबाट कसरी सामान ल्याउने भनेर सरकारले अध्ययन गर्नुपर्ने हुन्छ, लोडसेडिङको अँध्यारोमा अध्ययन गर्न सम्भव भएन । लोडसेडिङ जब हट्छ, तब सरकारले अध्ययन थाल्छ र चीनबाट सामान आउँछ । त्यसपछि छेलोखेलो विकास हुन्छ ।

यो कुरा पत्याइयो तर लोडसेडिङचाहिँ कहिले सकिन्छ ? ढुक्क बनौँ, जलविद्युत् आयोजनाहरू बनिसकेपछि लोडसेडिङ सकिन्छ । आयोजनाहरू कहिले बनिसक्छन् ? आयोजनाहरू बन्न अनेक चिजबस्तु चाहिन्छ, त्यस्ता सामान ल्याउन भारतले नाकाबन्दी गरेको छ । नाकाबन्दी खुलेपछि सबै सामान आउँछ, त्यसपछि आयोजनाहरू बनेर लोडसेडिङ खत्तम हुन्छ । भारतको नाकाबन्दीचाहिँ कहिले सकिन्छ ? यो प्रश्नको जवाफ पनि सजिलो छ, राजनीतिक सहमति भएपछि नाकाबन्दी सकिन्छ । सहमति कहिले हुन्छ ? जब देशको विकास हुन्छ अनि विवाद हुँदैन र सहमति हुन्छ ।
हो रै’छ, देशको विकास हुने नै देखियो !

नेपाल, माघ २९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x