लोक सुब्बामनभित्रका रंगहरूको सरगम !
१.
मेरो त होली खेल्ने बानी पनि थिएन, त्यस बेला,
यस बेला,
होली पनि झन्डै बिर्सी सकेको रहेछु !
जो जो आज होली खेलेनन्,
लाग्छ, मन भरेर खेलेनन् होला !
होली,
रंगहरूको संयोजन, प्रयोजन, अनि उन्मुक्त विस्फोटन,
क्षण भरकै लागि भए पनि,
विस्पÞmोटित अभिव्यक्ति, बाँच्नुको,
रहरको, भावनाहरूको,
बसन्तमा बल्ल बल्ल
आफ्नो अस्तित्वको जबर्जस्ति दावी गर्दै प्रस्फुटित
हजारौं रंगहरूमा उम्रिएका
नयाँ बिरुवा र कोमल पातहरू जस्तै,
उमङ्ग कोपिला र मनमोहक फूलहरूजस्तै
बेचैनको साथ रहर भरिपूर्ण,
अनि बाँच्नुकोको स्वउद्घोषणा,
रंगहरूको सरगम, रहर अनि भावनाहरूको बसन्त, होली !
क्षण भरकै लागि भए पनि !
२.
यहाँ, म कहाँ
गल्ली र घर अघि होली खेलिन्नन्
यहाँ, त्यसरी होली खेलिन्नन् !
फेरि पनि हामी, अनि म
रहर र मनहरूको रंगहरू
गल्ली गल्लीमा अनि मान्छेको मनहरूमा
हामी एक अर्कालाई रंग धस्तै
प्रफुल्लका साथ
मनभित्रको होली खेल्छौ !
३.
स्वादहरूको होली !
आज श्रीमतीले रहर गरिन्,
“धेरै बर्ष भयो, आज आफ्नै घरमा बनाएको
‘तन्दुरी’को पुनर्संवाद गरौँ !’
स्वादहरूका रंगहरूमा खेलिरहेको होली !
सलगमको सेतो र गाजरको पहेँलो
सालाद्का सब्जीका अनिगिन्ती रंगीबिरंगी पत्ताहरूमा,
रातो अनि रंगिला चेरी टमाटर र आवोकाडो छेउ
अर्ध हरियो कुरिलो र झन्डै रंगहीन जंगली च्याउ
अनि यी सबका माथि मसला र लामो समयसम्म
सेकिएको रातो तन्दुरी कुखुराका टुक्राहरू,
रंग र स्वादहरूको सरगम,
रंगहरूमा बसेको स्वादहरूको बसन्त, होली !
४.
यहाँ, म कहाँ
गल्ली र घर अघि होली खेलिन्नन्
होली खेल्नेहरूको जमात पाइन्नन्,
फेरि पनि म मनभरि भरि,
मान्छेहरूका भावनाका रंगहरूमा,
भावनाका रंगहरूसित
सोचाइ र चिन्तनका गल्ली र सडकहरूमा
सोचाइ र चिन्तनका रंगहरू हातमा लिएर
आफैलाई अनि मेरो गल्ली गल्लीलाई
भेटिने जो जति छन् त्यी सबैलाई
रंग पोत्ने गर्छु
यसरी नै मलाई पनि रंग पोतेको अनुभूति भएपछि,
मुस्कुराएर म उनीहरूको कानमा कानेखुसी गर्ने गर्छु,
‘ह्याप्पी होली ।’
बेरगेन विश्व विद्यालय
होली, २०७२
Subscribe
Login
0 Comments
Oldest







































