वासुदेव पाण्डेयहोली
डाँडाकाँडा हरित रङका वायु चल्दै छ मन्द
फुल्दा लाखौँ कुसुम तिनको बोक्छ हावा सुगन्ध ।
आयो अर्को सरस ऋतुको राज अर्को वसन्त
देख्ता नौलो प्रकृति जगको ध्यान जाँदैन अन्त ।।
आयो घुम्दै रङमय भई रङ्गको पर्व होली
पैलेजस्तो कुतुहल, मजा छैन है आज भोलि ।
पुग्थ्यौँ हामी घरघर सबै खेल्दथ्यौँ गीत गाई
हुन्थे कोही रसिक त कुनै लट्ठिने भाङ खाई ।।
बिर्से ऐले सकल जनले होलिकाको कहानी
खान्छन् गाँजा सबतिर, सुरापान गर्नेछ बानी ।
काला सेता वदन र लुगा ‘लैबरी’ चाल हुन्छ
लोला छ्याप्छन् अझ युवतिको हाल बेहाल हुन्छ ।।
खेल्दा होली जल र अमला, कागती स्वादयुक्त
हुन्थ्यौँ साथी रसिक त्यसमा बोझ वा त्रासमुक्त ।
गाई गाना सरस कतिले नाचमा ढाड भाँच्थे
लज्जा त्यागी रहर चुलिई गाउँदै गीत, नाच्थे ।।
ऐले आएँ सहर तर त्यो गाउँको याद आई
होली खेल्ने प्रबल सपना डस्न थाल्छन् मलाई ।
पैलेजस्तो रङ रस हुने चाड चोखो रहेन
देखी धेरै विकृति यसमा खेल्न इच्छा भएन ।।
आए धेरै चलन ननिका ध्वस्त संस्कार हाम्रा
छाए धेरै कमसल प्रथा नासिए पर्व राम्रा ।
पैसा खाना रहर यिनकै होडबाजी चलेछ
खस्के राम्रा चलन सजिलै लोक आस्था ढलेछ ।।
होली खेलौँ सरस मनले रङ्गमा मस्तसाथ
त्यागौँ हाम्रा कलुष मनका स्वच्छ भै भित्रबाट ।
साँच्चै हानौँ विमल मनले मित्रतासाथ लोला
लोला लागे तन र मनमा मित्रता बग्छ होला ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































