साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– ६

Nepal Telecom ad

ओलीले लगाए भ्यागुतालाई गुन

खोलाले भरियाको भारी बगायो । राजाकोमा उजुर पर्यो । छानबिन भयो । पानी परेकाले बाढी आयो, भारी बगायो । पानी किन पर्यो ? कुमालेले भाँडा पोल्दा आएको धूवाँले आकाश ढाकेको थियो, बादल लागेको ठानेर भ्यागुता करायो अनि पानी पर्यो । अर्थात् भ्यागुता दोषी । राजाले भ्यागुतालाई प्राणदण्ड दिएछन् । उहिले यस्तो न्याय हुन्थ्यो, अचेलको लोकतन्त्रमा त्यस्तो हुन्न । अचेलका शासक असाध्यै असल हुन्छन् । यसको उदाहरण चाहियो ?

भूकम्पपछि पुनर्निर्माण भएन । ‘लथालिङ्ग देशको भताभुङ्ग चाला, जसले सक्ला उसले पुनर्निर्माण र राहतका नाममा खाला’ भयो । किन पुनर्निर्माण भएन ? आर्थिक अभाव भो । विदेशीसँग मागेर आर्थिक जोहो गरियो तर पुनर्निर्माण सुरु भएन किन ? कानुनको अभावमा भएन । त्यसपछि कानुन बनाइयो । तैपनि, पुनर्निर्माण किन भएन ? पुनर्निर्माण प्राधिकरण नबनेर भएन । प्राधिकरण बनाइयो । तैपनि अहँ, काम भएन । जे कारण पुनर्निर्माण भएन भनियो, सबै कारणको निवारण गरियो । तैपनि, पुनर्निर्माण नभएपछि दोषी को ? दोष दिने कुनै ठाउँ बाँकी रहेन ।

अब दोष सीधै सरकारमा, सरकारमा पनि प्रधानमन्त्रीमा जाने भो । अबचाहिँ प्रधानमन्त्री केपी ओलीले कसैको थाप्लोमा दोष हाल्ने खतरा देखियो । तर, उनले ठाडै घोषणा गरिदिए, ‘पुनर्निर्माण नहुनुमा दोषी म !’ धन्न, कथाका राजाले झैँ ओलीले भ्यागुताको थाप्लोमा दोष हालेनन्, भ्यागुतालाई दण्डित गरेनन् । ओली महान् रै’छन्, नत्र देशभरिका भ्यागुता सखाप पारिन्थे । पुनर्निर्माण गर्न नसकेकामा आलोचना भन्दा भ्यागुता सखाप नपारेकामा ओलीको प्रशंसा हुनुपर्छ । ओलीले समस्त भ्यागुतालाई ठूलो गुन लगाए । यो गुन भ्यागुताले कसरी तिर्लान् ?

अहा लोडसेडिङ !

कीर्तिमानमा नेपाललाई कसैले नजित्ने भो । विश्वमा सबैभन्दा धेरै संशोधन भएको भारतको संविधान हो । अमेरिकी संविधान पनि करिब तीन दर्जनपटक संशोधन भएछ । दर्जनपटक संशोधन भएको अन्तरिम संविधान विस्थापित गरेर कीर्तिमानबाट मुलुक चुक्यो कि क्या हो ? खैर, केही छैन । संविधान संशोधनले नबनाए पनि लोडसेडिङ तालिकाले कीर्तिमान बनाउँदैछ । विश्वमा सबैभन्दा धेरैपटक संशोधन भएको सरकारी लिखत नेपालको लोडसेडिङ तालिका हो । यो कीर्तिमानमा कसैको दाबी छ ? कसैको छैन होला ।

लोडसेडिङ तालिका हाम्रो जीवनको अभिन्न अंग हो । एक जना निरक्षर महिलाले छोरा कुन साल जन्मिएको भन्ने प्रश्नको जवाफमा भनिछन्, ‘दिनमा १६ घन्टासम्म लोडसेडिङ भएको साल ।’ कुन महिना जन्मेको भनेर सोध्दा बताइन्, ‘दिनमा आठ घन्टा मात्र लोडसेडिङ भएको महिना ।’ जन्म साल र महिना पत्ता लाग्यो । अब गते पनि पत्ता लगाउनुपर्ने भो । कति गते जन्मेको ? जवाफ दिइन्, ‘लोडसेडिङ नौ घन्टाबाट घटेर आठ घन्टा भएको तीन दिनपछि जन्मेको ।’ अब पात्रो पल्टाउन पर्यो त ? लोडसेडिङको पुरानो तालिका पल्टाएपछि जन्ममिति ट्वाक्कै पत्ता लाग्ने भो । बारम्बार लोडसेडिङ घटबढका कारण संशोधन हुनाले पात्रोकै काम गर्न थाल्यो हाम्रो लोडसेडिङ तालिकाले । लोडसेडिङ रहेसम्म पात्रोको खासै उपयोग नगरे भो । कीर्तिमान बनाउने रफ्तारमा संशोधन नहुने हो भने पात्रोको काम गथ्र्यो त ? अहँ, गर्थेन ! कीर्तिमान पनि बनाउने, पात्रोको काम पनि गर्ने, यति उपयोगी लोडसेडिङ कहिल्यै अन्त्य नहोस् ।

राजनीतिक ग्रेडिङ

मिहिनेत गर्न नपर्ने, परीक्षा दिए पुग्ने, निश्चित रूपमा प्रवेशिका उत्तीर्ण भइने । यो गजबको प्रणाली नेपालमा नयाँ नौलो हो भन्दैछन् कतिपयले । उनीहरू गलत हुन् । यस्तो प्रणाली राजनीतिक दलहरूले उहिल्यै अपनाइसकेका हुन् । संविधानमा पनि घुसाइसकेका छन् । समानुपातिक प्रणाली भन्या ग्रेडिङ प्रणाली होइन र ? अनि, पार्टीका विभिन्न समितिमा गरिने मनोनयन ग्रेडिङ प्रणाली नभएर के हो त ? प्रवेशिका उत्तीर्ण हुन स्कुल र परीक्षामा उपस्थित हुनुपर्छ, पार्टीमा उत्तीर्ण हुनचाहिँ नेताका घरघरमा उपस्थित हुनुपर्छ । जसरी ग्रेडिङले विद्यार्थीको क्षमता जाँच्छ, त्यसरी चाकडी र अन्य अनेक किसिमका क्षमता जाँचमा उत्तीर्ण भएपछि संसद्मा तथा पार्टी केन्द्रीय समितिमा मनोनीत हुन सकिन्छ ।

अँ, राजनीतिक ग्रेडिङ प्रणालीमा खल्तीको जाँच र जात पनि हेरिन्छ भन्ने हेक्का राख्नैपर्छ । जातको चाहिँ पहिले नै ग्रेडिङ गरिएको हुन्छ । सामान्यतया क्षत्री–बाहुन खत्तम ग्रेड र अन्य जाति उत्तम ग्रेडमा पर्छन् । र, विभिन्न ‘क्षमता’ देखाएर जसले पद पड्काउँछ, ऊ ‘ए’ ग्रेडको ठहरिन्छ । ग्रेडिङ प्रणाली यत्तिमै सीमित छैन । त्यसपछि अर्काे चरणको ग्रेडिङ सुरु हुन्छ । यो चरणको ग्रेडिङमा ‘ए’ पाउनेले मन्त्रिपरिषदमा भाग पाउँछ । राजनीतिमा निरन्तर ‘ए’ ग्रेडमा रहनेहरू पार्टी र देशको बुइँगलमा पुग्छन्, अरूचाहिँ तल आँगनमा हुन्छन् ।

राजनीतिमा जहिलेतहिले ग्रेडिङ प्रणाली चलिरहन्छ । देश चलाउने राजनीतिक ग्रेडिङ प्रणालीको अभ्यास भविष्यका कर्णधारहरूले सानै उमेरमा नगरे कसरी देश बन्छ ? त्यसैले प्रवेशिकामा ग्रेडिङ प्रणाली लागू गरिएको हुनुपर्छ ।

कमालको पेट्रोलियम

पेट्रोलियमले चल्ने सवारी साधनभन्दा धेरै गति केको हुन्छ ?
जवाफ ‘हल्लाको’ । तर, त्यो हल्ला पेट्रोलियम पदार्थसँगै सम्बन्धित हुनुपर्छ । पेट्रोलियमले सवारी साधनको इन्जिन मात्र होइन, मानिसको दिमाग पनि चल्छ । भारतले नाकाबन्दी लगाउँदैछ, पेट्रोलियम अभाव हुन्छ भन्ने हल्ला कति तीव्र गतिमा बढ्यो भने त्यसले गति सम्बन्धमा अर्काे तथ्य पनि उजागर गर्यो ।

नेपालमा सबैभन्दा ढिलो गति केको हुन्छ ?
पेट्रोल पम्पको लाइनको । कछुवा ढिलो गतिको हुन्छ भन्छन् । त्यसभन्दा ढिलो सर्छ पेटोल पम्पको लाइन ।
राजनीति, भ्रष्टाचार, कालोबजारीसँग मात्र नभएर तीव्र गति र ढिलो गति दुवैमा कमाल देखाउँछ पेट्रोलियमले ।

नेपाल, चैत्र २६, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x