साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी

Nepal Telecom ad

हाम्रा बाले आफू मास छर्न जाने जाने वेलामा भनेका थिए— ‘छिमेकीसँगको सम्बन्ध कहिल्यै नबिगार्नू ।’ मलाई पनि सो कुरा राम्रै लाग्यो, किनभने आँतको भाइभन्दा आँठाको भाइ नजीकको हुन्छ । कम्तीमा पनि आँठाको भाइ आफूले लुछिरहेको आमाको लाम्टो चुस्न त आउँदैन । ‘मर्दाको मलामी र जिउँदाको जन्ती’ पनि छिमेकी नै हो, त्यसै भनिएको हो र ?

मैले आफ्ना घरपरिवारलाई पनि यही आदर्शको बाटो सिकाएको थिएँ ः– ‘छिमेकीसँग सानोतिनो विषयमा झगडा नगर्नू र मनमुटाव पनि नराख्नू ।’ त्यसै क्रममा जीवन अगाडि बढ्दै गयो, दिन कट्दै गए । एकदिन हाम्रो छिमेकीले त हाम्रो जग्गाको साझा आँठाबाट उठाएर पर्खाल लगाउन थाले, तर उनले झन्डैझन्डै मेरो भागपट्टिको एकबित्ता जग्गा मिचेर जग हाले । मैले उनीसँग विनम्र भएर भनेँ – “अर्काको आँठो त नमिच्नोस् न हजुर” मेरो विनम्र अनुरोधलाई उनले ठूलै विरोधका रूपमा लिएर भने– ‘म अन्तिम दमसम्म तपाईंसँग भिड्न तयार छु, तर जग्गा भने एक इन्च पनि छोड्दै छोड्दिनँ ।’ उनको कुरा सुनेपछि मैले सोचेँ–‘यिनी झगडा गर्छन् भने अलि बढी मिहेनत गरेर कमाइ गरी अर्को कित्ता जग्गा किनौँला । झगडामा भन्दा परिश्रममा नै विश्वास गरेमा भलाइ होला नि ।’

समय क्रममा एकदिन बेलुकी गोठमा बाँधेको मेरो गोरुले दाम्लो छिँदाएर छिमेकीको लहलहाउँदो रायोको साग खाइदिएछ । बिहान उठ्दा त छिमेकी जङ्गिँदै र उफ्रिँदै मेरो पिँढीमा आए र भने— ‘तेरो साँढेले मेरो त सर्वस्व नै ग¥यो, तेरो सर्वस्व होस्् असती मान्छे ।’ हिन्दुसँस्कृतिअनुसार कुनै पनि मान्छे नमरीकन शुद्धशान्तिका लागि साँढे छोडिन्न क्यारे । त्यस वेलासम्म म मरेको पनि थिइनँ क्यारे । गोरुले साग खाँदैमा उनको सर्वस्व नै भएको पनि थिएन, तैपनि उनले भनेको सबै कुरा सहेर मैले भनेँ– ‘गोरुले दाम्लो छिँदाएछ र तपाईंको साग खाएछ, नोक्सानी गरेछ । म तपाईंको नोक्सानीको जायज अर्मल तिर्न पनि तयार छु ।’ मेरो यस अनुरोधलाई अस्वीकार गर्दै उनले भने– ‘सागको अर्मल तिर्छु रे, तेरो साँढेले त सर्वस्व ग¥यो’ इत्यादि इत्यादि कुरा फलाक्दै उनी आफ्नै घरतर्फ लम्किए ।

मेरी बाहुनीलाई चोखोनीति पनि खूब चाहिन्छ । उनी कसैले नछोएको चोखो पानीले सधैँ देउताको पूजा गर्छिन् । यो उनको दैनिकी नै हो । संयोगको कुरो एक दिन उनको पूजासामाग्री र नैवेद्य उनको देउतालाई चढाउनुभन्दा अगाडि नै उनै मेरा छिमेकीका कुखुराका एकहूल चल्लाले बिटुल्याइदिएछन् । सङ्गतगुनाको फल नै हो । मेरी बाहुनी पो के कमकी थिइन् र उनले पनि एकबित्ता धोती उचालिन् र मुख छोड्न थालिन् । अनि मैले उनलाई सम्झाउँदै भनेँ– कम्तीमा पनि तिम्रा ससुराको अन्तिम अर्तिको पालना त गर ।

दिन बित्तै गए । मेरा अर्का छिमेकीले छोराको विवाह आँटेका थिए । त्यसै बिहेको भोलिपल्ट नै जन्त जानुपर्ने भएकाले मैले पनि बाकसमा थन्क्याएको कश्मीराको कोट झिकेँ र भरखरै धोएको दौरा सुरुवाल (मयलपोस)सँग–सँगै सुकाएर आफूचाहिँ नुहाउन थालेँ । मैले नुहाउने धारो केही कोल्टे ठाउँमा थियो । नङ काट्ने, दारी खौरिने र नुहाइधुवाइ गर्ने काम गर्दा केही समय लाग्यो । केही छिनपछि म लुगा उठाएर घरतर्फ लाग्न तरखर गर्दै थिएँ, त्यतिवेला त मेरा दौरा र सुरुवाल एकएकवटा बाच्छीहरूका मुखमा चबिँदै थिए । कोटचाहिँको भग्नावशेष माऊगाईको मुखमा थियो । ती सबै बच्छाबाच्छी र माऊ उनै मेरा छिमेकीका थिए, जसको साग मेरो गोरुले खाइदिएको थियो ।

सङ्गतको फल नै होला । मैले पनि रिसले तोरीको फूल देख्न थालेँ । खतीभन्दा पनि खाँचो ठूलो हुँदो रहेछ । आफ्नो इज्जत जोगाउन र वेलावेलाका चाडपर्वहरूमा लगाउन साँचोमुचाका रूपमा राखिएका लुगा धुजाधुजा भएको देखेर म मनमनै कँुडिनसम्म कुँडिन थालेँ । छिमेकी भनेको जिउँदाका जन्ती भएकाले मेरा छिमेकीको छोराको बिहेमा जन्त जानुपर्ने कर्तव्य र बाध्यताभित्रकै कुरा थिए भने आफ्नो इज्जत सुहाउँदो लुगा नलगाउँदा समाजको छुचो मुखको भय पनि मलाई उत्तिकै भयो ।

छिमेकीका गाईलाई चुटेर पनि मेरो लुगा फर्कन्नथे । छिमेकीसँग बाझेर पनि आगामा घिउ थप्नुबाहेक अर्को उपलब्धि थिएन । आफ्नो शरीर पनि छाँटकाँट मिलेको नभएकाले अरू कसैको लुगा लगाएर इज्जत बचाउन सकिने अवस्था पनि थिएन । यसै किङ्कर्तव्यविमूढताको अवस्थामा नै म बँचेखुचेका उक्त लुगाहरूका अवशेषहरू लिएर उनै छिमेकीका तगारामा ठडिएँ र उनलाई भनेँ— ‘तपाईंका गाईडिँगाका पौरख यिनै हुन् ।’

आफू त पिताको आज्ञाकारी छोरो भएको नाताले छिमेकीसँग झगडा गर्नपट्टि लागिएन र सोच्न पुगेँ– एकजोडा कपडाका लागि परलोकमा बस्न पुगेका पिताजीको चित्त दुखाउनु मेरो बुद्धिमानी पनि होइन नि ।

पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x