सुलसुलेव्यङ्ग्यसङ्ग्रह ‘पाखण्डको पर्दाफास’ लोकार्पित
माघ २५, २०७० मा जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय उपाध्यक्ष नारायण परिश्रमीद्वारा लिखित व्यङ्ग्यसङ्ग्र्रह ‘पाखण्डको पर्दाफास’को लोकार्पण तथा परिचर्चा कार्यक्रम राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा सम्पन्न भयो ।
जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता तथा रमेश पोखरेलको सञ्चालनमा सम्पन्न समारोहको प्रमुख अतिथि राष्ट्रिय जन सांस्कृतिक महासङका अध्यक्ष खगेन्द्र राई हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा प्रा.डा.जीवेन्द्रदेव गिरी, प्राज्ञ विष्णु प्रभात, महासङ्घका महासचिव राजेश थापा, प्राज्ञ कविता आले, प्रेम अधिकारी, कृपाराम धमला, कृतिका लेखक नारायण परिश्रमी, महासचिव विनोद मञ्जन, यशोदा अधिकारी, गायत्री लम्साल र जङ्ग पहाडी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि खगेन्द्र राईले ‘पाखण्डको पर्दाफास’को लोकार्पण गर्नुभयो । लोकार्पित कृतिका बारेमा प्रा.डा.जीवेन्द्र देव गिरीले चर्चा समीक्षात्मक टिप्पणी गर्दै ‘पाखण्डको पर्दाफास’ गद्य र पद्यको मिश्रित रूप रहेको बताउनुभयो । उहाँले सङ्ग्रहमा विषयको विविधता ‘प’ वर्णको पुनारवृत्तिका माध्यमबाट पाठकलाई नौलो पाराको स्वाद चखाउने प्रयत्न भएको उल्लेख गर्दै निष्कर्षमा प्रगतिशील बान्की दिन सक्नु परिश्रमीको विशेषता रहेको बताउनुभयो । प्राज्ञ विष्णु प्रभातले तत्कालै परिश्रमीका केही रचना पढी ‘प’ वर्णको प्रयोग गर्दै नौलो प्रयोगकै रूपमा लेखिएको कृति तथा कृतिकारलाई ‘प’ वर्णमै लेखिएको शुभ कामना दिनु भयो ।
सभाध्यक्ष राम विनयले मञ्चका उपाध्यक्ष नारायण परिश्रमी पोखरामा रहेर सामाजिक सांस्कृतिक रूपान्तरण अभियानमा क्रियाशील हुनुभएको बताउनुभयो । उहाँको कृतिमाथि जन साहित्यिक मञ्चले लोकार्पण तथा परिचर्चा कार्यक्रम आयोजना गर्न पाएकामा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































