साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्यको प्रजनन ‘कखुरीको दूध’

Nepal Telecom ad

नेपाली साहित्यको जन्मकालसँगै नेपाली हास्यव्यङ्ग्य साहित्यको पनि प्रजनन् भयो । साँच्चै भन्ने हो भने हँसिया बाङ्गिए जस्तै भएकाले हास्यव्यङ्ग्य नामकरण गरिएको भनिने साहित्यले हँसिलो वातावरण र त्यसमा भेटिने भिटामिन प्राप्त गरेकाले नेपाली साहित्यलाई बालकैमा टाक्सिँदै जाने र खियाउटे बन्दै जाने रून्चे रोगले सितिमिती समात्न सकेन । समृद्ध संस्कृत साहित्यमा पनि हास्यव्यङ्ग्यलाई स्थान दिने वक्रोक्तिकार कुन्तक र कवि भास नउदाएका भए त्यो साहित्य पनि कहिल्यै उम्कन नसक्ने भासमा भासिन के बेर लाग्थ्यो र ? त्यसरी नै संस्कृत साहित्यको नाटक विधा समृद्ध हुनामा पनि त्यहाँ विदूषक पात्रको उपस्थिति र उनका हास्यव्यङ्ग्यमय अभिनय नभएको भए के भन्न सकिन्थ्यो र यसका अतिरिक्त हास्यव्यङ्ग्य साहित्यमा यस्तो जादुगरी आकर्षण छ जसले गर्दा लेखक र भावक (पाठक) दुवै नै यस साहित्यप्रति ज्यादै मुग्ध हुन्छन् । नेपाली साहित्यमा पनि हास्यव्यङ्ग्य विधाको प्रजनन र विकासक्रममाथि ससैर्ती आँखा घुमाउँदा के भेटिन्छ भने नेपाली साहित्यको प्राथमिक, माद्यमिक र आधुनिक कालमा समेत हास्यव्यङ्ग्य साहित्यको पयो नछिनेको हुनाले नै यसको निरन्तरतामा नै खडेरी पर्ने गरी उग्र सङ्कट आइपरेन । वस्तुतः हास्यव्यङ्ग्य साहित्य रसवरी चमचम जस्तै हो । यो सबै उमेरका भावकलाई उत्तिकै मीठो र आस्वाद्य बन्छ, यसको भित्र बाहिर उत्तिकै स्वाद हुन्छ र गुदी बोक्रो दुवै उत्तिकै स्वादमय हुन्छन् । यसरी नै यो शिक्षित, अल्पशिक्षित र अशिक्षित सबैलाई भेदभाव नगरी समान स्वाद दिन्छ र यो सर्वप्रिय, सर्वगम्य, सर्वस)वेद्य र सर्वाधिक ताजा विषयकेन्द्री एवम् गद्य, पद्य, नाटक, आदि विधि विधासँग मित्रता राख्ने समावेशी विधा हो । फलतः यस विधाको भावक वा पाठक वर्गमा सहभागी बन्दा अलौकिक आनन्दको अनुभूति गरिन्छ भने यसको प्रजनक वर्गमा सम्मिलित हुँदा ज्यादै गहन दायित्व वहन गरेमा मात्र सफल हुने स्थिति देखिन्छ । यसैले हास्यव्यङ्ग्य साहित्यको सिर्जनामा असाध्य सावधान हुनु पर्छ र यसलाई मामुली वा गोठाले विधा हुनबाट जोगाउन निकै ठूलो धामा गर्नु पर्छ । यो कुरा नेपाली हास्यव्यङ्ग्य साहित्यलाई स्वतन्त्र विधा बनाउन मरिमेट्ने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई समेत धौधौ भई अन्तराष्ट्रिय स्तरको स्वतन्त्र र मानक विधा स्थापित गर्न भैरव अर्यालको स्थापत्य आवश्यक भएको कुरा ऐतिहासिक तथ्यबाटै प्रमाणित हुन्छ । यिनै सन्दर्भबाट के स्पष्ट हुन्छ भने हास्यव्यङ्ग्य विधा आस्वादनका निम्ति जति सहज छ , सिर्जना विधामा विशारद बन्न त्यति नै कठिन छ । यसै परिप्रेक्षमा बहुप्रयास साध्य विधा हुँदा हुँदै पनि यस विधाको सिर्जनामा सतत समर्पित बन्ने साहित्यकार नरमेन्द्र लामाको ‘कुखरीको दूध’ नामक साहित्यिक कृतिको आस्वादनात्मक समीक्षा यस प्रकार गर्न सकिन्छ ः–
नेपाली हास्यव्यङ्ग्य साहित्यको आधुनिक कालको वर्तमान पृष्ठभूमिमा समसामयिक असङ्गति, विसङ्गति, विद्रुप, विडम्बना, विकृति आदिलाई सिस्नुपानी लगाउनु पर्ने, अपरिहार्य आवश्यकता ठानी सिस्नुपानी नेपालले २०६० सालमा नै ‘कुखुरीको दूध’ जनसमक्ष ल्याएको हो । यस किसिमको खुलदुली मच्चाउने ‘कुखुरीको दूध’ प्रजनन गरेर नेपाली समाजलाई स्वस्थ, सन्तुलित, सुसङ्गत सदाचारमय बनाउन उत्प्रेरित गर्ने हँसिलो साहित्यिक रसायनका आविष्कारक हुनुहुन्छ – नरमेन्द्र लामा । उहाँ समाजमा हुने बेथितिका काल भैरव र स्वस्थ समाज बनाउने साहित्य साधनाका महारथि भैरव अर्यालको गाउँठाउँमा माता कान्छी र पिता इन्द्रबहादुर लामाको सुपुत्रका रूपमा जन्मी उनै अर्यालका पदचिन्हलाई पच्छ्याएर उनको अभाव खड्किन नदिने गरी साहित्य सिर्जनामा सक्रिय हुने साहित्यकार हुनुहुन्छ । उहाँले २०३६ सालदेखि अविरल रूपमा हास्यव्यङ्ग्य साहित्यको सेवा गरेको र यसलाई शैलशिखरमा पु¥याउन सदैव प्रयासरत रहेको पाइन्छ । वस्तुतः नरमेन्द्र लामा यस्ता साहित्यकार हुनुहुन्छ जसले भैरव अर्यालले चिनेको चौतारीमा हास्यव्यङ्ग्य साहित्यको बटवृक्ष हुर्काउनु भएको छ र त्यसैका माध्यमद्वारा समाजको स्वस्थताका लागि प्राणवायु फैलाउनु भएको छ । यसबाट के स्पष्ट हुन्छ भने नरमेन्द्र लामाका हास्यव्यङ्ग्य निबन्धहरू भैरव अर्यालको अवसानपछि उनको अभावको अवकाश परिपूर्ति गर्ने अतीव आस्वाद्य प्रखर अभिव्यक्ति र तिख्खर प्रस्तुति बनेको स्वतः अनुभव गर्न सकिन्छ । जसरी भैरव अर्यालका कृतिमा हास्यव्यङ्ग्यमयता प्राणवायु ठहरिन्छ त्यसरी नै लामाका निबन्धहरू पनि हास्यव्यङ्ग्यका अनुपम रासायनिक औषधी बनेका छन् । शब्दान्तरमा भन्ने हो भने यस सङ्ग्रहका निबन्धमा पाइने हास्यव्यङ्ग्यको व्याप्ति निबन्धकार अर्यालमा जसर िअपरिहार्य तत्व प्रतीत हुन्छ त्यसरी नै लामाका रचनामा पनि पर्याप्त ठहरिन्छ । यसैले हास्यव्यङ्ग्यमयत निबन्धकार लामाका समेत अतीव उल्लेखनीय विशेषता सावित हुन्छन् ।
यसरी नै नरमेन्द्र लामाका प्स्तुत निबन्धसङ्ग्रहमा पाइने अर्को विशेषता हो विषयगत साधारणतामा समाजका असाधारण वा असामान्य स्थितिको चित्रण र परामर्श सेवा । हास्यव्यङ्ग्य निबन्धकार लामाका सन्दर्भमा यो पनि अर्को विशेषता हो किनभने प्रस्तुत लेखककै ‘सांसदको पाडो’ (२०५८), ‘मेरो गोरु’ (२०६९), जस्ता निबन्धहरू ठट्यौलो र खुल्दुली मच्चाउने गरी औषधी खुवाउन खप्पिस छन् । अतः यस दृष्टिले पनि नरमेन्द्र वहुविध विषयका विकृतिलाई हास्यव्यङ्ग्यको औषधीबाट उपचार गर्ने प्रतिभा हुनुहुन्छ ।
हास्यव्यङ्ग्य साहित्यमा अनवरत सेवारत लामाको अर्को उललेख्य विशेषता हो– बोलीचालीका स्वाभाविक, सहज र सरल भाषामा विशिष्ट अभिव्यक्तिको मधुरिमा थप्ने उखानटुक्काको प्रयोग । उहाँका सामान्य निबन्धमा पनि विशिष्ट प्रकृतिका उखान टुक्काको प्रयोग पाइन्छ । उदाहरणार्थ ‘खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने’, ‘जाने श्रीखण्ड नजाने खुर्पाको बिँड’, अङ्गुर अमिलो छ’, हुने बेलामा गोरु ब्याउँछ’ ‘कुवाको भ्यागुता’ जस्ता उखान टुक्कालाई लिन सकिन्छ । त्यसरी नै अनुप्रास र अलङ्कारले भरिपूर्ण उहाँका वाक्य र पदावलीलाई पनि दृष्टिगत गर्न सकिन्छ ः ‘भाङ लागे झैं जङ चलेर आयो’, ‘बेकारीलाई जागिरदार पियनलाई हवल्दार, सुकुम्बासीलाई घरबार, किसानलाई हकदार’, ‘मिठाइ खाए झैं मिठो, सुरुवा खाए झैं सजिलो’, जस्ता अनुप्रास र अलङ्कारयुक्त सूक्तिशिल्पको समुचित संयोजन पाइन्छ । यिनै उल्लेख्य विशेषताले गर्दा नरमेन्द्र लामाको हास्यव्यङ्ग्य सङ्ग्रह ‘कुखुरीको दूध’ साह्रै सङ्ग्रहणीय साहित्यिक सिर्जना सावित हुन्छ ।
यिनै प्रवृत्तिगत विविध विशेषताका परिप्रेक्ष्यमा निबन्धगत आर्जनहरूलाई दृष्टिगत गर्दा नरमेन्द्र लामाको ‘कुखुरीको दूध’ नामक हास्यव्यङ्ग्य सङ्ग्रह मित्रसम्मित वाणीमा हास्यरस सम्मिश्रण गरी व्यङ्ग्यात्मक गहन संवेदनाले भरिपूर्ण तीव्र अनुभूति व्यक्त गरिएका २४ वटा निबन्धहरूको सङ्कलन सिद्ध हुन्छ । यस सङ्कलनमा रहेका हास्यव्यङ्ग्य निबन्धहरूलाई मोटामोटी पाँच क्षेत्रमा विभाजन गर्न सकिन्छ– १) सामाजिक, २) राजनीतिक, ३) व्यापारिक, ४) सांस्कृतिक, ५ शैक्षिक । यी पाँच क्षेत्रमध्ये सबभन्दा बढी समाजिक क्षेत्रमा छन् । उहाँका सामाजिक क्षेत्रका ‘यमराजको तेलको कराई’, ‘कविको मान धुम्रपान’ जस्ता नौ वटा निबन्धको पर्यावलोकन गर्दा के स्पष्ट हुन्छ भने नेपाली समाजका प्रत्येक पक्षमा रहेका विकृति विसङ्गति र विडम्बना आदिलाई ठम्याउन र तिनको पर्दाफास गर्दै तिनै नेपाली समाजका कमजोरीलाई निराकरण गर्न हँसिलो पाराले सल्लाह दिन लेखक सक्षम बन्नु भएको छ ।
यस्तै राजनीतिक क्षेत्रमा ‘उम्ेद्वार चिनारी’, ‘म मन्त्री भएँ’, जस्ता चार वटा निबन्ध रहेका छन् । यिनले नेपालको राजनीतिक क्षेत्रमा बढार्नै नसकिने गरी विकृति बढेको कुरालाई औँल्याउँदै, छलकपट, बेइमानी, धुत्र्याइँ तथा कुनै विशेष योगदान एवम् त्याग नै नगरी आफ्नै दुनो सोझ्याउने प्रवृत्तिले नेपाली लोकतन्त्रको ठाडो उपहास गरेको जस्ता अँध्यारा पक्षलाई प्रकट गरेका छन् ।
तुलनात्मक दृष्टिले हेर्दा राजनीति क्षेत्रपछि व्यापारिक क्षेत्रको अँध्यारो मानचित्र यस सङ्ग्रहमा प्रस्तुत गरिउको छ । ‘नाङ्ले साहुनी’, ‘मेरो कुखुरीको दूध दुहे’, जस्ता तीन वटा निबन्ध यस क्षेत्रमा रहे पनि तिनमा निमुखा र निम्न व्यापारीप्रतिगरिने भेदभाव, गरी खान खोज्नेलाई सताउने र टाट उल्टाएर छोड्ने प्रवृत्ति अनि ठूला व्यापारीलाई के हुने के नहुने सबै काममा छुट दिई चाकडी गर्ने मनोवृत्ति नेपालमा लहलहाएको देख्दा लेखकका मनमा कहिल्यै साम्य नहुने निराशा उर्लिएका भेटिन्छन् ।
यस्ते किसिमले सांस्कृतिक क्षेत्रमा ‘जन्त जाने धोको’, ‘निमन्त्रणाले निमोठ्यो’ जस्ता पाँचवटा निबन्ध रहेका छन् । यिनमा हाम्रो संस्कृतिभित्र विकृतिको विगविगी असाध्यै बढेको इतिवृत्तका साथै राजनीतिक आदि क्षेत्रमा जस्तै आदर्श चरित्र भएको योग्य र अनुकरणीय व्यक्तित्वको अभाव हाम्रो सांस्कृतिक धरातलमा पनि खड्किएको हुँदा दिनानुदिन सांस्कृतिक विकासभन्दा ह्रास बेहोर्नु परेको यथार्थलाई पनि पस्किएको पाइन्छ ।
यसरी नै शैक्षिक क्षेत्रको व्यथा विवशता र बेथितिको विश्लेषण गर्न समेत यस सङ्ग्रहका निबन्धहरू लागिपरेका छन् । ‘मास्टरको मान’, खोकिलामा हात’, जस्ता तीनवटा निबन्धहरूमा देशको शैक्षिक क्षेत्रको सिंहावलोकन गर्दै नेपालको भूमिल शैक्षिक क्षितिजलाई निर्मल पार्न आग्रह गरिउको छ । यसै सिलसिलामा लेखकले देशका भावी कर्णधार विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा, प्रथिष्ठाको समेत वास्ता नगरी, दिलोज्यान दिएर लागेका शिक्षक अर्थात मास्टरहरू अन्य सुविधाको त के कुरा शुद्ध पारिश्रमिक समेतबाट वञ्चित हुन पुगेको दर्दनाक परिस्थिथिलाई यहाँ सूक्ष्म तरिकाले अन्वेषण गर्नुभएको छ र नागरिकको मेरुदण्ड शिक्षाको दुर्गति र शिक्षकको दुर्नियतिलाई निराकरण गर्न जोड दिनु भएको छ ।
यसप्रकार ‘कुखुरीको दूध’ नामक यस हास्यव्यङ्ग्य सङ्ग्रहमा रहेका चौबीस निबन्धहरूको परिक्रमा गर्दा के स्पष्ट हुन्छ भने यी निबन्धहरू हाम्रो नेपाली समाजमा रहेका बेथिति, विसङ्गति, अनुशासनहीनता, अनैतिकता, विकृति, दण्डहीनता, उच्छृङ्खलता आदि नराम्रा पक्षहरूका डरलाग्दा अवरोधहरूलाई फोरी सुधारका सुन्दर स्थापत्य बनाउन विस्फोट गरिएका ‘कुखुरीको दूध’ जस्ता व्यङ्ग्य मिश्रित शब्दका रासायनिक शस्त्र हुन् । यो कृतिलाई दृष्टिगत गर्दा हास्यव्यङ्ग्य साहित्यकार नरमेन्द्र लामा नेपाली स्वच्छ समाजको निर्माणका लागि अवधान बनेर रहेका विविध गाह्रा साँघुरा गौँडागल्छेँडा र पहराहरू मिलाई नवनिर्माण गर्न र सफलताको उच्च शिखरमा पुग्न सक्षम हुने महान् अभियन्ता बन्न सक्ने कुरामा पूर्णतः विश्वास एवम् भरोसा गर्न सकिन्छ । नेपाली समाजको शान्ति स्वस्ति, शुद्धि र समुन्नतिका लागि ‘कुखुरीको दूध’ प्रसेचन गर्ने नरमेन्द्र लामाको रसिलो र हँसिलो प्रस्तुत कृतिको सानो समीक्षाको यस अवसरमा म उहाँको सक्रियताबाट दिनानुदिन नेपाली हास्यव्यङ्ग्य साहित्य प्रणयन र नेपाली समाजको समुन्नयनमा योगदान पुगोस् भन्दै शुभकामना व्यक्त गर्दछु ।
कलङ्कीस्थान, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x