फित्काैली डटकमवि.सं.२०९३ सालको होल नेपाल टुर
“अरुकी लक्ष्मी भए नि साँढेकी त स्वास्नी न हुन्” जस्ता कटु टुक्काहरू जसै कानमा परे, यताउता हेरेँ । टि.भी. चलिरहेको रहेछ । सम्बत् दुई हजार बहत्तर सालमा लोकप्रिय बजेट ल्याएर नेपाली जनता सामू जनप्रिय बनेको ने.क.पा.एमालेले छयहत्तर सालको आम चुनावमा दुईतिहाई बहुमत ल्याएर संबिधान संशोधन गरी जनताबाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रमुख बन्ने ब्यबस्था गरेको थियो नेपालको संविधानमा ! पाँचौँपल्ट प्रधानमन्त्री जितेको खुशियालीमा ओली बाजेले नेपाली जनताको नाममा सम्बोधन गर्दै रहेछन् ।
मेचीमहाकाली बुलेट रेलवे अन्तर्गत ‘चितवन स्टेसन’मा रेल रोकिएको थियो । श्रीमतीले झ्यालबाट बाहिर देखाएर भनिन्– “यो १२० तले भवन एमालेको केन्द्रीय कार्यालय हो ।” मैले रेलको टीटीलाई सोधेँ– “झापा पुग्न अब कति लाग्छ ?”
“अब १ घन्टा ।”
“त्यत्रो लाग्छ ?” म अतालिएँ ।
छेउमा एउटा कुइरे बसेको थियो । सोधेँ– “कहाँसम्म ?”
उसले भन्यो– “नेपालको पि.आर. पाइएन, आफ्नै देश अमेरिका फर्किँदैछु । एकपटक पानीजहाज हेरूँ कि भनेर झापा हिँडेको ।”
अर्काे डिब्बाबाट धार्मिक आवाज आयो, “राधे–राधे भन्ने हामीलाई लाइरा’छ ।“ त्यतै गएँ, हिसिलासहित बाबुराम भट्टराई रहेछन् । डाक्टर बोले– “ओलीले उठिबास लाइहाले, कुम्लो कुटुरो बोकेर हरिद्वार हिँडेको । गङ्गाका छेउमा कीर्तन गरेर बस्ने बिचार छ ।”
बीचैमा हिसिला च्याँठ्ठिइन्– “प्रटिगामी टट्वले गरिखान डिएन ।”
झापा पुगियो ।
नेपालले ठाडै हस्तक्षेप गरेर ३ वर्षमा ९ वटा सरकार ढलाइदिएको हुनाले भारत हैरान भएर, नेपाललाई खुशी पार्न आफ्नो “पश्चिम बंगाल” प्रदेश उपहारमा दिएको थियो । मन्जुश्रीले चोभारको डाँडो काटेझैँ, ओली बाले हिन्द सम्बत् पचहत्तर सालमा समुद्रको पानी झापासम्म ल्याएका थिए ।
नेपाली झण्डा “फरररररररर” पार्दै ठुलो पानीजहाज छुट्यो । जल–यातायात कार्यालय, चन्द्रगढ़ीले जानकारी गरायो– “अवैध रुपमा लुकीछिपी बसोबास गरेका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिकलाई फिर्ता पठाइयो ।”
तिर्खा लाग्यो, सार्वजनिक धारामा गएँ । तीनवटा टुटी रहेछन्– पानी, दूध र रक्सीका । ३ गिलाँस रक्सी तन्काएँ । आराम भयो ।
हिँड्न आँटेको थिएँ, पछाडिपट्टि ढाडमा एकजना बूढो मान्छे बोकेका अपरिचितले भने– “बाबू ! यी ३ टा बोतलमा दूध भरिदिनुस् न ! बद्रिकेदार हुँदै अमरनाथधाम सम्म तीर्थ जाँदैछु, बाटोमा पिउन हुन्छ । मिलेसम्म उतै कुटिया खोजेर बस्ने विचार छ ! अब नेपालमा बस्न सक्ने स्थिति रहेन ।”
कतै देखे देखे जस्तो, चिने चिने जस्तो लाग्यो तर ठम्याउन सकिन ! सहसा मैले सोधेँ– “शुभ नाम के परो ?”
उनले भने– “म कमल थापा, मैले बोकेको चाहिँ श्री ५ ज्ञानेन्द्र ।”
शुभ यात्रा भन्दै म छुट्टिएँ ।
त्यसपछि, झापाबाट केवलकारमा ३० मिनेटको यात्रामा ताप्लेजुङ पुगियो । पाथिभरा माताको दर्शन गरियो ! अपि, कञ्चनजंघा, अन्नपूर्ण, धौलागिरी, हिमाली, राजमार्ग ! ८ लेनको नागबेली बाटो, सार्वजनिक गाडीमा म रारातालतिर लागेँ । मेरो सिटको छेउमा बसेका जुँगावालाले आफ्नो परिचय दिए– “मने ! म प्रचण्ड । दस हजार मेगावाटको कर्णाली हाइड्रोपावर उद्घाटन गर्ने ओलीजीको हुकुम छ, सो त्यतै हिँडेको ।”
अर्काेपट्टि हातमा फुटेको घैँटो लिएका एक युवा र दुईचार जना बुढाहरू झोक्राउँदै थिए । मैले सोधेपछि युवाले परिचय दिए– “म गगन थापा । यिनी रामचन्द्र, उनी शेरबहादुर, त्यो चश्मे चाहिँ रामशरण महत । काठमाडौंमा चुनावमा उठेको, नराम्ररी हारियो, सबैको धरौटीसमेत जफत भो । विरक्त लागेर मानसरोवर दर्शन गर्न हिँडेको हामी त ।”
अलिपर पुगेपछि ठुलाठुला पाइप लाइन देखिए । गाडी रोकियो, ४ जना निख्खर काला मधेशीहरू चढे । मैले भनेँ– “रामराम भैया, का हाल बा ?”
उनीहरूले हात जोडे– “रामराम हजुर । ओलीजीले देशनिकाला गर्ने भन्नुभो, बल्लबल्ल हाथ जोडेर फकाएपछि पाइपलाइन मर्मत गर्ने काम दिएर यहाँ पहाडमा पठाउनुभो ।
मैले सोधेँ, “यो केको पाइप हो ?”
एउटा बोल्यो– “दैलेखको पेट्रोल चाइना बेच्न लाने पाइप हो हजुर ।”
म बोलेँ– “परिचय पाउँ न !”
सबै पालैपालो बोले– म सीके रावत, म उपेन्द्र यादव, म राजेन्द्र महतो, म महन्थ ठाकुर ।
यत्तिकैमा खलासीले ढोका हान्यो । झल्याँस्स बिउँझेर हेरेँ, सुपरभाइजरले ढोका हानेको रहेछ । डिउटीमै निदाएर सपना देखेको रहेछु । त्यसका बाजेले ५ सय दिराम मुखालिफा (जरिवाना) हानेर गयो ।
Subscribe
Login
0 Comments
Oldest






































